४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दू) राष्ट्र कायम गरौं

धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दू) राष्ट्र कायम गरौं
अ+ अ-

हरेक मुलुकका आ–आफ्ना पहिचान र विशिष्टता हुन्छन् । नेपालको मौलिक पहिचान सनातनी परम्परा हो । यसैको जगमा हाम्रो भाषा, संस्कृति, सभ्यता र धर्म अर्थात राष्ट्रिय पहिचान निर्माण भएको छ । युगौ युग देखि यो देव भूमि हो, तपो भूमि हो, ज्ञानको भूमि हो । फराकिलो सनातनी सभ्यताले यहाँ कैयन सम्प्रदायहरु विकास भएका छन् त्यसैले कालान्तरमा धर्मकोरुप पनि धारण गरेका उदाहरण हामीसंग विद्यमान छ ।

सनातनी परम्पराको मूल भाव भनेको नै समभाव हो ।विविधताको पुरा सम्मान गर्दै सबैलाई समान, सबैलाई एउटै दृष्टिकोणबाट हेर्न सक्नु हो । यस्तो समभाव विश्वमा अन्यत्र पाउन सायद मुस्किल नै होला । त्यसैले कतिपय मानिसहरु हिन्दुलाई धर्म भन्दा पनि सभ्यता तथा जीवन पद्धतिको रुपमा व्याख्य गर्ने गर्दछन् । जसले जे भनेपनि हिन्दु सनातन धर्म परम्परा हो । यसले मानवतालाई धर्मको आधार मान्दछ र ब्रम्हण्डमा भएका सबै सजिव एवम् निर्जीव बस्तुलाई उक्तिकै महत्व दिन्छ अर्थात सबैको अस्तित्वलाई स्वीकार गर्दछ ।

शान्ति, मानवता, सहिष्णुता र समभाव यसको हरेक पक्षमा पाउन सकिन्छ । हिन्दु धर्म जन्मको कुनै तिथीमिति नभएकाले यसको जेष्ठता र यसले अंगिकार गरेका फराकिलो मानव दृष्टिभावका कारण यसको श्रेष्ठतामा खासै बहस आवश्यक छैन भन्ने ठान्दछु । अनन्तकाल देखि नेपाल भूमि धर्म, सभ्यता र संस्कृताको सुन्दर बगैचा हो ।

यही भूमिमा पादुर्भाव भएका बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सबैको मूल वैदिक सनातन हिन्दु धर्म र संस्कृति हो । नेपालमा बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन (हिन्दू) धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनता बसोबास गर्दछन् । यसले नेपालको विशिष्टता झल्काउदछ ।

यस्तो तथ्य र तथ्यांकलाई नजरअन्दाज गरेर, हाम्रो मौलिकतालाई विर्सिएर, हाम्रो शक्ति र एकतालाई खण्डित गर्ने गरी लिईने निर्णयले नेपाल र नेपालीलाई कमजोर बनाउदै लैजाने छ । नागरिक जति शिक्षित हुन्छन्, जति बढी चेतनाको उचाईमा पुग्छन, जति सम्पन्नता थपिदै जान्छ त्यति नै आफ्नो मौलिक परम्परा, सभ्यता र संस्कृति प्रति अपनत्व लिदै जान्छ, त्यसमा गर्व गर्दछ र त्यसलाई आफ्नो वास्तविक पहिचान ठान्दछ ।

यसको पुष्ट्याई खोज्न वर्तमान विश्वलाई नै नियाल्दा काफी हुन्छ भन्ने लाग्दछ ।नेपाल सनातनी परम्परा, सभ्यता र संस्कृतिको मूल भूमि भएकाले नै यसका विरुद्धमा विभिन्न षडयन्त्रहरु हुदै आएको इतिहास साक्षि नै छ । नेपाल एकीकरणका नायक श्री ५ बडामाहाराजाधिराज पृथ्वी नारायण शाहको शासन काल देखि नै नेपाललाई कमजोर बनाउन यसको आत्मा अर्थात यहाँको सभ्यतामाथि प्रहार गर्नु पर्दछ भनेर निकै षडयन्त्र भएका थिए ।

