६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन



अ+ अ-

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गर्नुभएको हो ।

अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । “पाँच वडा रहेको घरपझोङको सबै बस्तीलाई रातको समयमा उज्यालो बनाउन अध्यक्षले पाउने सेवा सुविधाबापतको रकमबाट ‘स्टेप लाइट’ किनेर विद्युत्को पोलमा जडान गरिएको छ”, उहाँले भन्नुुभयो, “वडा नं १ को छैरो, चिमाङ र वडा नं ३ को पुथाङ एयरपोर्टबाहेकका धेरै ठाउँमा सडकबत्ती जडान भएको छ ।”

ठिनी, जोमसोम, एक्केभट्टी, स्याङ र मार्फामा बत्ती जडान गरेर रातको समयमा झिलीमिली बनाइएको छ । सडकबत्तीको महसुल गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ । घरपझोङका बस्ती रातको समयमा झलमल्ल र मनमोहक देखिन्छन् ।

बाँकी ठाउँमा पनि बत्ती जडानको तयारी गरेको अध्यक्ष लालचनले बताउनुभयो । पर्यटकीय बस्तीको सौन्दर्यकरण र सुरक्षाका लागि चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार सडकबत्ती जडान गरेको लालचनले बताउनुभयो ।

“मैले जनप्रतिनिधिको हैसियतमा प्राप्त गर्ने सेवा सुुविधाबापतको रकमलाई कार्यपालिकाको बैठकले गर्ने निर्णयानुसार आवश्यक ठाउँ र योजनामा खर्च गरेको छु”, उहाँले भन्नुभयो, “निर्वाचित भएको करिब साढे दुई वर्षको अवधिमा करिब रु छ लाख सामाजिक क्षेत्रमा खर्च भएको छ ।”

व्यावसायिक पृष्ठभूमिका लालचन नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । गण्डकी प्रदेशका गाउँपालिकाका अध्यक्षले मासिक रु ३६ हजार दुई सयका दरले पारिश्रमिक पाउने नीतिगत व्यवस्था छ ।

घरपझोङका सबै बस्तीको डाँडामा विद्युतीय होडिङ बोर्ड राख्न थालिएको छ । बेनी–जोमसोम–कोरला सडक र पोखरा–जोमसोम हवाई उडानका क्रममा देखिने गरेर मार्फा र स्याङमा मेटलको विद्युतीय होडिङ बोर्ड राखिएको छ । जोमसोम र ठिनीमा पनि सो बोर्ड राखिने गाउँपालिकाले जनाएको छ । गाउँको पहिचानका साथै पाहुनाहरूले चिन्न सजिलो हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष लालचनले सेवा सुविधाबापत पाएको रकमबाटै जोमसोममा रहेको मातृचक्रलाई रङरोगन र व्यवस्थापन गरिएको छ । करिब २० वर्षअघि एक जना जर्मन नागरिकले ढुङ्गाको पर्खाल चिनेर गोलो आकारको बनाएका थिए । मातृचक्रलाई गाउँपालिकाले आमाको गर्भमा हुँदाको कल्पना गर्न मिल्ने गरी घुम्ने र आमाको सम्मान गर्ने ठाउँको रुपमा विकास गर्न खोजेको जनाएको छ । रासस