१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो



अ+ अ-

म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ ।

“पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भन्नुभयो, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् ।

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेका बताउनुभयो ।

“उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्”, उहाँले भन्नुुभयो, “स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुुलनामा केही समयअघि पाक्ने देखिएको छ ।” उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा यही भदौ ६ गते बसेको बैठकले जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र किसानको बैठकले स्याउ टिप्ने समयतालिका बनाएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समयतालिका बनाइएको छ । तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ । व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुुगमन गर्नुपर्ने बताइएको छ ।

अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग, कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

मुस्ताङको एक हजार चार सय ७५ हेक्टरमा स्याउखेती भएकामा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारी बगैँचामा नपाकदै अग्रिम भुक्तानजी दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ । रासस