५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँः वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा(एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गर्नुभएको छ ।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गर्नुभएको हो ।

उहाँले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताउनु भयो । उहाँले विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफुले आग्रह गरेको भएपनि सरकारले नसुनेका कारण पछिल्लो विपद्मा क्षति भोग्नुपरेको बताउनु भयो । उहाँले आफूले अध्ययन गरेर पुनः विपद् आउँदैछ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भएपनि कुरा नसुनिएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले अध्ययन गरेर भनेको छु । मैले त्यसबेला फेरि अर्को जाँदैछ भनेर भनेको मैले अध्ययन गरेँ बारम्बार । मैले नेपालको भौगर्भिक अवस्थाको सम्बन्धमा चुनौती दिन्छु, मैले अध्ययन गरेको छु । संसारको सबभन्दा कान्छो जमिन, कान्छो पहाड यो भन्दा कान्छो कुनै प्राकृतिक संरचना छैन । थोरै मात्रै भूकम्प गयो भने प्रलय हुन्छ । धेरै ठूलो नोक्शान हुन्छ । यो सबै जानेर बुझेर कमसेकम ७६ वर्षको मान्छे, कम्युनिस्ट आन्दोलनमा समय बिताएको छ, स्कुल, कलेज पढ्न पाइएन । पढिएन । तर बाहिर बसेर नपढिकन यत्रो ठुलो देशव्यापी पार्टी निर्माण गर्न सक्थ्यो ? नेकपा(एमाले) आजपनि मैले निर्माण गरेको ७५ प्रतिशत छ । ७५ प्रतिशत ठाउँमा मैले पार्टी निर्माण गरेको हो । मेरै बुद्धि अलि कमजोर भयो त्यसो भएर बाहिर बसियो । मेरो ज्ञान, अनुभवले मैले बोलिरहेको हुन्छु । म सिद्धान्त भन्दा बाहिर बोल्दिन । मैले राष्ट्रिय सभामा अनुरोध गरे किन त्यहाँ ध्यान दिनु भएन ? पछिल्लो पटक भएको नोक्सानी राष्ट्रिय सभामा एकजना सम्बन्धित व्यक्तिले म राष्ट्रिय सभा सदस्यले भनेको विषय सुन्नुपथ्र्यो कि पर्दैन थियो ? यो हुनसक्छ भनेर विचार गर्नुपथ्र्यो कि पर्दैन थियो ? बोलेर भएन । लेखेर दिए । म भन्न चाहन्छु फेरि भन्नु नपरोस्, नेपाल सबभन्दा पहिले अध्ययन गर्नुस् । मन्त्रीज्यु प्रधानमन्त्रीलाई भन्नुस्, तपाईंकै प्रिय कामरेड अहिले प्रधानमन्त्री हुनुहुन्छ तपाईले भनेको सुन्नुहुन्छ । मैले भनेको सुन्नुहुन्न ।’

राष्ट्रिय सभा सदस्य गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरुलाई नै बन्द गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाली समाजवादको एउटा रुप हो सहकारी भनेको सहकारीले हामीलाई समाप्त ग¥यो । जहाँसुकै भ्रष्टाचार । सहकारी भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ । कानुन लागु हुनुपर्छ । क–कसले गरेका छन् कोही पनि बाँकी नराखेर अब समाप्त गर्नुपर्छ । सहकारी लागु नै गर्नुहुन्न अब । त्यो बन्द गरिदिनु पर्छ । सहकारीमा दुरुपयोग भइरहेको छ ।’

उहाँले जमिन राज्यको मातहतमा नआएसम्म विकास हुन नसक्ने भन्दै नेपालको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले क्षतिपूर्ति दिएर जमिन राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो ।