४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
अ+ अ-

काठमाडौँ । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शीखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा । यहाँ धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन्, मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरुको पनि त्यतिकै घुइँचो लाग्ने गरेको छ । आस्था र विश्वासको महत्वपूर्ण धरोहरका रुपमा रहेको यो तीर्थस्थलमा एक पटक पुग्नै पर्ने मनोकांक्षा प्रत्येक हिन्दू धर्मावलम्बीको हुन्छ । हिन्दू मात्र होइन, यहाँ बौद्ध र किरात धर्म मान्नेले पनि उत्तिकै आस्थाका साथ पुग्ने गर्दछन् । धार्मिक एवं ऐतिहासिक रुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने यस मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन ।

पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाई पाथीभरा देवी भनिएको हो । आसपासमा हिमाल, बीचमा थुम्को । चुलीसम्म भरिएको पाथीजस्तै डाँडा भएकाले पनि यसलाई पाथीभरा भनिएको हुनुपर्छ । अन्न भरेको पाथी झैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकाले यो देवीको नाम पाथीभरा देवी भनेर श्रद्धा एवं भक्तिपूर्वक पुज्ने गरिन्छ । परापूर्वकालमा गाई÷भेडा चराउने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ति उपासकहरुका लागि विशेष महत्व राख्दछ । यहाँ अझै देवी मन्दिरको भवन बनेको छैन र देवी स्थानको रुपमै यो तीर्थ रहेको छ । पाथीभरा देवी स्थान नजिकै २०७७ सालमा किराँत मन्दिरको पनि निर्माण गरिएको छ । यसको प्राङ्गणमा गुरु फाल्गुनन्दको पूर्णकदको सात फिट अग्लो ढुङ्गाको शालिक राखिएको छ । यसले पाथीभरा क्षेत्र लिम्बु जातिको पनि सामुदायिक आराध्य स्थल बन्न पुगेको छ । ताप्लेजुङका किरात समुदायले पाथीभरा पहाडलाई ‘मुकुम्लुङ’ भनिन्छ । लिम्बू भाषामा ‘मुकुुम’ को अर्थ शक्ति वा बल, ‘लुङ’को अर्थ ढुङ्गा भन्ने जनाउँदछ । त्यसैले लिम्बु जाति पाथीभरालाई शक्ति वा बलको स्रोत रूपमा पुजिन्छ । बौद्धमार्गीले पनि पाथीभरा देवीप्रति आस्था र विश्वास राख्ने गर्दछन् ।

धार्मिक आस्थाका धरोहर पाथीभरा देवी उत्पतिको इतिहास

पाथीभरा देवीको उत्पतिसम्बन्धी थुप्रै किम्बदन्ती तथा जनश्रुति छन् । पौराणिक मान्यताअनुसार पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अप्रत्यासित ढङ्गले हेर्दाहेर्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तब्ध भएका गोठालामध्येका एकले राति सपनामा साक्षात् कालीको रुप देखेछन् । सपनामै देवीले तिमीहरु नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउनेछाँै र तिम्रो मनोकामना पनि पूरा हुनेछ भनिन् । ती गोठाला निन्द्राबाट ब्युझिएर हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी गोठ अन्यत्रै सारे । बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो ।

यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । त्यसैबेलादेखि पाथीभरा माताको पूजाअर्चाना र बलिदान दिने प्रचलन शुरु भएको इतिहास छ । यसलाई श्रद्धालु भक्तजनले पाथीभरा माताको महिमाको रुपमा लिन्छन् । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली गरी पाँचवटा रुप भएकी देवी भएकाले पाथीभारा भगवतीलाई पञ्चकन्या भगवती देवीको रुपमा मान्ने गरिएको छ । पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले सजिलै अनुभव तथा अवलोकन गर्न सक्छन् । पाथीभरामा अवस्थित देवीको नाम ‘पञ्चकन्या कालीका’ हो । भोग बलि दिइने भएकाले यसलाई रक्तकाली पनि भन्ने गरिन्छ । त्यसैले पनि रक्तकालीलाई भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा पनि रहिआएको छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाइ चढाउँछन् । पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनले देवीलाई सिन्दुर, टीका, गाजल, काँगियोजस्त सौन्दर्य प्रशाधनका सामग्री चढाउने गर्दछन् ।

बाह् हजार फिट उचाइमा रहेको पाथीभरा मन्दिरमा प्रत्येक दिन नेपाल र छिमेकी मुलुक भारतका सयौँ हिन्दू धर्मावलम्बीको भीड लाग्ने गर्दछ । आफ्नो मनोकामना पूरा हुने इच्छा र विश्वासका साथ पाथीभरा देवीको दर्शनका लागि आउने श्रद्धालु भक्तजनकोे तल्लो फेदीमा लर्को देखिन्छ । तल्लो फेदीबाट पाँच÷छ घण्टा उकालो हिँडेर पाथीभरा मन्दिर पुग्न सकिन्छ र बास बस्न पुनः फेदीमै ओर्लिनुपर्छ भने कतिपय भक्तजनले दुई÷तीन घण्टा हिडेर माथिल्लो फेदीमा पुग्छन् । तीर्थयात्राीहरु रातिको बास बसेर भोलिपल्ट एकाबिहानै तीन÷चार घण्टा हिडेर मन्दिरमा पुग्ने र माताको पूजाआर्चना गरेर पुनः माथिल्लो फेदी हुँदै तल्लो फेदीमै ओर्लिने गर्छन् ।

पाथीभरा मन्दिर कसरी जाने?

