२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा ! रारा गोल्ड कप घाटामा



अ+ अ-

गण्डकी । सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ ।

क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा रु १५ लाख ३८ हजार चार सय ६६ घाटा भएको जनाएको हो । क्लबका अध्यक्ष केशवराज बरालले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताउनुभयो ।

“तेइसौँ संस्करणमा अघिल्लो संस्करणको भन्दा दुई टोली बढी थपिए, केही विदेशी टोली पनि ल्याउनुपर्दा खेलाडीको दैनिक भ्रमण भत्तालगायतमा बढी खर्च भयो”, उहाँले भन्नुभयो, “प्रतियोगितामा नियमित प्रायोजन गर्दै आएका केही व्यापारिक प्रतिष्ठानले गत वर्ष क्लबसँगको सहकार्य टुटाएका कारण पनि बढी व्ययभार थपिन पुग्यो ।” प्रतियोगिताको इतिहासमा पहिलो पटक क्लबले घाटा व्यहोर्नुपरेको अध्यक्ष बरालले बताउनुभयो ।

प्रतियोगितामा कुल आम्दानी रु ९९ लाख ९५ हजार चार सय ५१ र खर्च रु एक करोड १५ लाख ३३ हजार नौ सय १७ भएको उहाँको भनाइ छ । उक्त प्रतियोगितामा प्रायोजनतर्फ रु ५६ लाख ७५ हजार दुई सय सात आम्दानी भएको अर्थ सङ्कलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो ।

हिम श्री फुड्स प्रालिले रु २२ लाख २५ हजार, पोखरा महानगरपालिकाले रु १० लाख, गण्डकी प्रदेश खेलकुद परिषद्ले रु पाँच लाखलगायत गरी १४ सङ्घसंस्था र व्यापारिक प्रतिष्ठानले प्रतियोगितामा प्रायोजन गरेका थिए ।

टिकट शुल्कबाट रु २६ लाख ३६ हजार छ सय १३ सङ्कलन भएको जनाइएको छ । खर्चतर्फ सबैभन्दा बढी खेलाडीको दैनिक भ्रमण भत्तामा ३९ लाख ७३ हजार चार सय ५७ खर्च भएको अर्थ सङ्कलन उपसमितिका संयोजक गुरुङले बताउनुभयो । प्रोत्साहन खर्चबापत रु १९ लाख ६२ हजार, आयोजक खर्च रु ११ लाख ५७ हजार र आयोजक टिम तयारी खर्च रु पाँच लाख ६३ हजार सात सय ४० भएको क्लबले जनाएको छ । विभिन्न १८ शिर्षकमा उक्त रकम खर्च भएको हो ।

क्लबका अध्यक्ष बरालले बजारमा देखिएको आर्थिक मन्दी र राष्ट्रिय फुटबल खेलाडीको विदेश पलायनले फुटबलको रौनक घट्दै गएकाले प्रतियोगिता सञ्चालनमा चुनौती थपिँदै गएको बताउनुभयो । क्लबले विगत २४ वर्षदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । मोफसलको प्रतिष्ठित उक्त प्रतियोगिताको २३औँ संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता थ्री स्टार क्लब बनेको थियो ।