२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु



अ+ अ-

पर्वत । बडादशैँ लगायतका चाडपर्व नजिकिँदै गएपछि यहाँका स्थानीय तहहरुले अवरुद्ध सडक मर्मत गर्न थालेका छन् । जिल्लाका सातै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन गरी काम थालेका हुन् ।

यहाँको जलजला गाउँपालिकाले कार्यतालिका बनाएर सबै वडामा अवरुद्ध ग्रामीण सडक मर्मत गर्न थालेको गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । पालिकाले आफ्नै डोजर परिचालन गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो । तीन/चार दिनमा सबै सडक सफा गरिसक्ने उहाँको भनाई छ ।

पैँयु गाउँकार्यपालिकाको बैठकले पनि वर्षायाममा अवरुद्ध सबै सडक मर्मत गरेर सुचारु गर्ने निर्णय गरेको छ । उपभोक्ता समिति र ठेकेदार मार्फत सञ्चालित आयोजनाहरु तत्काल मर्मत गर्न लगाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार घटस्थापना अघिनै सबै सडक सुचारु गर्ने तयारी छ ।

विहादी गाउँपालिकाले अवरुद्ध ग्रामीण सडक खुलाउन सोमबार सूचना जारी गर्दै सडक सरसफाई अघि बढाउन उपभोक्ता समितिहरुलाई आग्रह गरेको छ । उपभोक्ता समिति मार्फत सडक सफाइ गरिने भएकाले मातहतका सबै वडा र टोलहरुमा उपभोक्ता समिति गठन तथा नवीकरण गरी सम्झौता गर्न आउन वडा कार्यालयहरुलाई पत्राचार गरेको हो । दशैँ अघि सडक सञ्चालनमा ल्याइने अध्यक्ष परवीन गुरुङले बताउनुभयो ।

महाशिला गाउँपलिकाले सडक खुलाउन डोजर लगाउन थालेको छ । लुङ्खु–बालाकोट–होश्राङदी, लुंखु–चिसापानी–भोक्सिङ, पाखापानी–भोर्लेलगायतका सडक केही दिनमै सुचारु हुने महाशिला गाउँपालिका अध्यक्ष इश्वरी भुसालले बताउनुभयो ।

मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुश्मा नगरपालिकाले पनि ग्रामीण सडक खुलाउन काम सुरु गरेका छन् । फलेवासले नगरपालिकाकै दुईवटा डोजर परिचालन गरेको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिनुभयो ।

पर्वत यातायात प्रालिका संचालक हेमशर्मा पौडेलले वर्षायाममा अवरुद्ध सडक खुलाउन स्थानीय तहहरुलाई अनुरोध गरिएको बताउनुभयो । अब मनसुन सकिएकाले मर्मत गरेपछि सडकमा सवारी गुडाउन सहज हुने उहाँको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सिताराम ओझाले जिल्लाका मुख्य राजमार्गमा अवरोध नरहेपनि केही ग्रामीण सडकहरुमा यातायात सुचारु गर्न समस्या रहेको बताउनुभयो । उहाँका अनुसार मध्यपहाडी लोकमार्ग, मालढुङ्गा–बेनी, कालीगण्डकी करिडोर र दोबिल्ला–फलेवास, दोबिल्ला–कार्कीनेटा, कुश्मा–दुर्लुङ जस्ता सडकमा सवारी सञ्चालन भइरहेको छ । अन्य शाखा सडकहरु एकपटक डोजर लगाएर सफा गर्न सकेमा दशैँको बेला सवारीका लागि सहज हुने उहाँको भनाई छ । रासस