• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

इजरायली हमलामा ४० जनाको मृत्यु



एजेन्सी । प्यालेस्टिनी क्षेत्रको दक्षिणमा रहेको मानवीय क्षेत्रमा मङ्लबार भएको इजरायली हमलामा ४० जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ । इजरायली सेनाले उक्त क्षेत्रको हमास कमाण्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

गाजाको दक्षिणी सहर खान युनिसको अल–मवासीमा आक्रमण पछि दशौं हजार विस्थापित प्यालेस्टिनीले त्यहाँ शरण लिएका थिए ।

यद्यपि, इजरायली सेनाले यस क्षेत्र वरपर अपरेसन जारी गरेको छ । जुलाईमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसहित ९० जनाभन्दा बढी मानिस मारिएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघाइरले आक्रमणमा मृत्यु भएका तथा घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताउनुभएको छ ।

खान युनूसमा विस्थापितको शिविरलाई लक्षित गरी आक्रमण गर्दा बेपत्ता भएका १५ व्यक्तिहरूको उद्धारका लागि विभागका कर्मचारीहरू निरन्तर खटिरहेको मुगैरले उल्लेख गर्नुभयो ।

नागरिक रक्षाका प्रवक्ता महमुद बासलले शिविरमा शरण लिइरहेका मानिसलाई आक्रमणको चेतावनी नदिएको उल्लेख गर्दै आवश्यक सामग्रीको अभावले उद्धार कार्यमा बाधा पुगेको बताउनु भएको छ ।

उहाँका अनुुसार आक्रमणका कारण २०–४० भन्दा बढी शिविरहरु पूर्ण रूपमा क्षतिग्रस्त भएका छन ।

इजरायली सेनाले विज्ञप्ति मार्फत खान युनिसको मानवीय क्षेत्रबाट सैन्य कारवाही गरिरहेका हमासलाई प्रहार गरेको जनाएको हो ।

गाजामा लडाकु समूहले तोकिएको मानवतावादी क्षेत्रसहित नागरिक र मानवीय पूर्वाधारको व्यापक दुरुपयोग गरेको जनाइएको छ ।

हमासले विज्ञप्ति मार्फत आफ्ना लडाकुहरू आक्रमण स्थलमा उपस्थित नभएको दाबी गरेको छ ।

युद्धको क्रममा, इजरायलले हमासलाई बारम्बार सर्वसाधारणको नरसंहार गरेको आरोप लगाएको छ भने हमासले आरोपको अस्वीकार गरेको छ ।

गाजा आक्रमणमा हालसम्म कम्तिमा ४० हजार ९८८ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले मृतक मध्ये अधिकांश महिला तथा बालबालिका रहेको र अधिकाशं जनसङ्ख्या विस्थापित भएको जनाएको छ ।

अमेरिका, कतार र इजिप्टले इजरायल र हमासबीच युद्धविराम र बन्धक–कैदी आदानप्रदान सम्झौता गर्ने प्रयासमा मध्यस्थता गरिरहेका छन् यद्देपी हाल वार्ता रोकिएको छ ।