१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न वेविनारका सुझाव महत्वपूर्ण – प्रमुख कार्यकारी अधिकृत ज्ञवाली



अ+ अ-

काठमाडौं । भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाईहरुबारे छलफल गर्न तथा सुझावहरु लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनार सम्पन्न भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने वेविनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीहरुले प्राधिकरणले तयार पार्न लागेको कम्पेडियमलाई पूर्णता दिन ठूलो मद्दत मिलेको बताउनुभयो । ज्ञवालीले पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न वेविनारका सुझाव महत्वपूर्ण भएकोमा जोड दिनुभयो ।
प्राधिकरणले तयार गर्न लागेको आफ्नो संस्थागत पत्र (कम्पेण्डियम) को तयारीका सिलसिलामा तयार प्रारम्भिक खाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, मुख्य सरोकारवाला तथा अभ्यासकर्ताहरुबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको थियो ।
प्राधिकरणले २०७७ बैशाखमा आयोजना गर्ने नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेगरी ६ वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ ।
आज तीनवटा विषयहरु क्रमशः जीविकोपार्जन तथा आर्थिक विकास, उद्दार तथा राहत र गभर्नेन्स एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुत भए ।
आजको पहिलो सत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा प्राधिकरण, विभिन्न सरकारी तथा गैरसकारी निकायबाट भएका पहलहरुबारे प्राधिकरणका कार्यकारी समिति सदस्य डा. विष्णु भण्डारीले एक कार्यपत्र प्रस्तुत गर्नुभयो । भण्डारीले आफ्नो कार्यपत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा १० वटा मन्त्रालय र ४७ वटा साझेदार संस्थाहरुको सहयोगमा करिब ४ लाख ६० हजार घरधुरीमा पुगिएको उल्लेख गर्नुभयो ।
भण्डारीको पत्रमाथि विश्व बैंककी ज्यास्मिन राजभण्डारी र युएनडिपीका विजय सिंहले टिप्पणी गर्नुभएको थियो । यो सत्रको सहजीकरण कार्यकारी समिति सदस्य डा.चन्द्र बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
त्यस्तै, दोस्रो सत्रमा भूकम्पलगत्तै भएको उद्दार तथा राहतका बारेमा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलले एक प्रस्तुतीकरण दिनुभयो । पोख्रेलको कार्यपत्रमाथि युएनडिपीका रामराज नरसिम्हा र एनआरसिएसका विपुल न्यौपानेले टिप्पणी गर्नुभएको थियो ।
तस्रो सत्रमा पुनर्निर्माणका लागि भएको गभर्नेन्स एवं संस्थागत प्रबन्धमाथि गहन छलफल भयो । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणजस्ता विशेष उद्देश्यका संस्थाले तुलनात्मक प्रभावकारी नजिता दिनसक्ने देखिएको उल्लेख गर्नुभयो ।  
उहाँको प्रस्तुतिमाथि पूर्व मुख्यसचिव लीलामणि पौड्याल, युरोपेली युनियनका मार्को जेमरले टिप्पणी गर्दै सुझावहरु दिनुभयो । त्यसक्रममा पूर्व मुख्य सचिव पौड्यालले प्राधिकरण निर्माणको बहस हुँदा आफूले अर्थ र सूचनाको कोष रहने र सबै विषयमा निर्णय गर्नसक्ने विशेष संस्था आवश्यक भएकोमा जोड दिएको स्मरण गर्नुभयो ।
यो सत्रको अध्यक्षता कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्माले गर्नुभएको थियो ।
कार्यक्रमको अन्तिम सत्रमा प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनर्निर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको नेतृत्व गरिरहनुभएका प्रा.डा.गोविन्द नेपाल, डा.विश्व पौडेल र डा.रुद्र सुवालले अध्ययनको प्रगति अवस्था तथा अनुसन्धानमा अपनाइने प्रणालीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
नेपाल, पौडेल र सुवालका प्रस्तुतिमाथि विश्व बैंकका कामरान अकवर, पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ नाइजल फिसर एवं अर्थशास्त्र विशाल थापाले टिप्पणी गर्नुभएको थियो ।
वेविनारको पहिलो दिन निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण र सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणमाथि सातवटा कार्यपत्रहरु प्रस्तुत भएका थिए जसमा ११ जना टिप्पणीकर्ताले आफ्नो सुझाव प्रदान तथा पृष्ठपोषण गर्नुभएको थियो ।
वेविनारमा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, पुनर्निर्माण र पुनर्स्थापनाका अभ्यासकर्ताहरु तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलगायतका सहभागिता थियो ।