४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता

नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता
अ+ अ-

पुरुष तथा महिलाहरुको क्रिकेटमा आफ्नो बेग्लै पहिचान बनाउन सफल नेपालले नेत्रहीनहरुको क्रिकेटमा पनि सशक्त उपस्थिति जनाउँदै आइरहेको छ ।

आगामी मंसिर ७ गतेदेखि १८ गतेसम्म पाकिस्तानमा आयोजना हुने चौंथो टि ट्वान्टी नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपालले तयारी गरिरहेको छ । पुरुषहरुको उक्त विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुको अन्तिम छनोट यही कात्तिक ४ गते र ५ गते काठमाडौंँमा हुनेभएको छ । छनोट भएका खेलाडीहरुलाई आगामी तिहारपछि बन्द प्रशिक्षणमा राखिने जानकारी नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले दिएका छन् । यसअघि गत असारमा पहिलो चरणको छनोटअन्तर्गत १९ जना खेलाडीहरु छनोट गरिएको थियो । तत्कालीन माओवादी द्वन्दका बेला २०६० सालमा आँखाको ज्योति गुमाउन पुगेका नेपाली सेनाका प्रमुख सेनानी घिमिरेकै सक्रियतामा नेपालमा २०६३ सालमा नेत्रहीनहरुको क्रिकेटको सुरुआत भएको थियो ।

उनले नेत्रहीन क्रिकेट खेलाडी, कप्तान, प्रशिक्षक, अम्पायर तथा नेत्रहीन क्रिकेट सङ्घ नेपालको अध्यक्ष समेत भूमिका निर्वाह गरेर नेत्रहीन क्रिकेटलाई स्थापित गर्न योगदान दिएका छन् । नेत्रहीन क्रिकेटका पाकिस्तानी प्रशिक्षकले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ३३ जना प्रशिक्षण दिएर नेपालमा नेत्रहीनको क्रिकेटको सुरुवात गरेका थिए । अहिले नेपालमा स्थानीयस्तरदेखि अन्तराष्ट्रिय तहसम्मकै प्रशिक्षकहरु कार्यरत रहेका छन् । यो खेल विभिन्न जिल्लामा विस्तार हुने क्रम जारी रहेको छ । विभिन्न जिल्लामा रहेका दृष्ट्रिविहीनहरुलाई प्रोत्साहनका लागि विभिन्न तहको प्रतियोगिता आयोजना गर्ने गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने गरेको पारा तथा विशेष खेलकुदमा नेत्रहीन क्रिकेटलाई पनि प्रतियोगिताको रुपमा समावेश गर्ने गरिएको छ ।

नेत्रहीनहरुको क्रिकेटमा विश्वका विभिन्न ११ देशको सहभागिता रहेकामा नेपालको हालको स्थान छैठौं, सातौं हुनु मुलुकका लागि उपलब्धिमूलक नै मान्नु पर्दछ । यी वाहेक अन्य देशका स्कूल कलेजहरुमा पनि नेत्रहीन क्रिकेट खेल्ने गरिएको छ । तर यसको संस्थागत विकास भने हुन सकेको छैन् । नेपाली नेत्रहीन क्रिकेट टिमले सन् २००८ मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेर आफ्नो अन्तर्राष्ट्रिय सहभागिताको सुरुवात गरेको थियो । त्यतिखेरै नेपाली टिमले पाकिस्तानमा नौ वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले सन् २०१२ मा भारतको बेङ्गलोरमा भएको नेत्रहीनहरुको विश्वकपमा भाग लिएर विश्वकपमा सहभागिता प्रारम्भ गरेको थियो । त्यसबखत नेपालले पहिलोपटक बङ्गलादेशको टिमलाई पराजित गर्न सफल भएको थियो । भारतको केरलामा सन् २०१६ मा भएको एशियाली नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि नेपालले आफ्नो सहभागिता जनाएको थियो । यसअघि सन् २०२१ मा भारतमा आयोजना भएको तेस्रो टि ट्वान्टी विश्वकपमा कोरोनाले आक्रान्त पारेको अवस्थामा पनि नेपालले भाग लिएको थियो । त्यतिखेर भारतले उपाधि जितेको थियो ।

नेपालबाटै महिला क्रिकेट सुरु

यहाँ उल्लेखनीय पक्ष के छ भने धेरै सङ्ख्यामा दृष्ट्रिविहीन महिलाहरुलाई क्रिकेटमा समाहित गर्ने मुलुकमा नेपाल अग्रपङ्तिमा पर्दछ । नेत्रहीन महिलाहरुको क्रिकेटको सुरुआत नेपालले नै गरेको थियो । वेलायतमा समेत नेपाली प्रशिक्षककै सहयोगमा नेत्रहीन महिला क्रिकेट सुरु गरिएको थियो । सन् २००९ मै नेपाली महिला टिमले काठमाडौंमा आयोजित मैत्रीपूर्ण खेलमा बेलायतलाई पराजीत गरेको थियो । त्यतिखेर नेपाल सरकारले महिला टिमलाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो । अब सन् २०२५ मा भारतमा आयोजना हुने नेत्रहीन महिलाहरुको विश्वकपमा नेपालको पनि सहभागिता रहने लक्ष्य राखिएको छ ।

