६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव



अ+ अ-

किमाथाङ्का । जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।

जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत वैशाख यता स्क्रब टाइफसका तीन सय ३२ र डेङ्गी सङ्क्रमित एक सय एक बिरामी भेटिएका छन् ।

अस्पतालमा किट नहुँदा उपचारका लागि आउने बिरामीले स्क्रब टाइफसको परीक्षण गर्न महँगो मूल्य तिरेर निजी अस्पताल र क्लीनिक जानुपर्ने बाध्यता भएको खत्रीले बताउनुभयो । जिल्ला अस्पतालमा निःशुल्क परीक्षण हुने स्क्रब टाइफसको निजी अस्पताल र क्लीनिकमा रु एक हजारदेखि रु एक हजार दुई सयसम्म तिर्नुपर्ने बाध्यता छ ।

स्क्रब टाइफस परीक्षण गर्ने किट उपलब्ध गराउन कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमा माग गरिएको बताउँदै सूचना अधिकारी खत्रीले हालसम्म किट नआएकाले बिरामीलाई निजी अस्पताल पठाउने गरिएको बताउनुभयो । अस्पतालले पटकपटक आग्रह गर्दा पनि स्वास्थ्य मन्त्रालयबाट किट पठाउने विषयमा हालसम्म कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।

“एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना तथा बिमिरा आउने, ग्रन्थी सुनिनेलगायत लक्षण देखिन्छ”, सूचना अधिकारी खत्रीले भन्नुभयो । अस्पतालमा दैनिक स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामी बढ्दै गएकाले शय्याको समेत अभाव हुन थालेको उहाँले जानकारी दिनुभयो ।

विसं २०३३ मा निर्माण भएको अस्पतालमा अहिले ५० शय्या छन् । जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही उपचारका लागि यहाँ आउने गरेका छन् । रासस