४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी
अ+ अ-

महोत्तरी । मधेशको प्राचीनकालदेखि सांस्कृतिक तथा लोकपरम्पराका चाडवाडको केन्द्र रहँदै आएको मिथिलाक्षेत्र अहिले सामाचकेवा पर्वको उत्कर्षमा छ । कात्तिक शुक्लपञ्चमी अर्थात् छठ पर्वको दोस्रो दिन शुरु भएर कात्तिक पूर्णिमाका दिन समापन गरिने यो पर्व अब समापनको सङ्घारमा छ । पर्व समापनको दिन नजिकिदै गर्दा मिथिलानी (मिथिलाका नारी) अहिले आफ्ना दाजुभाइ सम्झदैछन् । दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको यो पर्व यसपालि आउने शुक्रबार पूर्णिमा तिथिका दिन समापन गरिने तयारी छ ।

मिथिलानीले दाजुभाइको सौर्य वृद्घिको कामनासहित यो पर्व मनाउने परम्परा छ । मैथिल जनजिब्रोले ‘सामा’ भनिने यो पर्व ११ दिनसम्म मनाइन्छ । अब समापनको दिन अर्थात कात्तिक पूर्णिमा नजिकिदै गर्दा मिथिलानी आफ्ना दाजुभाइलाई पर्वको निम्ता दिन व्यस्त छन् । पर्व शुरु गर्न दाजुभाइ नचाहिए पनि यसको समापनमा भने विधि पूरा गर्न दाजुभाइ चाहिने हुँदा मिथिलानीहरुमा दाजुभाइको खोजी र सोधपुछ सुरु भएको हो । पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्टान्न परिकार ख्वाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन् ।

पूर्णिमा नजिकिँदै गर्दा दाजुभाइ को कहाँ छन् रु सबै दिदीबहिनीको चासो यसैमा केन्द्रित छ । रोजगारीका लागि घर छाडेर बाहिर गएका दाजुभाइलाई पूर्णिमा नजिकियो भन्दै दिदीबहिनी जनाउ दिन्छन् । कामका क्रममा भारतसम्म गएका त अनुकूल मिलाएर आउँछन् पनि । तर यसबाहेकका अन्य मुलुक गएका दाजुभाइसँग त फोनबाट पर्वको शुभकामना दिएर नै चित्त बुझाउनु पर्ने दिदीबहिनी बताउँछन् । “भाइ कतारमा छ, दुई÷तीन पटक फोन गरिसकेँ, उ यसपालि आउन पाउन्न रे” महोत्तरीको भङ्गाहा–३ की श्यामा चौधरी भन्नुहुन्छ, “उ आउँदा मलाई राम्रा लुगा कोसेली ल्याइदिन्छ रे ।”

श्यामाजस्तै अन्य दिदीबहिनी पनि अहिले काममा बाहिर गएका दाजुभाइलाई फोन र अन्य माध्यमले सम्पर्क गरेर पर्वको शुभकामना दिदैछन् । यो पर्व विवाहित चेलीले दाजुभाइलाई आफ्नै घरमा बोलाएर सम्पन्न गर्छन् भने अविवाहित चेली र दाजुभाइको घर एकै हुँदा सँगसाथमै यो पर्व सम्पन्न हुन्छ । “मेरो भाइ त नजिकै भारतमै छ, फोन गर्दा आउँछु भनेको छ” श्यामाकै छिमेककी सविता मण्डल भन्नुहुन्छ, “म उसका लागि मीठामीठा परिकार तयार गरेर राख्नेछु ।” भाइ भारतको सुरत शहरमा काम गर्न गएको भए पनि डाकेपछि उसले आउँछु भनेपछि मण्डल अहिले फुरुङ्ग हुनुहुन्छ ।

सामा दाजुभाइप्रति प्रेम र समर्पण दर्साउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने रमाइलो खेल पनि हो । सामान्य बोलीचालीमा मिथिलानी एकआपसमा ‘सामा खेल्न जाउँ’ भन्दै सल्लाह मिलाउँछन् । टोलबस्तीका मन मिल्ने साथी जम्मा भएर खेलिने सामा मिथिलानीहरुका लागि हाँसखेल र आपसी ठट्टा गर्न पाउने अवसर पनि हो । “अरुबेला घरको कामकाजले फुर्सद हुँदैन, सामाका बेला जम्मा भएर खेलसँगै दुःखसुखका कुरा र हाँसख्याल गरेर हलुको हुइन्छ” बर्दिबास–१२ की गीतादेवी महतो भन्नुहुन्छ,“यो पर्वले आफ्ना दाजुभाइको सम्झना गर्न, उनीहरुको उन्नतिको कामना गर्न, उनीहरुको बहादुरीको चर्चा गर्दै गौरवबोध गर्न र प्रेमपूर्ण सम्बन्ध विकासका लागि सुमधुर सम्बन्ध बढाउन खास अवसर दिएको छ ।”

आफ्ना वरिपरिको परिवेशमा दाजुभाइले गरेका सकारात्मक सामाजिक कामको गीतमार्फत बढाइचढाइ गर्न मिथिलानी यसबेला चुक्दैनन् । “सामा खेलका ११ दिन यति रमाइला हुन्छन् कि यी दिन चाँडै सकिएजस्तो हुन्छ” महतो भन्नुहुन्छ ।सामा दिदीबहिनीका लागि घरमा भाउजु र भाइबुहारीको टोकसो व्यक्त गर्ने अवसर पनि हुन्छ । घरपरिवारमा मनमा बिझेका कति कुरा दिदीबहिनी सामाकै गीतमार्फत् व्यक्त गर्छन् ।

‘सामा हम बनैलियै यो भैया, भउजी कैलखिन स्वर,
भउजीके वचन सुनियौ यौ भैया, हमरा परल बड्का तोड !’

