उसले भन्यो –
मैले जिन्दगीमा
केही वर्ष
घडी बाँधें
तर समय
मैले चाहेजस्तो बनाउन सकिनँ
न त दौड्न सकेँ
समयसँगै
दिनमा जतिपटक हातको घडी हेरे पनि ।
थप्यो –
घडी बिग्रेपछि
बनाउन गइनँ
ब्याट्रीको चोला सकिएको रहेछ
घडी नै बिग्रेको बहाना बनाएँ
र, थन्क्याएँ त्यसलाई
थोत्रो, खिया लागेको कन्तुरमा ।
घडी थन्क्याए पनि
समयले
ममा कुनै प्रभाव पार्न सकेन
न त मैले सकेँ
समयलाई थन्क्याउन
घडीसँगै त्यही कन्तुरमा ।
ऊ भन्दैगयो –
एकाध पल
एकाध घडीले
मेरो हातको नाडी छामे त्यस यता
सायद तिनले नापे होलान्
मेरो मुटुको चाल
नाडीमा बाँधिँदै गर्दा सायद
पुलुक्क हेरे होलान्
मेरा हत्केलाका
अनिश्चित, भविष्यहीन
हस्तरेखाहरू ।
र,
कहिल्यै फर्काएनन् तिनले आफ्नो सास
दौडेर
खिचापोखरी-प्युखाका
उपचार केन्द्र
जतिपटक घुमाए पनि ।
उसको गन्थन कता पुग्यो थाहा भएन ।
मलाई भने
समयका प्रश्नले लखेटिरहे –
घडी बाँध्दैमा
समय रोकिन्छ र ?
घडी हेर्दैमा
समयले
थाहा पाउँछ र ?
घडीका सुई
आफू एउटै परीधिमा घुमेर
समयलाई कसरी
चुपचाप नेटो कटाउँछन् होला ?
घडीका सुईसँगै फन्फनी घुम्नुपर्ने समय
एकनाश अगाडि मात्रै बढ्छ किन –
एक पल पछाडि नहेरी ?