त्यसलाई चिर्दै तत्कालिन राजाहरुले हाम्रो सनातनी संस्कृति, सभ्यता र धर्मलाई अगाडि बढाउदै आए । तर षडयन्त्रकारीहरुले हार मानेनन् उनिहरु निरन्तर हाम्रा विरुद्धमा लाग्दै आएका छन् । अहिले हामी बीचमा नै फुट पैदा गराएर मात्र हाम्रो वैदिक सनातन हिन्दु धर्म र परम्परालाई कमजोर बनाउन सकिन्छ भन्ने निचोडका साथ उनिहरु क्रियाशिल भएको पाउन सकिन्छ । यसमा हामीले बिचार पुर्याउन नसक्दा केही अप्ठ्याराहरु सिर्जना भएका छन् । यसलाई छिटो भन्दा छिटो सच्याउने तर्फ हाम्रो ध्यान जानु पर्दछ । नेपाललाई एकताको सुत्रमा बाध्ने बलियो आधार भनेको वैदिक सनातन परम्परा हो त्यसलाई पनि भत्कायौ भने आफ्नो मौलिकता गुम्नेछ । मौलिकता नभएको, आफ्नोपन नभएको, सबैलाई एकताको सुत्रमा बाध्ने कुनै आधार नभएको देश लामो समय सम्म टिक्न सक्दैन भन्ने तथ्य विश्व ईतिहासबाट पुष्टि हुन्छ ।

नेपाल अनन्तकाल देखि सनातनी परम्परामा हुर्केको छ । नेपाल सनातनी परम्पराको उद्गमथलो हो । प्रत्येक नेपाली सनातन धर्म, परम्परा र सभ्यताबाट दीक्षित छन्, अभ्यस्त छन् । यो प्रत्येक नेपालीको प्राण हो, पहिचान हो, आत्मसम्मान हो । शताब्दिऔ देखि नेपाली मातृभूमिमा रहेका हरेक नेपालीले कहि, कहिल्यै कतै धर्मको नाममा विभेद वा विग्रहको अभ्यास गरेको पाउन सकिदैन ।

कहि कतै कमि कमजोरी भएका भए ति केवल व्यक्तिगत विषय हुन् । सामाजिक रुपमा हामी सधै एकताबद्ध छौ । प्रकृतिको पुजा नगर्ने सायदै कोहि हिन्दु होला, हिन्दुहरुको अगाध आस्था वुद्ध धर्मका प्रति छ । बुद्ध धर्म मान्नेहरु पनि सनातनी छन्, उनिहरु हिन्दु धर्मका मठ मन्दिर र परम्परालाई उत्तिकै सम्मान गर्दछन् । प्रकृति पुजकहरु बुद्ध धर्म र सनातनी परम्परासंग जोडिएका छन् । सनातन सभ्यताले सबैलाई समेटेको छ । ॐकार परिवारले सबै नेपालीलाई जोडेको छ । ॐकार परिवार भित्र विभिन्न सम्प्रदाय, रिती रिवाजहरु छन् । तर ति सबैको जग एउटै हो । त्यसैले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नका लागि हामीले माहाअभियान संचालन गर्दै आएका छौ ।

महाअभियानका सन्दर्भमा

नेपाली जनताको भावनालाई पुरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल् पुग्ने गरी ११ बैशाख २०६३ मा पुनस्थापित संसदको ४ जेष्ठ २०६३ को घोषणा र अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको विषयप्रति गंभीर वन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरूको एउटा ठुलो समुहले २०७१ साल कार्तिक २० गते काठमाडौंमा नेपाली काँग्रेस, वैदिक सनातन (हिन्दू) राष्ट्र स्थापना महाअभियान गठन गरी संविधान सभाबाट संविधान घोषणा गर्दा धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दू) राष्ट्र घोषणा गर्न माग गर्दै पार्टी भित्र र वाहिरबाट दवाव सिर्जना गर्न अभियान सञ्चालन गरेको गौरवपूर्ण ऐतिहासिक तथ्य स्मरण गर्दछु । त्यही समय देखि नै यो अभियान निरन्तर संचालित छ र लक्ष्य हासिल नहुदा सम्म यो कायम नै रहनेछ ।

