३१ श्रावण २०८३, आईतवार
,
Latest
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना



अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ ।

महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताउनुभयो । उहाँले मौसमको यस्तोस्थिति तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिनुभयो । “उक्त प्रणालीको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ,” उहाँले भन्नुभयो, “तसर्थ आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।”

महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ । “गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमामेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” जारी विशेष बुलेटिनमा भनिएको छ, “लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।”

बुलेटिनअनुसार आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ । यसैगरी दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरको छ ।