१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै जितेन्द्र

टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै जितेन्द्र
अ अ+ अ-

बरहथवा । जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दुई महिनाअघि घरमा दुना टपरी बनाउने उद्योग सञ्चालन गरी स्वरोजगार बन्नुभएको हो ।

टायलले छाएको, बाँसको टाटीले बेरेको भुइँ तल्ला घरको एउटा कोठामा दुनाटपरी बनाउने उपकरण जडान गरी उद्योग सञ्चालन गरेको महतोले बताउनुभयो । महतोले दैनिक एक हजार थान टपरी, भोज खान मिल्ने पात र मागअनुसार दुना बनाएर बजार पठाउने गरेको बताउनुभयो ।

“दिनको एक हजार थान टपरी बजारमा पठाउने गरेको छु । अहिले महिनामा रु एक लाख ५० हजारसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । दश किलोमिटर टाढा चुरे क्षेत्रबाट दैनिक पात ल्याउने गरेको भन्दै पात टिप्न तीन परिवारका छ जनालाई अस्थायी रुपमा रोजगारी पनि दिएको उहाँले जानकारी दिनुभयो ।

पात टिप्ने परिवारले प्रतिकिलोको रु ४० लिने गर्नुभएको छ । “गाँसेको पातको प्रतिथान रु दुई दिन्छु । टपरी बनाएर बेच्दा सबै खर्च कटाएर रु एकदेखि रु दुईसम्म नाफा हुन्छ”, महतोले भन्नुभयो । तयारी टपरी प्रतिथान रु पाँच, भोज खाने पात प्रतिथान रु तीन र दुना प्रतिथान रु तीनमा बिक्री हुने उहाँले जानकारी दिनुभयो ।

महतोसँगै गाउँका अन्य क्याम्पस पढ्ने चारजना युवाले पनि अध्ययनसँगै फुर्सदको समयमा उक्त कामलाई निरन्तरता दिँदै आएका छन् । उहाँले भन्नुभयो, “उहाँहरु क्याम्पसबाट आएपछि फुर्सदमा काम गरेर पढाइ खर्च आफैँलै जोहो गर्नुहुन्छ ।” दैनिक दुई÷तीन घण्टा काम गरेर रु ५०० सम्म आम्दानी हुने गरेको स्थानीय मनिषाकुमारी शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “फुर्सदमा आएर काम गर्छु । यसबाट आएको पैसाले आफूलाई कलेज पढ्न चाहिने खर्च, स्टेसनरी, खाजा, भाडा पुगेको छ ।”

उद्योगमा तयार भएका दुनाटपरी जिल्लाको हरिवन, बरहथवा, लालबन्दी, वयलवास, नयाँरोडलगायत बजारसम्म पु¥याउने गरेको उहाँले उल्लेख गर्नुभयो । ग्राहकको मागअनुसार पात तथा तयारी दुनाटपरी दैनिक एकपटक बजारसम्म पुर्याउने गरेको शर्माले बताउनुभयो ।

आर्थिक रुपमा विपन्न परिवारका महतो सानैदेखि मिहिनेती रहेका छरछिमेकी बताउँछन् । खेतबारी कम भएकाले आम्दानीको विकल्पका रुपमा दुनाटपरी बनाउन थालेको बताउँदै महतोले थोरै लगानीबाट पनि बढी मुनाफा लिन सकिने धारण राख्नुभयो ।

“पाँचजना दिदीहरुको विवाह गर्दा लागेको ऋण तिर्न बाँकी छ, बुबाआमा काम गर्न सक्नु हुँदैन । सुरुमा ज्याला मजदुरी, घर बनाउने ठाउँमा इँटा बोक्ने, प्लास्टर गर्नेलगायत काम गरेँ । हातमा सङ्क्रमण भएपछि ती काम छोडेर यसलाई निरन्तरता दिन थालेको हुँ”, उहाँले भन्नुभयो ।

हरिवन–४ का वडाध्यक्ष केशवराज थापाले नगरपालिकाले युवालाई उद्यममा प्रोत्साहन गर्न तालिम आयोजना गर्न लागेको जानकारी दिएपछि आफूसहित पाँचजना मिलेर दुनाटपरी बनाउने तालिममा सहभागी भएका बताउँदै महतोले तालिम सात दिनसम्म सञ्चालन भएको जानकारी दिनुभयो । तालिमपश्चात् वडा कार्यालयले रु दुई लाख ४० हजार अनुदान दिएपछि दुनाटपरी बनाउने उपकरण (मेसिन) खरिद गरी उद्योग दर्ता गरिएको उहाँको भनाइ छ ।

बजारमा प्रतिस्पर्धा बढिरहेको भन्दै महतोले प्लास्टिक र कागजका सामग्रीसँग आफूहरुले पातका सामग्रीले प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गर्नुभयो । यस्ता साना घरेलु उद्योगलाई स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“विभिन्न कार्यक्रम गर्दा उहाँहरुले प्रयोग गर्ने प्लास्टिकका प्लेट, कचौरालगायत सामग्रीको साटो प्राकृतिक पातबाट बनेका दुना टपरी प्रयोग गरिदिन अनुरोध गर्दछौँ”, महतोले भन्नुभयो, “यसबाट वातावरण सफा हुने, युवा स्वरोजगार बन्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धनसमेत हुने भएकाले सहयोगका लागि सबैलाई आग्रह गर्दछौँ ।”

परिवारसँग छुट्टिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्दै स्वदेशमा काम गर्ने वातावरण स्थानीय तहले बनाउनुपर्ने महतोको भनाइ छ । आगामी दिनमा आधुनिक र ठूला उपकरण ल्याएर व्यवस्थित उद्योग सञ्चालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । यस्ता साना उद्योगमा बैङ्क तथा वित्तीय संस्थाले ऋण लगानी नगर्दा समस्या हुने गरेको उहाँको भनाइ छ ।