मैदानको अभाव

शारिरीक रुपले सक्षम क्रिकेट खेलाडीहरुको लागि नेपालका विभिन्न स्थानमा क्रिकेट मैदान उपलब्ध भए पनि नेत्रहीन खेलाडीहरुका लागि क्रिकेट मैदानको व्यवस्था हुन सकेको छैन । चाहे अभ्यास गर्दा होस् अथवा कुनै प्रतियोगिता आयोजना गर्नुपर्दा मैदानका लागि नेपाल क्रिकेट सङ्घलगायतलाई गुहार्नु पर्ने अवस्था आउने गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदान नेपाल क्रिकेट सङ्घले प्रयोग गरिरहेको छ । सोही सङ्घले प्रयोग गर्ने गरेको मूलपानी क्रिकेट मैदानका लागि पनि सरकारले लगानी गरेको छ । त्यस्ता मैदान नेत्रहीनहरुलाई पनि सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायले प्राथमिकता दिनु पर्दछ ।

राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा नेपालभर हजारौंं रोपनी जमिन रहेका छन् । कयौं जमिन अतिक्रमणमा परिसकेका छन् । नेत्रहीन क्रिकेट खेलाडीहरुका लागि छुट्टै क्रिकेट मैदानका लागि सरकारले बजेट विनियोजन गर्नु पर्दछ भनेर पटकपटक आवाज उठ्ने गरेको पनि छ । नेत्रहीन क्रिकेट सङ्घ नेपालका पदाधिकारीहरुले नेत्रहीन क्रिकेट र अपाङ्गता खेलकुदका बारेमा बेलाबखत सरकारको ध्यानाकर्षण गर्दै आइरहेका छन् । पछिल्लो पटक युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग सङ्घका पदाधिकारीहरुले छलफल गरेका थिए ।

दृष्टिविहीनहरुले कसरी खेल्छन् ?

दृष्ट्रिविहिन क्रिकेट खेलाडीहरुले आवाजको प्रयोग गरेर क्रिकेट खेल्ने गर्दछन् । नेत्रहीनहरुले क्रिकेट खेल्दा प्रयोग गर्ने हार्ड प्लाष्टिकको बलभित्र रहेका साइकलका बल बेरिङको माध्यमबाट बल बज्ने गर्दछ । त्यही आवाज सुनेको आधारमा आवाजलाई पछ्याउंँदै ब्याटिङ गर्नेले ब्याटिङ गर्दछ भने बलिङ र फिल्डिङ गर्नेले पनि त्यसैलाई पछ्याएर क्रिकेट खेल्ने गरेका छन् ।

सबै नेत्रहीन खेलाडीले देख्छन् कि देख्दैनन् ?

दृष्ट्रिविहीन क्रिकेट खेल्ने सबै खेलाडी पुर्ण दृष्ट्रिविहीन हुँदैनन् । वल्ड ब्लाइण्ड युनियनले मान्यता दिएको वैधानिक दृष्ट्रिविहीनअन्तर्गत क्रिकेटमा तीन प्रकारका खेलाडीहरुले खेल्ने गर्दछन् । जस्तै बी वान जसले पूर्ण रुपमा देख्दैन । बि टु जसले पाँच मिटरसम्म कुनै वस्तु हल्लिएको अनुभव गर्ने तर नदेख्ने तथा ठम्याउन नसक्ने, बि थ्री क्याटगोरीमा २० मिटर दूरीसम्म कुनै वस्तु हल्लिएको तथा चलिरहेको अनुभव गर्दछन् । एक टिममा चार जना बि वान, तीन जना बि टु तथा चार जना बि थ्री क्षमता भएका खेलाडीलाई खेलाउने गरिन्छ । पूर्ण दृष्ट्रिविहिन तथा कम देख्ने क्षमता खेलाडीहरुको समग्रता नेत्रहिन क्रिकेट मानिएको छ ।

सन् १९२२ मा अष्ट्रेलियाबाट नेत्रहीनहरुको क्रिकेटको सुरुवात भएको थियो । तर १०० वर्ष पुगिसकेको अवस्थामा पनि विश्वमा यो खेललाई अझ ब्यापक बनाउन सकिएको छैन ।

नेपाली नेत्रहीन खेलाडीहरुले अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको अवस्थामा महत्वपूर्ण पदकहरु भित्र्याएर मुलुकको छवि अझ उच्च बनाउन नेत्रहीन क्रिकेट पनि महत्वपूर्ण माध्यम बन्न सक्दछ । तर यसका लागि शारिरिक रुपमा सक्षम क्रिकेट खेलाडीहरुलाई नेत्रहीन क्रिकेट खेलाडीहरुलाई पनि यथोचित सुविधा, यस खेलका लागि सरकारको उच्च प्राथमिकता तथा यथोचित लगानी भने अत्यावश्यक भैसकेको महसुस गरिएको छ । (लेखक खलकुद पत्रकारिताका जानकार हुनुहुन्छ । )