(अर्थात मैले सामा बनाए दाजु तर भाउजुले यसैबीच कराउनुभयो । मलाई भाउजुले लगाउनु भएका वचन सुन्नोस् तपाइँले, त्यसले मेरो मन बिझेको छ) घरका अमाजु/बुहारी र नन्द/भाउजुबीचका ठ्याकठुक पनि सामा गीतका भाका बनेर राति गुञ्जन्छन् । यस्ता गीतले घरघरमा अमाजु/बुहारी र नन्द/भाउजुबीचका तीतो सम्बन्ध पनि उजागर हुने गर्छ ।

‘गामके प्रधान हमर भैया, पोखरी खुदाब हे,
चम्पा पूmल रोप हे’

(अर्थात गाउँको मुख्य मान्छे भन्ने नै मेरा दाजु हुन्, जसले गाउँमा पोखरी खनेर त्यसको डिलमा चम्पा पूmल रोपेका छन्) पोखरी खनेर जगतको आवश्यकता पूर्ति गर्न र त्यसको डिलमा रोपिएको चम्पाको सुवासले गाउँ नै सुवासित बनाउने मेरा दाजु हुन् भन्ने भावको यो गीत सुन्दा यसअघि कुनैबेला दिदीबहिनीसँग ठ्याकठुक परेको रहेछ भने पनि दाजुभाइले पुरानो कुरा भुल्छन् । दिदीबहिनीको प्रेमले मख्ख पर्छन् ।

“कात्तिक मासे यौ भैया सामा लेलक अवतार,
सयौं बरख जियौ यौ भैया सामा लेलक अवतार’

(अर्थात हे दाजुभाइ हो, कात्तिक महिनामा सामा ९खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएकी छन् । तिमी सयौं वर्ष बाँच्छौ, सामा (बहिनीको भाव)ले फेरि अवतार लिइसकेकी छन्० दाजुभाइको दीर्घायुको कामनासँगै मिथिलानी उनीहरुको परोपकारी पक्षको भाव पनि सामा गीतबाटै व्यक्त गर्छन् । यस्ता गीत चकमन्न रातमा निकै परसम्म गुञ्जन्छन् । यो सुन्दा घरमा आफ्ना दिदीबहिनी नहुनेहरु थकथकिन्छन् । यसबाट घरमा छोराछोरीबीच हुने विभेद कम गर्न र छोरीको चाहना राख्न बल पुग्ने भङ्गाहा–४ का सामाजिक कार्यकर्ता गङ्गाराम महतो बताउनुहुन्छ ।

“चलु बहिना सामा खेल भैयाके आँगन हे।।जुग जुग जियथिन भैया अपन हे…!’

(अर्थात हिँड दिदीबहिनी हो, सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्सा)मा खेल्न दाजुको आँगनमा जाउँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन्० मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामाचकेवा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि यो पर्वबीच ‘छोरी’ को रहर जगाउँछ । आफ्ना दाजुभाइ र दिदीबहिनी नहुनेले नजिकका नाताभित्र जोडेर यो पर्व मनाउँछन् ।पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला (कुरा लगाउने, कुरा काट्ने महाभारतकालीन ‘चूडक’ नाउँको एक पात्र), सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्ीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति घुँडामा राखेर फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न परिकार खान दिन्छन् । यसैगरी दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणावापत दिने गरेका छन् ।

दाजुभाइ–दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट शुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर ९चकेवा० सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे ९चुगला०ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृतिकी भई भन्ने रीसमा दुबै ९सामा र चकेवा० लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्गमा यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ । श्रीकृष्णको नारायणी सेनामा आबद्ध चूडक आफैँ सामासँग विवाहका लागि उत्सुक रहेको हुँदा उसले चक्रधरसँगको प्रेम चुडाउन श्रीकृष्णलाई कुरा लाएको कथामा वर्णित छ ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको मिथिला संस्कृति परम्पराका जानकार बताउँछन् । यो पर्वले दाजुभाइ दिदीबहिनीबीच सुमधुर र प्रेमपूर्ण सम्बन्धको अपिल गर्ने गरेको जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा कृष्णचन्द्र झाको धारणा छ ।

मिथिलामा साउन पूर्णिमाको राखी, कात्तिक शुक्ल द्वितीयाको भैयादूज र कात्तिक शुक्ल पक्षको पञ्चमीदेखि पूर्णिमासम्म खेलिने सामा दाजुभाइ र दिदीबहिनीबीच प्रेमपूर्ण सद्भाव बाड्ने पर्व हुन् । यीमध्ये राखी र भैयादूजको कथाबस्तु दैत्यराज बलि र उनका बहिनीहरु गङ्गा जमुनासम्बन्धित छन् । सामा भने श्रीकृष्ण पुत्र साम्ब र पुत्री सामाबीचको समर्पण र आदर्श दाजुबैनीको कथावस्तुमा आधारित भएको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त तथा मिथिला लोकपरम्पराका ज्ञाता डा। रवीन्द्र दास वैष्णव बताउनुहुन्छ । रासस