२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो



अ+ अ-

काठमाडौँ: जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा रहिआएको छ ।

कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौँ महानगरपालिका–१२ स्थित पचली पीठबाट भैरवको जात्रा गरी मङ्गलबार बेलुका हनुमान ढोका पु-याइएको हो । यसरी कुमारीलाई भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।

विशेष बाजागाजासहित पचलीबाट सुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो । घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराइदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो ।

विभिन्न किसिमका खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्न साथै काठमाडौँ उपत्यकाको सुरक्षाका लागि भैरवलाई टेकुमा स्थापना गरिएको जनविश्वास छ । कला र संस्कृतिले सजिएको काठमाडौँमा नेवार समुदायको सबैभन्दा ठूलो पर्वका रुपमा भैरव जात्रालाई लिइन्छ ।

भैरवलाई पुनः टेकुमा लगिएपछि जात्रा सम्पन्न गरिने काठमाडौँ महानगरपालिका –१२ वडा सदस्य श्यामकृष्ण खड्गीले जानकारी दिनुभयो । रासस