• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने बताउनु भयो । भेलामा १५ सय जति प्रतिनिधिको सहभागीता रहने बताउनु भयो । उहाँले नयाँ राजनीतिक दल भएकाले प्रतिनिधिको चाप रहेको र १५ सय प्रतिनिधिहरु उपस्थित रहने गरी व्यवस्था मिलाएको बताउनु भयो ।

केन्द्रिय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस गरिएको बताउनु भयो । करिव ४ सय पालिकामा पार्टीको संरचना बनेको र २ हजार भन्दा बढी वडाहरुमा संरचना बनेको दाबी गर्नुभयो । वडाबाट प्रतिनिधत्व ल्याउन सक्ने अवस्था नरहेको र पालिकाको तर्फबाट प्रतिनिधिहरु छनोट भएर आउने गरी व्यवस्था गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भेला हुनेछ । त्यसमा करिव १५ सय जति प्रतिनिधिहरु आउने तयारी छ । हामीलाई नयाँ पार्टी पनि भएको र एउटा उत्साह पनि भएको हिसावले प्रतिनिधिहरुको चाप छ । त्यो हलको क्षमता १३ सय ५० भन्दा बढी धान्न नसक्ने छ । तथापि १५ सय जति हामीले अपेक्षा गरेका छौँ । केन्द्रिय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस गरेका छौँ । हाम्रो करिव ४ सय पालिकामा पार्टीको संरचना बनेको छ । २ हजार भन्दा बढी वडाहरुमा संरचना बनेको छ । वडाबाट प्रतिनिधत्व ल्याउन सक्ने अवस्था रहेन । पालिकाको तर्फबाट प्रतिनिधिहरु छनोट भएर आउने गरी व्यवस्था गरेका छौँ ।’

रास्वपाले उपत्यका बाहिरबाट आउने प्रतिनिधिका लागि आवास र यातायातको व्यवस्था हुने जनाएको छ । राष्ट्रिय भेलाको तयारीका लागि १५ वटा उपसमिति गठन भएको र केन्द्रिय समितिका सदस्यहरुले नेतृत्व गर्नेगरी उपसमिति बनाइ काम गरिएको बताउनु भयो ।