३ माघ २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहार लक्षित विद्युतीय बजार: छैन चहलपहल, व्यापार फस्टाउने आशामा व्यवसायी



अ+ अ-

काठमाडौं । तिहारको बेलामा विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरु छन् । तर विगतको वर्षहरुमा भन्दा यस वर्ष ग्राहकहरुको माग कम आएको व्यवसायीहरु बताउँछन् । माग कम आएसँगै पसको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीहरुलाई छ । न त माग बढेको छ न त भनेको जस्तो व्यापार ।

पोहोरकै विद्युतीय सामग्रीहरु विक्री नभएकाले यस वर्ष नयाँ सामग्रहीहरु खासै नकिनेको व्यवसायीहरुको भनाइ छ । गत सालकै सामानलाई बेचिसक्ने सोचमा व्यापारीहरु छन् । तिहारमा विशेषत: विक्री हुने भनेको झिलिमिली बत्ती नै हो । तर युवाहरु विदेश जाने र नेपालमा रमाइलो गर्ने जनशक्ति कम भएकाले व्यापार व्यवसाय हुन नसकेको अनुमान व्यवसायीहरुको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताउनु भयो ।

उहाँकाअनुसार विगतका वर्षहरुमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन । कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामानहरु आइसकेको भएपनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् । तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाएपनि काठमाडौं केन्द्रित बजार हुने निश्चित भएको उहाँको भनाइ छ । महासंघले यस वर्षको तिहारमा ३० करोड सम्मको सामान विक्री गर्ने अनुमान छ । तर विगतका वर्षहरुमा ५०/६० करोडको बजार तिहारमा हुने गरेको बताउनु भयो ।

‘यथार्थमा भन्ने हो भने बजारको अवस्था कमजोर भएको कारणले विगतका साल जस्तो धेरै विद्युतीय सामग्री ल्याएका छैनौँ । कलकताबाट वीरगञ्ज हुँदै आउने सामानहरु लगभग आइसकेको अवस्था हो । केरुङ र तातोपानी नाकाबाट आउने सामानहरु बाटो बिग्रिएको कारणले गर्दा आउन सकिरहेको छैन ।’ उहाँ भन्नुहुन्छ, ‘त्यसकारणले यथार्थ डाटा आइसकेको छैन । हाम्रो अनुमानमा २५/३० करोडको सामान आउँछ की भन्ने छ । नेपालको बजार विगतमा धेरै राम्रो थियो । ५०/६० करोडको मार्केट हो ।’

अध्यक्ष देवकोटाले पोहोर सालकै विद्युतीय सामानहरु विक्री नभएकाले यस वर्ष नयाँ सामान ल्याउँदा फसिन्छ की भन्ने त्रास व्यवसायीहरुको रहेको बताउनु भयो । कन्स्ट्रक्शनका कारण राम्रो व्यापार हुने भएपनि अहिले युवा जनशक्ति बाहिर हुँदा कन्स्ट्रक्शनको काम नेपालमा कम हुँदै गएको उहाँले बताएनु भयो । उहाँले कोभिडपछि नेपालको बजार संकुचनमा रहेको बताउनु भयो । व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना बनाएर अघि बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले व्यवसायीहरु ल्याएर फसिन्छ की भन्ने विगतको अनुभवले गर्दा त्यति उत्साहति छैनन् । विगतमा कन्स्ट्रक्शन राम्रो थियो, युवा जनशक्ति थिए, अहिले युवा जनशक्ति छैन, कोभिडपछि यहाँको बजार संकुचनमा छ, रिकभर भइसकेको छैन । तातोपानी नाका केही दिनमा खुल्ने भन्नेछ । त्यो भनेको अन्तिम समयमा आउँदा काठमाडौं केन्द्रित मार्केट हुन्छ, त्यो भनेको व्यापार व्यवसाय खुम्चिने अवस्था छ । सबै व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना राख्नुभएको छ ।’

