• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

चक्रवात ‘यागी’ले निम्त्याएको पहिरोमा परी भियतनामको गाउँ ध्वस्त



एजेन्सी । विनाशकारी चक्रवात ‘यागी’ पछिको बर्षाका कारण आएको पहिरोमा परी भियतनामको लाओ काई प्रान्तको दुर्गम पहाडी गाँउ लाङ नुमा ठूलो क्षति भएको भियतनामी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

पहिरोमा परी लाङ नु गाउँका कम्तिमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ७३ जना अझै बेपत्ता रहेका सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गरी प्रशारित समाचारमा उल्लेख गरिएको छ ।

अधिकारीहरूले भियतनाममा मात्रै १४० भन्दा बढीको मृत्यु भएको जानकारी गराएका छन् । लाओस, थाइल्यान्ड र म्यान्मा पनि आँधीबेहरीपछि आएको बाढीबाट प्रभावित भएका छन् ।

भियतनामी राजधानी हनोईको ‘रेड रिभर’ नजिकै १५ वर्षदेखि बस्दै आएका ४१ वर्षीय गुयेन ट्रान भ्यानले भन्नुभयो “यो मैले आजसम्म देखेको सबैभन्दा खतरनाक बाढी हो ।

पानीको स्तर यति छिटो बढ्छ भन्ने मैले सोचेको थिइनँ । हामीले भाग्न अलिकति मात्र ढिला गरेको भए आज स्थिति फरक हुन्थ्यो ।”

राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हनोईले सन् २००८ पछिको सबैभन्दा खतरनाक बाढीको सामना गरेको हो । नदीमा पानीको स्तर द्रूत गतिमा बढेपछि रेड नदीको किनारमा बसोबास गर्ने सयौँ बासिन्दाको उद्धारका लागि प्रहरी, सैनिक र स्वयंसेवकहरू तैनाथ गरिएको छ ।

हाल कुल १६ वटा प्रान्त र सहरमा आकस्मिक बाढी र पहिरोको जोखिममा रहेका छन् । भियतनामी सरकारले ३० वर्षमा उत्तरी भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधी यागीबाट ज्यान गुमाउनेको सङ्ख्या देशभरि १४३ पुगेको र ५८ जना अझै बेपत्ता रहेको बताएको छ । यो तथ्याङ्कमा मङ्गलबारको पहिरो पीडितको सङ्ख्या समावेश छन् वा छैनन् भन्ने स्पष्ट छैन ।

“बेपत्ताहरूको खोजीका लागि पहिरो गएको क्षेत्रमा सेना परिचालन गरिएको छ,” पार्टीका जिल्ला प्रमुख होआङ क्वोक बाओले बताउनुभयो ।

त्यसैगरी छिमेकी राष्ट्र लाओसको लुआङ प्रबाङ प्रान्तका केही नदीमा पानीको सतह चेतावनीको स्तरमा पुगेको छ ।

उत्तरी थाइल्यान्डको चियाङ माईमा पहिरोमा परी दुई र चियाङ राईमा अन्य दुई जनाको मृत्यु भएको छ ।

म्यान्माका बासिन्दा र स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार बाढीले पूर्वी शान राज्यको टाचिलिक सहरमा बिजुली र टेलिफोन लाइनहरू अवरुद्ध गरिएको र भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

दक्षिणपूर्वी एसियाले वार्षिक भारी मनसुनी वर्षा अनुभव गर्दछ तर प्रकृतिमा मानवीय हस्तक्षेपले निम्त्याएको जलवायु परिवर्तनले अधिक तीव्र मौसमी परिवर्तन निम्त्याएको छ जसले विनाशकारी बाढीको सम्भावना बढाउन सक्छ ।