समाजका सबै तप्कालाई समावेश गरी अन्तरिम संविधानमा समावेश गरीएको धर्म निरपेक्ष राष्ट्रको प्रावधान हटाउन संघर्ष गर्दै गर्दाको अवस्थामा झन् झन् गम्भिर घटनाहरु घटदै गए । नेपालको संविधान २०७२ मा जारी हुदा अन्तरिम संविधानको प्रावधानले निरन्तरता पायो हाम्रो अभियानले त्यसलाई रोक्न सकेन । संविधान जारी गर्नु अघी संविधान सभाले धर्मका विषयमा जनताको राय संकलन गरेको थियो जसमा अत्याधिक नागरिक (करिव ९० प्रतिशत) ले नेपाल हिन्दु राष्ट्र कायम हुनु पर्दछ भन्ने मत राख्दा राख्दै २०७२ मा संविधान सभाले जनताको मतको विरुद्धमा गएर कपटपूर्ण ढंगबाट नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेकोमा त्यसको विरुद्धमा यो अभियानले निरन्तर संघर्ष गर्दै आएको छ ।

यसरी आम नागरिकको अभिमत, देशको मौलिकता, परम्परा र सभ्यतालाई समेत वेवास्ता गर्दै धर्म निरपेक्षता संविधानमा कायम राख्नुले भित्रभित्रै के कस्ता शक्ति क्रियाशिल थिए होलान भन्ने अनुमान लगाउन कठिन छैन । यस्तो एकाकार भएको समाजमा विखण्डन ल्याउन नेपाललाई धर्म निरपेक्ष बनाइएको छ । इतिहास र परम्परा तथा यहाँको व्यवहारिक वास्तविकतालाई अबमूल्यन गरिएको छ । त्यसैले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि, विश्वमा नेपालको विशिष्ट हैसियत पुनः स्थापित गर्नका लागि महाअभियान संचालन गरिएको छ ।

नेपाल वैदिक सनातन हिन्दु राष्ट्र कायम हुदाका फाईदाहरु

कतिपय विद्धानहरुले देशको धर्म हुदैन भन्ने तर्क समेत गर्ने गरेको पाईन्छ । संसारमा अहिले ७१ ईसाई देश छन्, ५१ इस्लाम देश छन्, १२ वुद्धिष्ट देश छन् । नेपाल धर्म निरपेक्ष हुनु पर्दछ भन्ने पन्डित्याइँ छाट्ने महानुभावले स्वर्गमानेका अधिकांश देशको संविधानमा नै धर्म तोकिएको छ । धार्मिक रुपले ति देशहरु अनुदार छन् । त्यही देशका प्रतिनिधिहरु नेपालमा विभिन्न माध्यमबाट धर्मान्तरण गराउन क्रियाशिल छन् । त्यती मात्र होइन धर्मको नाममा नेपालमा द्धन्द्धको आगो सल्काउन उद्धत छन् । छद्मभेषिहरुको कुटील चाल नेपालमा हाम्रो सभ्यतालाई विस्थापित गरेर आफ्नो सभ्यता लाद्नु हो । देखिएर अर्थात खुलमखुला त किन आउथे र उनिहरु लुकिछिपी काम गर्दैछन र यहाँका कतिपय मानिसहरु जानेर वा नजानेर सघाउदै आएका छन् ।

जो नेपालको सनातनी धर्म परम्परालाई ध्वस्त पारेर आफ्नो धर्म लाद्न चाहन्छ उसैले धर्मनिरपेक्षताको वकालत गर्ने नाटक मञ्चन गर्दैछ । तर, यहाँ नेपाली सोझा छन् भन्ने बुझेर तथ्यलाई गोलमटोल पारेर देशको धर्म हुदैन भन्ने चर्चा गरेका छन् । सरल र शालिन नेपाली जनतालाई आफ्नो व्यक्तिगत स्वार्थ पुर्तिका लागि गलत सन्देश नदिन पनि महाअभियानले निरन्तर अनुरोध समेत गर्दै आएको छ । यो क्रम नरोकिएका सजग र सचेत पनि गराउनु पर्ने अवस्था आउन सक्दछ ।

