९ माघ २०८१, बुधबार
,
Latest
रुपन्देही जिल्ला अदालतले रविलाई निकिता र कानून व्यवसायीको जिम्मामा लगायो सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई रवि लामिछानेको बयान सकियो सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सार्वजनिक लेखा समितिको निर्देशन इगा स्विटेक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह सैफ प्रकरणमा नयाँ मोड, पक्राउ परेका अभियुक्तको अनुहार घरभित्र पसेको व्यक्तिसँग मिलेन !
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाका उत्पादन, कैलालीमा व्यापार



अ+ अ-

भजनी । कालिकोटकी हंशिला बमलाई हिजोआज यहाँ स्याउ बेच्न व्यस्त हुनुहुन्छ । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्नुहुन्छ । तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आउनुभएकी उहाँलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट उहाँले कैलालीमा घर र जग्गा जोड्नुभएको छभने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ ।

“श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थितिको मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो”, उहाँ भन्नुहुन्छ, “मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।” यो वर्ष उहाँले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताउनुभयो । मागका आधारमा देशका अन्य जिल्लामा उहाँले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहनुभएको छ ।

जुम्लामा उत्पादित स्याउ प्रतिकेजी रु ७० मा खरिद गरेर तराई पुर्याएपछि प्रतिकेजी रु एक सयदेखि एक सय २० मा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । “एक ट्रक स्याउ ल्याउन रु एक लाखभन्दा बढी खर्च हुन्छ”, हंशिला भन्नुहुन्छ, “ जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ” उहाँले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गर्नुभएको छ । उहाँका भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गर्नुभएको छ । चार महिनादेखि स्याउको व्यापारमा लाग्नुभएका उहाँ हरेक साता जुम्ला पुग्नेगरेको बताउनुहुन्छ । “चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दैनिकी बनेको छ”, उहाँ भन्नुहुन्छ, “मसँग आफ्नै गाडी छ । आफैँ गाडी चलाउँछु । जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु ।” उहाँले सडक सञ्जाल नभएका कारण वगैचामा नै स्याउ कुहिने गुनासो गर्नुभयो । कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुगेको छैन । त्यहाँ रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोप्नुभएको छ । “मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ । बजार पुर्‍याउन यातायातको सुविधा छैन । भरियालाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उहाँ भन्नुहुन्छ, “कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्व राज्यले अझै बुझेको छैन ।” रासस