३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री



अ+ अ-

देउखुरी (दाङ): वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन्  ।

भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लाग्नुभएको छ  ।  कृषि प्राविधिक पढेर कृषिमा लाग्नु भएका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्नुहुन्छ । कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लाग्नुभएका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गर्नुभएको हो ।

घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडामा लिएर उहाँहरुले फूलखेती गरिरहनुभएको छ । गत वर्ष तिहारमा मात्रै रु १३ लाखको फूल बिक्री गरेको साउदले बताउनुभयो । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर रु पाँच लाख आम्दानी गरेको उहाँले बताउनुभयो । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उहाँहरुको छ ।

उहाँहरुले दुई वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गर्नुभएको थियो । यसपाली कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोप्नुभएको छ । दाङमा रु ८०  हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताउनुभयो ।

“यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौँ”, उहाँले भन्नुभयो, “यसपालि रु दुई लाखको बेर्ना बिक्री भइसक्यो ।  बिरुवाको जात हेरेर प्रतिगोटा रु दुई देखि ५० सम्ममा बिक्री हुने गरेको छ ।”

स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउनुहुन्छ । उहाँले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राख्नुभएको छ । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहँुदा लामो समयसम्म राख्न समस्या भएको उहाँले बताउनुभयो ।

राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उहाँले बताउनुभयो । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्धेश्यले जिल्लाहरुमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ । रासस