४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आशामै बित्यो पीडितको एक महिना

आशामै बित्यो पीडितको एक महिना
PEMA LAMA
अ+ अ-

धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका–१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आउनुभएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ती गरेको एक महिना पनि बढी भयो ।

राज्यले बासस्थान बनाइदिने भन्ने कुराले मनमा आशा पालेर बसेका बाढी, पहिरोपीडितको एक महिना त्यतिकै बितेको छ । अहिलेसम्म उचित व्यवस्थापनसमेत नगरेको उहाँको गुनासो छ । पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारसँगै बाढीले बगाएपछि अहिले उहाँहरु छिमेकीको घरमा रात बिताउँदै आउनुभएको छ । “बाढीले ल्याएर थुपारेको ढुङ्गा, दाउरा र काठ पन्छाएर भए पनि अन्न फलाउने खेत त बनाउनै प¥यो”, यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै उहाँले भन्नुभयो, “आफ्नो भएको जग्गा नै यही हो, अरू विकल्प केही छैन ।” खाद्यान्न चाहिँ अलिअलि पाइरहेको र केही दिनअगाडि जस्तापाता बाँडेकाले लिएर राखेको उहाँले सुनाउनुभयो । सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासँगै धमिलिएको मन केही भए पनि सफा हुने उहाँ बताउनुहुन्छ ।

बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहनुभएका माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन बितिरहेको बताउनुभयो । पनौतीमा कोठा लिएर बस्दै आउनुभएका उहाँहरु बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन् । “सधैँ त कोठा लिएर बस्न सकिँदैन”, उहाँले भन्नुभयो, “अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ ।” खेती किसानी गरेर जीविको चलाउँदै आउनुभएका परिवारको आम्दानीका रुपमा रहेको फर्निचरसमेत घरसँगै बाढीले बगाएपछि एक महिनादेखि कष्टकर जीवन बिताइरहेको उहाँले सुनाउनुभयो ।

अर्का स्थानीय बासिन्दा मैना तामाङले घर ढलेको पीरसँगै खल्लो गरी बिताएको दसैँ, तिहार सकिए पनि घरबार र खाने कमाउने कुनै टुङ्गो नभएको सुनाउनुभयो । सोही ठाउँका नवराज गुरुङ गाउँका युवाहरुलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थाल्नुभएको छ । यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकामा विस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न थालेको उहाँले बताउनुभयो ।

दुईतले घर बगाएपछि बिचल्लीमा रहेको शङ्कर तामाङ छिमेकीको घरमा बस्दै आउनुभएको छ । बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात सङ्घसंस्थाले वितरण गरेकाबाट चलाइरहेको उहाँ राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउनुहुन्छ । सोही गाउँका रवीन्द्र नगरकोटीले बाढी, पहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एकपटक पनि सोध्न नआएको गुनासो गर्नुभयो । सबै चीज बगाएपछि बालबालिकाको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चित नहुँदा समस्यामा परेको उहाँको भनाइ छ ।

स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि बिचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताउनुभयो । “विपद्पछि उद्धार र राहतसँगै बाटोघाटो त बन्यो, तर उहाँहरुलाई त्यसले खासै छोएको छैन”, उहाँले भन्नुभयो, “सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाई खाने ठाउँ छैन । राज्यले यहीको भूगोललाई छनोट गरेर एकीकृत रुपमा बस्ने आवासको व्यवस्थापन गर्न आवश्यक छ । बस्ने घर नै नहुँदा बालेको बिजुली, पु¥याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने ?”

पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी यहाँका नागरिकका लागि बगरमा बाढीको र डाँडापाखामा पहिरोको डर भएकाले व्यवस्थित एवं एकीकृत बस्ती विकासतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुहुन्छ । बासस्थानका लागि उचित ठाउँको अभाव भएको कारण तिहारपछि जनप्रतिनिधिको बैठक बसेर आवास व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभयो । यस पटकको बाढीपहिरोबाट यस वडामा पाँचजनाको मृत्यु भएको र तीन सयभन्दा बढी घरमा पूर्ण क्षति भएको छ ।

त्यस्तै, ७० भन्दा बढी गाईभैँसी, पाँच हजारभन्दा बढी कुखुरा र दुई सयभन्दा बढी खसीबोका पुरिएको छ । अझै विवरणहरु सङ्कलन भइरहेको र सडक, विद्युत्, खानेपानीलगायत कामलाई व्यवस्थित गर्दै अगाडि बढिरहेको वडा कार्यालयले जनाएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो आवश्यकता आवास भएकाले त्यसको आवश्यक व्यवस्थापन गर्ने कार्यमा जोड दिइएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा बस्तुभाउ पालेर पुनः जीवनयापनलाई बिस्तारै पुरानै लयमा फर्काउन सकिनेछ ।” उहाँले यस खालको विपद् फेरि पनि सहन नपरोस् भन्नका लागि पनि राज्यले सुरक्षित रुपमा बसोबासको व्यवस्थापन गर्न सङ्घीय सरकारबाट नै सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तत्कालका लागि खाद्यान्नलगायत आवश्यक व्यवस्थापनका लागि विभिन्न सङ्घसंस्थाहरुले वितरण गर्ने नगद सहयोगमा वितरणमा पाँच जनासम्मको परिवार भएकालाई रु १५ हजार र त्यसभन्दा बढी भएको परिवारलाई रु २० हजारका दरले एकरुपता हुने गरेर वितरण गर्ने निर्णय भएको जनाएको छ । बासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था अध्ययनका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

विपद्पछिको एक महिनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतले बाढीपहिरो प्रभावित क्षेत्र पनौती–१२ रोशी बजार क्षेत्र कलाँती भूमिडाँडाको स्थलगत निरीक्षण गरिसक्नुभएको छ । रासस