काठमाडौं । आज कोजाग्रत पूर्णिमा, साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिइ सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे धार्मिक विश्वास छ ।
माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आरधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ ।










