२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा घुमाइएको छ । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ ।

यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मन्दिर घुमाउने परम्परा बसेको काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले  जानकारी दिनुभयो । चन्द्रविनायकलाई पिता अर्थात् भगवान् पशुपतिनाथको दर्शन गराएपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिनुभयो ।

यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ । पशुपतिनाथ अमालकोट कचहरीकाद्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।

मार्गशीर्ष कृष्ण प्रतिपदामा दुवै रथलाई मन्दिर वरपर घुमाइ गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो । स्नानपछि दुवै खटलाई त्यस दिन बेलुकी नै चारुमती बिहारमा लगेर बिसाइएको थियो । जात्रा करिब ३५० वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल सम्बत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुवात् गराएको स्थानीयको भनाइ छ । श्री चन्द्रविनायक तथा भैरवनाथको रथयात्रा कार्तिक शुक्ल पूर्णिमा अर्थात् शुक्रबारदेखि सुरु भएको हो ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । मार्गशीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि जात्रा सम्पन्न हुन्छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा सफलतापूर्वक समापन भएको खुसियालीमा चाबहिल क्षेत्रमा सिन्दूरजात्रा गर्ने परम्परा रहिआएको जनाइएको छ ।

जात्रा कार्तिक शुक्ल पूर्णिमामा चाबहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा हर्षोल्लासका साथ मनाउने परम्परा भूपालेन्द्र मल्लका पालादेखि नै रहिआएको जनाइएको छ । रासस