१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’
अ अ+ अ-

गण्डकी । कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उहाँ आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्नुहुन्छ । शर्मा निष्फिक्री यात्रा गर्नुहुन्छ तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उहाँ घुमफिरमै व्यस्त हुनुहुन्छ ।

यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाउनुभएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा सुरु गर्नुभएको छ । चार दिनपछि धवलागिरि हिमालको फेँदमा पुग्ने उहाँको योजना छ । पाँच हजार मिटर उचाइमाथिका फ्रेन्च र धम्पुस भञ्ज्याङ छिचोलेर आधारशिविर पुगिने उहाँले सुनाउनुभयो ।

पदयात्री शिव खड्का र दुई भरियासहित आफूहरु बाटो लागेको शर्माले राससलाई बताउनुभयो । उहाँ बागलुङदेखि, म्याग्दी हुँदै मार्फासम्म भने सडकमार्गबाट पुग्नुभएको थियो । बीचबाटोमा होटल/चियापसल नभएका कारण बस्ने टेन्टसहित खानेकुराको बन्दोबस्त मिलाएर पदयात्रामा निस्केको शर्माले बताउनुभयो ।

सोलुखुम्बुको आइल्याण्ड पिक चढीसक्नुभएका उहाँलाई धवलागिरि आधार शिविर पुग्न त्यति चुनौतीपूर्ण नहुनसक्छ । तर बदलिरहने हिमाली मौसम र त्यस क्षेत्रका भौगोलिक विकटताका कारण कुनैपनि बेला निम्तनसक्ने जोखिमबारे भने उहाँ सतर्क हुनुहुन्छ ।

“अबको एक साताभन्दा बढी समय हामी सम्पर्कबिच्छेदको अवस्थामा हुन्छौँ, हिमाली भेगको यात्रा आफैमा जोखिमपूर्ण तर रोमाञ्चक हुन्छ”, उहाँले सुनाउनुभयो । मार्फापट्टिबाट छोटो दुरी पर्ने भएकाले आफूहरुले पदयात्रा लागि सोही मार्ग रोजेको शर्माले बताउनुभयो ।

धवलागिरि आधारशिविरको पर्यटन प्रवर्द्धनहेतु तस्बिर र भिडियो सामग्री सङ्कलनका उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । शर्मासँग १० वर्षदेखि यसरी देशका कुनाकन्दरा पुगेको अनुभव छ । पूर्वको कञ्चनजङ्गादेखि पश्चिम रारासम्म, मकालुदेखि अन्नपूर्ण क्षेत्रसम्म उहाँ पुग्नुभएको छ ।

घुमफिर भनेपछि हुरुक्कै हुने २९ वर्षीय शर्माले गत वर्ष पोखराको ‘डुलुवा’ समूहसँग मिलेर नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुभएको थियो । ‘वि विल राइज फाउण्डेशन’ र नेपाल टेलिभजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि डुलुवा समूहको ‘दि नर्देन वाल’ले जितेको थियो । उक्त समूहले उपाधिसँगै रु पाँच लाख प्राप्त गरेको थियो । प्रतियोगिताको ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड पनि ‘डुलुवा’कै ‘मेरो गाउँ तक्सेरा’ ले जितेको थियो । जसको पुरस्कार राशि रु एक लाख थियो ।

“दुवै प्रोजेक्टमा म आबद्ध थिएँ, फोटोरभिडियोग्राफीदेखि व्यवस्थापनसम्मको काम हामीले गरेका थियौँ”, शर्माले भन्नुभयो, “उजागर हुन नसकेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि उक्त प्रतियोगिताले धेरै सघायो ।”

‘डुलुवा’ समूहले बनाएको ‘दि नर्देन वाल’ अन्नपूर्ण प्रथम हिमालका पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगले आरोहण गरेको उत्तर आधारशिविरतर्फको प्रवद्र्धनात्मक भिडियो हो । ‘मेरो गाउँ तक्सेरा’ भने पूर्वीरुकुमको जनजाति बाहुल्य गाउँ हो । शर्माले हरेक पर्यटकीय याममा नयाँनयाँ ठाउँका भ्रमण गरी तिसँग सम्बन्धित तस्बिर र भिडियो सामग्री तयार पार्दै आउनुभएको छ ।

“विशेष गरी ट्राभल वृत्तचित्र निर्माणका लागि म घुम्ने गर्छु, कतिपय काम सरकारी निकाय, स्थानीय तह, ट्राभल एजेन्सीहरुसँग पनि मिलेर गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “फेसबुक, टिकटिक, इन्टाग्रामलगायत सामाजिक सञ्जालकामार्फत पनि देशका पर्यटकीयस्थल चिनाउने र बुझाउने गर्दै आएको छ ।” ‘डुलुवा’ समूहसँगको सहकार्यका क्रममा प्राप्त सिकाइ र सफलताले आफूलाई यस क्षेत्रमा थप सिर्जनशील बन्न प्रेरित गरेको शर्माले बताउनुभयो ।

‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरुको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरु मिलेर नेपाल घुम्न सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामाकरण गरिएको थियो ।

उक्त समूह अहिले देशभित्र मात्र नभएर बाहिरी मुलुकमा पनि नेपाललाई चिनाउने अभियानमा सक्रिय छ । ‘डुलुवा’का संयोजक योगेश भट्टराईले गत महिना नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतका १४ राज्यमा पुगेर फर्किएको बताउनुभयो ।

“यसपालि विशेष गरी भारतीय धार्मिक पर्यटकलाई नेपाल भित्राउने लक्ष्यसहित त्यहाँ चार धाममध्ये तीन धामको यात्रा हामीले पूरा गर्‍यौँ”, उहाँले भन्नुभयो, “नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले बर्सेनि हामीले प्रवर्द्धनात्मक कार्यक्रम गदै आएको छौँ ।”

उहाँले आफ्नो समूहले नेपालका ७० जिल्ला घुमिसकेको जानकारी दिनुभयो । डुलुवा समूहमा ११ जनाको कार्यसमिति र २७ जना सदस्य छन् । घुमफिरका लागि ‘पहिले देश अनि विदेश’ भन्ने आदर्श वाक्य बोकेको उक्त समूहले पर्यटन प्रवर्द्धनमा युवाहरुको सक्रियता र सिर्जनाशिलतालाई आत्मसाथ गर्दै आएको छ ।

‘डुलुवा’ जस्तै घुम्दै नेपाल चिनाउने अर्को समूह हो ‘घुमन्ते’ । पर्यटनप्रेमी कञ्चन राईको सोचबाट उब्जेको ‘घुमन्ते’ पर्यटकीयस्थलको खोजी, पहिचान र प्रसारमा सक्रिय छ । युट्युबमार्फत विभिन्न ठाउँका आकर्षक भिडियो पस्कँदै आएको ‘घुमन्ते’ आफैमा यात्रीहरुको सानो समूह भएपनि यसको डिजिटल फैलावट भने धेरै परसम्म पुगेको छ ।

उक्त समूहका व्यवस्थापक तथा जनसम्पर्क प्रमुख मनिष रुचालले नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो ‘डिजिटल’ विषवस्तुमा काम गरिरहेको बताउनुभयो । ‘घुमन्ते’को युट्यब च्यानललाई झण्डै तीन लाख जनाले सब्सक्राइब गरेका छन् भने एउटै भिडियोलाई लाखौँपटक हेरिएको/सुनिएको छ ।

सन् २०१३ मा ‘घुमन्ते’ नाम फेसबुक पेज र वेबसाइटबाट पर्यटकीय क्षेत्रको तस्बिर र भिडियो प्रसार गर्दै आएको यो समूहले पछिल्लोपटक युट्युबलाई आफ्ना सामग्री सम्प्रेषणको मुख्य माध्यम बनाएको छ । सन् २०१६ मा पहिलोपटक युट्युबमा घुमफिरको भिडियो राखिएको व्यवस्थापक रुचालले जानकारी दिनुभयो । ‘घुमन्ते’का निर्देशक र लेखक कञ्चन राई हुनुहुन्छ भने अन्य सदस्यहरु फोटोग्राफी, भिडियोग्राफी, सम्पादन आदिको जिम्मेवारीमा छन् ।

“अहिले पाँचरछ जना मात्र भएर यो समुहलाई अगाडि बढाइरहेका छौँ, हाम्रो पछिल्लो यात्रा पोखरा, लमजुङ हुँदै मनाङसम्मको थियो”, व्यवस्थापक रुचालले भन्नुभयो, “सगरमाथादेखि अछामको रामाराशेनसम्मका ट्राभल डकुमेन्ट्री, भ्लगलगायत सामग्री हामीले निर्माण गरेका छौँ ।”

नेपालको पर्यटनलाई देशदेशावर चिनाउनु नै ‘घुमन्ते’को मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । पर्यटन प्रवर्द्धनका काममा उक्त समूहले ट्राभल्स, एयरलाइन्स कम्पनीलगायतसँग पनि सहकार्य गर्दै आएको छ । अहिलेसम्म बढीमा ४५ दिनसम्मको यात्रा तय गरिएको व्यवस्थापक रुचालले बताउनुभयो ।

“कुनैताका विदेशी पर्यटकले घुमफिरका क्रममा खिचेका तस्बिर र भिडियोले नेपालको पर्यटनबारे बाहिरीजगतले थाहा पाउने अवस्था थियो”, उहाँले भन्नुभयो, “तर अहिले पर्यटन प्रवर्द्धनका लागि अनेक माध्यम र तौरतरिका छन्, हामीले त्यसैलाई अपनाउँदै आएका छौँ ।” रासस