पाथीभराको यो पवित्र स्थल जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९ दशमलव ४ किमी पूर्वोत्तरतर्फ समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ । पाथीभरा देवीको मन्दिर वरपरको तापमान प्रायः शून्यमा झर्ने गर्दछ । तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न र न्यून तापबाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू लिएर जाने गर्दछन् । पाथीभरा मन्दिर पुस÷ माघमा हिउँले सेताम्य हुन्छ भने अन्य समयमा पनि मौसम चिसो नै हुने गर्दछ । त्यसैले पाथीभरा यात्राको लागि सबैभन्दा उपयुक्त समय भनेको भदौदेखि काब्किसम्म र फागुनदेखि जेठसम्म हो । यो समयमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । यो समयमा ऋतु परिवर्तन हुने भएकाले अत्याधिक चिसो नहुने, मौसम उचित हुने र वातावरण पनि सुन्दर हुने भएकाले यो समय पर्यटकको रोजाइमा पर्ने गर्दछ ।

झापाको बिर्तामोडबाट इलाम–फिदिम–हुँदै २७० किलोमिटर फुङ्गलिङ मेची राजमार्गमा यात्रा गरी फुङ्गलिङबाट सुकेटार–तल्लो फेदी–उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । अन्य मार्गमा धरानबाट धनकुटा–हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ । फुङ्लिङ बजारबाट एक दिन पैदल हिँडेर पुग्न सकिने यो मन्दिरमा वर्षभरि भक्तजनको घुइँचो लाग्ने गर्दछ । यसैगरी काठमाडौंदेखि सुकेटारसम्म हवाईजहाज अथवा ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म बसमा जान पनि सकिन्छ । ताप्लेजुङको फुङलिङ बजारबाट सुकेटार हुँदै पाथीभाराको तल्लो फेदीसम्म सवारी साधन जान्छ । अनि शुरु हुन्छ पैदल यात्रा । सिधै ठाडो उकालो भएकाले केही असज भए पनि मन्दिर पुगेपछि स्वर्गीय आनन्द प्राप्त भएको अनुभूति मिल्छ । पाथीभरा क्षेत्रको तल्लो र माथिल्लो फेदीमा तीर्थयात्रीको सेवाका लागि प्रशस्त होटल पसल खोलिएका छन् । बाटो सहज भएकाले देउराली, सुकेटार, फुङलिङमै पनि फर्किएर बस्न सकिन्छ ।

नजिकै हिमाल तर पानीको समस्या

पाथिभराको थुम्कोबाट हिमशृङ्खलाको दृश्य अत्यन्त मनमोहक देखिन्छ । यस्तो लग्छ, मानौं हातले नै हिमाल छुन सकिन्छ । मनोरम दृश्य समेत अवलोकन गर्न पाइने यो मन्दिर परिसरबाट विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा (८,५८६ मिटर) हिमाल आँखै अगाडि देखिन्छ । साथै यहाँबाट आठ हजार चार सय ६३ मिटर उचाइ भएको मकालु, सात हजार सात सय १० मिटर र आठ हजार पाँच सय १६ मिटर अग्लो लोत्सेका साथै कुम्भकर्ण हिमाल देखिन्छ ।

यसैगरी यहाँबाट सात हजार नौ सय तीन मिटर अग्लो काङबाचेन, सात हजार आठ सय ५५ मिटर अग्लो नोत्से, सात हजार चार सय ४२ मिटर अग्लो डोम हिमाल आँखै अगाडि देख्न सकिन्छ । साँच्चै भन्नुपर्दा यी हिमश्रृङ्खलाहरूको अलौकिक दृश्यले सम्मोहित भई जो सुकैलाई पनि स्वर्गीय आनन्दको अनुभूति हुन्छ ।

पाथीभरा मन्दिरमा सबैभन्दा ठूलो समस्या भनेको पानी हो । मन्दिर परिसरमा पानीको स्रोत नहुँदा भक्तजन तथा मन्दिरका पूजारीलगायत सुरक्षाकर्मीलाई समस्या छ । मन्दिर परिसरबाट तीन किमी तल रहेको काफ्लेपाटीबाट पानी ल्याउनुपर्ने बाध्यता छ । पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी भएकाले यहाँ गर्भवति, रजस्वला (नछुने वा पर सरेकी)भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको ठूलो क्षति हुने जनधारणा रहिआएको छ ।

धर्म र आस्थाको यस संगम स्थलमा पाथीभारा मन्दिरमा दर्शन गर्ने आउने श्रद्धालु भक्तजनको हातमा प्रसाद स्वरुप नरिवल, लड्डू र पूmलमालासँगै देवीलाई ओढाउने चुन्दरी लिएर दर्शनका लागि लामवद्ध भएर उभिएको दृश्यले त्यहाँ पुग्ने जो कोहीमा पनि धार्मिक आस्था बढेर आउँछ । पाथीभरामा भगवतीको पूजा गरेर चण्डीपाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको छ । धार्मिकरुपले मात्रै नभइ पाथीभरा प्राकृतिक विविधताको क्षेत्र भएकाले यस क्षेत्रको महत्व झन् बढ्दै गएको छ । विभिन्न प्रजातिका बोटविरुवा, जडीबुटी र दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाथीभरा क्षेत्रमा पाइन्छ । रासस