१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा–नौबिसे खण्डमा थप बस पुरिएको आशंका, खोजी जारी



अ+ अ-

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य सडक नागढुंगा–नौबिसे खण्डमा बाढी र पहिरोमा थप सवारी साधन पुरिएको आशंका गरी खोजी सुरु गरिएको छ ।

झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुई वटा बसका १४ वटा शव भने फेला परिसकेका छन् । अरु पनि सवारी साधन पुरिएको हुनसक्ने आशंकामा आज बिहानैदेखि खोजी जारी छ ।

यता गोरखाको दरौदी यातायातको बससमेत बेपत्ता भएको छ । बिहीबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाण्डौका लागि छुटेको थियो । सोही दिनको राति १० बजे खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क हुन नसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो तर्फबाट हरतबरबाट खोजी कार्य अघि बढाएको छ तर पनि अहिले सम्म केही खबर पाउन नसकिएकोले गर्दा आ आफ्नो तरिका ले सम्पूर्णमा खोजी कार्यमा लागि आग्रहसमेत गरेको छ ।

यसैबीच धादिङको नौबिसे सडकको पहिरोमा पुरिएर मृत्यु भएका १४ जना बुटवलबाट काठमाडौंका लागि छुटेको बसका यात्रु भएको खुलेको छ ।

बुटवलबाट शुक्रबार बिहान छुटेको लु १ ज ४५७८ नम्बरको विंगर बस शुक्रबार राति नै पुरिएको भए पनि शनिबार साँझमात्रै गाडी र यात्रुको शव फेला परेको पश्चिम नेपाल बस व्यवसायी समितिले जनाएको छ । समितिको बुटवलस्थित टिकट काउन्टरका कर्मचारी लक्ष्मण कार्कीका अनुसार गाडीले बुटवलबाट १३ जना यात्रु लिएर शुक्रबार बिहान हिँडेको थियो ।

लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको थियो । गाडी शुक्रबारै राति पहिरोमा पुरिएको थियो । बुटवलबाट १३ यात्रु लिएर हिँडेको उक्त गाडीका यात्रु र चालक गरी १४ जनाको शव फेला परेको नागढुंगा प्रहरीले जनाएको छ ।

गाडीबाट ८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । हालसम्म चालक रमेश लुइँटेल, बुटवल–१६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको छ ।