• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौंमा बिहीवार भन्सार विभागको कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिनुभयो । उहाँले राजश्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गर्नुभयो ।

उहाँले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । उहाँले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताउनु भयो । उहाँले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्र अहिले दबाबमा छ । राजश्व परिचालनका दृष्टिकोणले हाम्रा सामुन्ने चुनौतिहरु छन् । यो दबाब व्यक्तिगत रुपमा पनि अत्यन्त गहिरो गरी अध्ययन गरेको छु । अहिले मैले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि जे—जे देखिरहेको छु, हाम्रा सामुन्नेमा कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी छन् । यदी हामी राजश्व परिचालनमा प्रभावकारी हुन सकेनौँ भने हामीले कसरी अघि बढ्न सकौँला त्यो चिन्ता र दबाबमा म अहिले पनि छु । त्यसैले म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने यहाँ राम्रोसँग काम गरिदिनुस्, के राम्रो, के नराम्रो, के गर्नुपर्छ, के गर्नुपर्दैन, यहाँहरुलाई राम्रोसँग थाहा छ । कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ । जे थाहा छ, त्यत्ति गरिदिनु भयो भने पुग्छ । राजश्वको लक्ष्य पूरा गर्ने कुरामा लक्ष्य पूरा गर्ने मात्रै होइन, कतिपय ठाउँमा लक्ष्य क्रस गर्न पनि सकिने अवस्था छ । राजश्वको लक्ष्य पूरा गर्ने र राजश्व परिचालनको अधिकतम सम्भवना पूरा गर्ने हिसावले अघि बढ्नुहोला । राजश्व परिचालनमा कुनैपनि कम्परमाइज हुनेछैन । यहाँहरुले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्नु होला ।’

उपप्रधानमन्त्री पौडेलले सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो । सरुवा, बढुवाको प्रश्ताव लिएर कोही पनि नआउन आग्रह गर्नुभयो ।