नेपाली बजारमा आउने विद्युतीय सामग्री सबैभन्दा धेरै चीन र भारतबाट आउने गर्दछन् । त्यसमाथि पनि चीनबाट धेरै आउँछन् । तेस्रो मुलुकबाट केही सामग्रीहरु मात्रै नेपाल आउने गरेको अध्यक्ष देवकोटा बताउनु हुन्छ । तिहारको बेलामा माला बत्तीहरु ल्याइने गरेको तर तिहारमा भन्दा विद्युतीय सामग्रीको व्यापार गर्नेहरुलाई दशैँअघि धेरै व्यापार हुने बताउनु भयो । अहिले युवा जनशक्ति कम हुँदा त्यो व्यापार हराउँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चीन र भारतबाट सामानहरु धेरै ल्याउँछौँ । बाँकी केही सामग्रीहरु तेस्रो मुलुकबाट ल्याइन्छ । हामी चीन र भातरसँग निर्भर छौँ । तिहारको बेलामा माला बत्तीहरु ल्याइन्छ । हाम्रो अनुभवले के भन्छ भने तिहारमा जनरल पब्लिक भीडभाड हुन्छ, मालाबत्ती किन्नुहुन्छ । रमाइलो हुन्छ । तर हाम्रो खास क्वालिटीको हिसावको व्यापार भनेको दशैँमा हो । दशैँको बेलामा एउटा कस्टुमरले ४०/५० हजारको सामान लिएर जाने गर्नुहुन्थ्यो ।’

सुन्धाराका विद्युतीय सामग्रीहरुको व्यापार गर्दै आउनुभएका सुशील प्रधानाङ्गले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गर्नुभयो । नेपालीहरु अन्तिममा आएर किन्ने बानी भएकाले पनि अझै व्यापार हुने आश रहेको बताउनु भयो । सहकारीमा जम्मा पारेको रकम सहकारी ठगहरुले खाइदिएकाले पनि आम नागरिकसँग पैसा नहुँदा क्रय गर्ने सामथ्र्य नरहेको हुनसक्ने अनुमान उहाँको छ । पैसाको अभावका कारण नै बजारमा चहलपहल कम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘व्यापार खासै अहिलेसम्म देखिएको छैन । हामी नेपालीहरु अन्तिम अन्तिममा तात्ने चलन छ तर अहिलेसम्म खासै देखिएको छैन । कारोबार धेरै नै गर्ने लक्ष्य हो तर छैन । मलाई जहाँसम्म लाग्छ, सहकारीले पैसा जुन अपचलन गरेको छ नि, त्यसको असर हामी नेपाली जनतामा परेको जस्तो मलाई लाग्छ । किनभने जे जति पैसा थियो, त्यो जम्मा गरिएको ठाउँ त्यही नै हो । मुख्य कारण पैसाको अभाव नै हो । पोहोर साल ठिकै व्यापार थियो । अहिले सर्वाइभ हुने स्थिति नै देखिएको छैन । सामान त जसरी पनि आउँथ्यो होला तर डिमाण्ड नै छैन ।’बजारमा विद्युतीय सामग्रीको माग नै नरहेको उहाँको भनाइ छ ।

सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आउनुभएकी संगीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउनु हुन्छ । तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने आशा रहेको उहाँको भनाइ छ । प्रविधिको समय भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने सामग्रीहरुको डिमाण्ड आउने भएपनि युवा जनशक्तिहरु बाहिर रहेकाले खासै माग नरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा खल्लो महशुस हुने गरेको बताउनु भयो । साथै व्यापार व्यवसाय पनि राम्रो हुन नसकेको उहाँको गुनासो छ ।
उहाँले भन्नुभयो, ‘व्यापार अहिले त्यति छैन, अब एक दुई दिनमा होला । व्यापार भनेर त्यत्ति पहिला जस्तो अब तिहार आयो भनेर लगातार मान्छे आउने छैन । तिहारको सामानहरु यहाँ भन्दा बाहिर जिल्लाबाट अर्डर आइरहेको छ । त्यो अलिअलि पठाइरहेका छौँ । अहिले टेक्नोलोजीको जमाना भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने खोज्छन् । त्यो सामानहरु प्रोभाइड त हुँदैन । सकेसम्म प्रोभाइड गरेर ग्राहकहरुलाई खुशी बनाउने प्रयासमा छौँ । यो मन्दीका कारण होला पहिला भन्दा अलि कम जस्तो लाग्छ ।’

नेपालमा अहिले वृद्धवृद्धा र बालबालिकाहरु मात्रै रहेको उहाँको ठम्याइ छ । नयाँ इनोभेसन चाहिने युवाहरु बाहिरिँदा देशमा व्यापार व्यवसाय पनि खस्किएको बताउनु हुन्छ । वार्म लाइटको माग यस वर्ष बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा बस्ने मान्छे नै धेरै छैनन् । प्राय:जस्तो बाहिर नै जान्छन् । राम्रो लगाउने, झिलिमिली गर्ने भन्ने मान्छे जति सबै विदेशिए । बुढाबुढी मात्रै छन् । नयाँ इनोभेसनको कुरा युवाहरुलाई चाहिन्छ, युवाहरु देशमै छैनन् । वार्म लाइटको यस वर्ष बढी डिमाण्ड छ ।’

