२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका सांसद विश्वकर्माको आरोपः सभामुख एमाले कार्यकर्ताको रुपमा प्रश्तुत भए



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले कार्यकर्ताको भुमिकामा देखिएको आरोप लगाउनुभएको छ ।

सभामुख घिमिरेले हिंसा शब्द असंसदीय भएको भनि लिएको निर्णयप्रति आपत्ति जनाउँदै उहाँले सो आरोप लगाउनुभएको हो ।

आईतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले सभामुख घिमिरेले हिंसा शब्दलाई संसदको रेकर्डबाट नहटाउने निर्णय लिएर एमालेको कार्यकर्ताको रुपमा प्रश्तुत भएको जिकिर गर्नुभयो ।

प्रतिनिधि सभा बैठकमा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै माओवादी केन्द्रका सांसदहरुले संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुख घिमिरेले सो शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने निर्णय लिनुभएको थियो । सोही विषयलाई उल्लेख गर्दै सांसद विश्वकर्माले सभामुख घिमिरे एमालेको कार्यकर्ता हो कि प्रतिनिधिसभाको सभामुख ? भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले माओवादी विदोह जनयुद्ध भएको दाबी गर्दै त्यसलाई अन्यथा ढंगले व्याख्या गर्ने काम भए राष्ट्रिय सभा बैठकमा पनि अवरुद्ध पार्नुपर्ने अवस्था आउने चेतावनी दिनु भयो । सांसद विश्वकर्माले माओवादी जनयुद्धलाई संविधानमा हिंसा नभएको पनि पटक पटक दोहोर्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो सम्मानित प्रतिनिधि सभाको सभामुखज्यूले हिंसा शब्द प्रयोग गर्नुभएको छ । यो अत्यन्तै आपत्तिजनक कुरा हो । हिंसा शब्द प्रयोग किन गरिएको छ ? यो उहाँ एउटा एमालेको कार्यकर्ता हो कि देशको सम्मानित प्रतिनिधिसभाको समामुख हो ? हाम्रो प्रधानमन्त्रीज्युले एक पटक भन्नुहुन्थ्यो–बयलगाडा । बयलगाडा प्रवृत्तिबाट उब्जिएको यो भाष्यलाई जुन स्थापित गर्न खोजिदैछ । यो भोलि त्यही प्रतिनिधिसभाको जस्तै अवरोध सृजना राष्ट्रिय सभामा त गर्नुपर्ने होइन ? यो प्रश्नहरु तातातो रुपमा आएका छन् । हिँसा के लाई भन्ने ? माओवादी जनयुद्ध हिंसा थियो ? यदि हिंसा हो भने सरकारले वार्ता गर्छ ? हिंसासँग सरकारले वार्ता गर्ने, यूएनले वार्ता गर्ने, हिंसासँग पार्टीले वार्ता गर्ने हुन्छ ? हिँसो भनेको यस्ता चिज हो, जहाँ व्यक्तिको झडप हुन्छ । लडाई हुन्छ । त्यो निश्चित व्यक्तिको स्वार्थको निम्ति मात्रै । त्यो हो हिंसा । माओवादी हिंसा थिएन ।

माओवादी जनयुद्ध थियो, जसले सत्ता परिवर्तनका लागि, व्यवस्था परिवर्तनका लागि लडाई शुरु गर्यो । त्यो केवल माओवादीले मात्रै लडेको थिए ।’ सांसद विश्वकर्माले माओवादी विद्रोह जनयुद्ध भएको र त्यसको अपव्याख्या गर्नेकुरा आफूहरुलाई सैह्य नहुने बताउनु भयो ।