२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम बूढानीलकण्ठबाट चेक अनादर मुद्दामा फरार दोषी पक्राउ नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शम्भुले सिकागो म्याराथनमा दौड्ने



अ+ अ-

काठमाडौं । भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन् । अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् ।

उमेरले ६३ वर्ष पुगिसकेका शम्भुले यसअघि विश्वका प्रतिष्ठित मध्ये लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथन दौडिसकेका छन् । उनले चारै म्याराथन पूरा पनि गरेका छन् । ४ घण्टा ४० मिनेटको समय शम्भुको व्यक्तिगत उत्कृष्ट टाइमिङ हो । उक्त समय उनले बोस्टन म्याराथनमा कायम गरेका थिए । उनले सिकागो म्याराथनमा आफ्नो उत्कृष्ट टाइमिङमा १० मिनेट सुधार गर्दै ४ घण्टा ३० मिनेटमा दौड पूरा गर्ने लक्ष्य राखेका छन् । शम्भु बुधबार अमेरिका प्रस्थान गर्दै छन् ।

उनले कठिन मानिने घरेलु म्याराथन एभरेष्ट म्याराथन र जुम्ला–रारा म्याराथनमा पनि सहभागिता जनाइसकेका छन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमान धावक वैकुण्ठ मानन्धर र टाटा ग्रुपका चेयरम्यान एन चन्द्र शेखरनबाट प्रभावित भएर ५८ वर्षको उमेरमा सन् २०१९ बाट शुम्भले दौड्न सुरु गरेका थिए । सिप्रदी ट्रेडिङ प्रा.लि. का निर्देशक शम्भु सिप्रदीकै पूर्व प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनी विगत ३२ वर्षदेखि सिप्रदीमा आबद्ध छन् ।

उनलाई सफलताको शुभकामना दिदै सोल्टी नेपाल क्लबले शनिबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्‍यो । मार्सल आर्ट्स पृष्ठभूमिका सोल्टी नेपाल क्लबका अध्यक्ष दमन बस्नेत, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धर, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनाल, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे र क्लबका सदस्यले बिदाइ गरे ।

कार्यक्रममा अध्यक्ष बस्नेतले पाको उमेरमा पनि फुल म्याराथनमा सहभागी हुन लागेका शम्भुको साहसको प्रशंसा गर्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।

प्राइमका प्रमुख कार्यकारी अधिकृत मानन्धरले पनि शम्भुको साहसको कदर गर्दै मानिसले चाहेको खण्डमा उमेर बाधक नहुने धारणा व्यक्त गरे ।