व्यवसायी दुर्गा सापकोटा विगतको तुलनामा व्यापार कम रहेको बताउनु हुन्छ । प्राकृतिक प्रकोप, पैसाको कमीका कारण पनि ग्राहकहरु नआएको हनुसक्ने उहाँको अनुमान छ । उहाँ भन्नुहुन्छ, ‘दीपावलीको लागि व्यापार कम नै छ । हुनत समय आउन अझै बाँकी नै छ । भनेको जस्तो व्यापार भएको छैन । प्राकृतिक प्रकोप, पैसाको कमी पनि छ । त्यसैले पनि ग्राहक कम आउनुभएको छ ।’

व्यवसायी बाबुराम घिमिरेले असोजको तुलनामा कार्तिक लागेपछि विद्युतीय सामग्रीहरुको व्यापार बढेको बताउनु भयो । बजारमा विगतको तुलनामा खासै चहलपहल भने नरहेको उहाँको भनाइ छ । विद्युतीय सामग्रीहरुको बजार मूल्य भने विगतको सरह नै रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कार्तिक लागेपछि व्यापार केही न केही सुध्रिएको छ । चहलपहल त खासै छैन । पोहोर सालको भन्दा यस वर्ष पाउने रेट सस्तो छ ।’

अर्का व्यवसायी अमित केडिया भने पहिलाको तुलनामा व्यापार धेरै नै कम रहेको बताउनु हुन्छ । पहिलाको भन्दा ६०/७० प्रतिशतले व्यापार कम रहेको बताउनु भयो । देशको आर्थिक् अवस्था पनि व्यवसाय नफस्टाउनुको एउटा कारण हनुसक्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले विगतका वर्षहरुमा भ्याइनभ्याइ हुने व्यवसायीहरु अहिले खालि रहेको बताउनु भयो । उहाँले सरकारले विद्युतीय सामग्रीहरुको व्यापार गर्नेहरुमाथि ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलाको तुलनामा अहिले व्यापार छैन । व्यापार एकदमै छैन । देशको आर्थिक अवस्थाले हो की के हो । पहिलाको भन्दा ६०/७० प्रतिशतले घटेको छ । तिहारको समयमा पनि हामी खालि छौँ । विगतका वर्षहरुमा भ्याइनभ्याइ हुन्थ्यो । सरकारले पनि यो विषयमा कुनै ध्यानाकर्षण गरेको छैन ।’

व्यवसायी राज नेपालले व्यवासायीहरुलाई तिहारको समयमा पनि व्यापार नहुँदा चिन्ता लागेको बताउनु भयो । उहाँले तुलनात्मक रुपमा यस वर्ष व्यापार कम रहेको बताउनु भयो । उपभोक्ताहरु र व्यवसायीहरुमा पनि उत्साह नपाएको बताउनु भयो । सरकारले व्यवसायीहरुलाई बचाउने काम गर्नुपर्ने उहाँको माग छ ।
उहाँले भन्नुभयो, ‘व्यापारीहरुलाई व्यापार नभएर चिन्ता छ । तुलनात्मक रुपमा यस वर्ष व्यवसायिक रुपमा र अरु हिसावले पनि खासै उत्साह छैन । यतिबेला राम्रै चाप हुनुपर्ने बेला हो । तर अघिल्ला वर्षहरुको जस्तो ठूलो चाप छैन । व्यवसायीहरुलाई कसरी हुन्छ सरकारले बचाउने काम गर्नुपर्छ । बजारमा चहलपहल गर्नेकाम गर्नुपर्छ । यस्तै अवस्था भइरहे व्यवसायीहरु धेरै पलायन हुने अवस्था आउँछ ।’

व्यवसायी नेपालले बजारमा चहलपहल हुने काम सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले यस्तै अवस्था भइरहे व्यवसायीहरु केही समयपछि आफैँ पलायन हुने बताउनु भयो । व्यवसायीकाअनुसार यस वर्ष विगतको तुलनामा विद्युतीय सामग्रीहरुको माग धेरै कम छ । ग्राहकहरु पनि बजारमा किनमेलका लागि पुगेका छैनन् । देशको आर्थिक अवस्थाका कारण हुनसक्ने कतिपयको अनुमान छ । अन्तिमसम्ममा व्यापार हुने आशामा रहेको उनीहरु बताउँछन् । —न्यूज एजेन्सी नेपाल

प्रसन्न ढुंगाना/आशिष अधिकारी/मेननराज राजभण्डारी