३० आश्विन २०८१, बुधबार
,
Latest
बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति पौडेल सुर्खेतमा सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ: उपप्रधानमन्त्री पौडेल कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ : प्रधानमन्त्री सर्वोच्चको न्यायाधीशमा प्रस्तावित निरौलाविरुद्ध दुईवटा उजुरी ,भवन निर्माणमा अनियमिता गरेको आरोप-उजुरीको पूर्णपाठ रसियामा बेपत्ता भएका आफन्तको पीडा: फोनको घण्टि बज्नासाथ झस्कन्छु सरकार लगभग दुई तिहाईको छ भन्ने कुरा सबैमा हेक्का रहोस् : प्रधानमन्त्री ओली प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै: गृहमन्त्री लेखक मुलुकमा समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन: सञ्चारमन्त्री गुरुङ पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँ: एमाले समुद्रमा ६६ दिन बिताउनुपर्दा …
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ: उपप्रधानमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको बिस्तार गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ ।

‘नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्स’ बीच डिजिटल सहकार्यका लागि आज यहाँ आयोजित समारोहमा उहाँले डिजिटल अर्थतन्त्रका कारण रोजगारी सिर्जना भएको, उत्पादकत्व बृद्धि भएको र निर्यातको सम्भावना पनि बढाएको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले बढ्दो डिजिटल विज्ञापन र डिजिटल भुक्तानीबारे चर्चा गर्दै नेपाल सरकार यसलाई अझ प्रोत्साहित गर्ने पक्षमा रहेको जानकारी दिनुभयो । “प्रविधिको बिस्तारले नेपालको अर्थतन्त्रलाई विश्वबजारसँग जोडेको छ । नेपालको आइटी क्षेत्रको निर्यात बढ्दै गएको छ । यस्तै निर्यातको सम्भावनाको नयाँ ढोका खुलेको छ”, उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री पौडेलले नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीचको डिजिटल सहकार्यका लागि साझेदारीले नेपालको डिजिटल मिडिया परिदृष्यमा नयाँ आयाम थप गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले डिजिटल मिडियाको सङ्ख्यात्मक वृद्धिसँगै गुणस्तरीय पत्रकारितामा ध्यान दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो ।

“नेपालको मिडिया उद्योगले पनि डिजिटल प्रविधिलाई अँगालेका छन् । कैयौँ अनलाइन समाचार पोर्टल पाठकमाझ लोकप्रिय भइसकेका छन्”, उहाँले भन्नुभयो, “डिजिटल मिडियाको सङ्ख्यात्मक वृद्धिसँगै गुणस्तर पत्रकारिताका लागि पनि ध्यान दिन आवश्यक छ ।”

सरकारले आमसञ्चारलाई स्वस्थ्य, स्वच्छ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने नीति लिएको उपप्रधानमन्त्री पौडेलको भनाइ थियो । उहाँले त्यसका लागि आमसञ्चार माध्यमको महत्त्व र भूमिका एवं योगदानको अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

दुवै प्रकाशनबीच ‘डिजिटल पेवाल’ मा सहकार्य

नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीच ‘डिजिटल पेवाल’ मा औपचारिक रूपमा आज सहकार्य भएको छ । अब रिपब्लिक मिडियाका ग्राहकले निश्चित शुल्क तिरेर डिजिटल ग्राहकका रूपमा न्युयोर्क टाइम्सका डिजिटल सामग्रीमा पूर्ण पहुँच प्राप्त गर्न सकिने बताइएको छ ।

समारोहमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले यी दुई प्रकाशनबीचको सहकार्यले दुई देशबीचको सम्बन्धलाई पनि थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले यस सहकार्यले विज्ञापनमै निर्भर स्थानीय सञ्चारमाध्यमलाई आम्दानीका नयाँ स्रोत पहिल्याउन सहयोग गर्ने बताउनुभयो ।

उहाँका अनुसार रिपब्लिका र नागरिकका ग्राहकलाई वार्षिक शुल्क रुपैयाँ तीन हजार पाँच सयमा न्युयोर्क टाइम्सका समाचार, खेल, पाककला, श्रव्य, वायरकटर, दि एथलेटिक्सलगायत सामग्री पूर्ण पहुँच हुनेछ ।