वैदिक सनातन नै नेपाल र नेपालीलाई राष्ट्रिय एकताको सुत्रमा एकताबद्ध गर्ने आधार हो र यसले राष्ट्रियताको संरक्षण र संवद्र्धन गर्नमा मद्धत गर्दछ । हिमाल, पहाड, तराईका नागरिकलाई एकै ठाउँमा ल्याउने मूल आधार यही हो । नेपालमा बहुसंख्यक ॐकार परिवार तथा सनातनी संस्कृतिका अनुयायी छन् । त्यस्तो मौलिकताको संरक्षणमा सहजता आउने छ । सनातन परम्परा, सास्कृतिक विशिष्टता र देव भूमिको रक्षाका लागि आवाज बुलन्द गर्न यसले सहज बनाउने छ । नेपाल हिन्दु राष्ट्र कायम रहदा सबै धर्म सम्प्रदायले आ–आफ्नो परम्परा र आस्था अनुसारको धार्मिक स्वतन्त्रता उपयोग गर्ने वातावरण सहजताका साथ पाउने छन् जसले धर्मका नाममा हुन सक्ने अस्थिरता तथा अशान्तिलाई समयमा नै रोक्न मद्धत गर्नेछ ।

नेपालमा अस्वभाविकरुपमा धर्मान्तरण फैलदै गएको छ त्यसलाई रोक्नका लागि त्यसले ल्याउन सक्ने द्धन्द्ध र अविश्वास रोक्नका लागि नेपाल हिन्दु राष्ट्र कायम हुनु पर्दछ । नेपालमा रहेका अल्पसंख्यक धर्माबलम्बीको धार्मिक स्वतन्त्रता र सुरक्षाको प्रत्याभूतिका लागि पनि यो जरुरी छ । नेपालमा धार्मिक द्धन्द्ध र विग्रह आएको छैन, अहिलेको अतिवादी भड्काउले कुनै पनि समयमा देशमा द्धन्द्ध तथा विध्वंश आउन सक्छ त्यसलाई समयमानै अनुमान गरी त्यस्तो समस्या आउन नदिन पहल गरिनु पर्दछ । यसले मात्र नेपालमा शान्ति, स्थिरता, राष्ट्रियता र समृद्धि प्रवद्र्धन गर्न मद्धत गर्न सक्दछ । सनातनी परम्पराको जगेर्नाबाट जगतको कल्याण गर्नका लागि र विश्वको एकमात्र हिन्दु राष्ट्रको रुपमा नेपालको विशिष्ट पहिचान विश्वसामु प्रस्तुत गर्नका लागि नेपाललाई धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गरिनु पर्दछ ।

महाअभियानका क्रियाकलाप र यसले पारेको प्रभाव

२०७१ साल कार्तिक २० गते काठमाडौंमा नेपाली काँग्रेस सम्वद्ध राष्ट्रप्रेमीहरुको अगुवाईमा वैदिक सनातन (हिन्दू) राष्ट्र स्थापना महाअभियान प्रारम्भ भएको थियो । त्यसपछि नेपाली काँग्रेसको नवलपरासी जिल्लाको त्रिवेणी धाममा बसेको महासमिति वैठक, ५ वर्ष पहिले काठमाडौंमा सम्पन्न महासमिति वैठकमा व्यापक रूपमा सनातन हिन्दूराष्ट्रको पक्षमा आवाज उठेको, २०८० फागुन ७–१० मा गोदावरी ललितपुरमा सम्पन्न पछिल्लो महासमिति वैठकमा उपस्थित महासमिति सदस्यहरूको बहुमतले वैदिक सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा हस्ताक्षर गरी महासमितिको पूर्ण सत्रमा प्रस्तुत समेत गरेको थियो ।

यसबाट नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ताले विशेष सहयोग तथा समर्थन प्रदान गर्दै आएका छन् भन्ने पुष्टि हुन्छ । पार्टी नेतृत्वको मुल दायित्व राष्ट्रियताको रक्षा हो । साथसाथै बहुसंख्यक समर्थकहरुको रायको सम्मान पनि गर्ने हो । यसरी बहुसंख्यक महासमिति सदस्यले हस्ताक्षर गरेर महासमिति बैठकमा वुझाएको प्रस्तावलाई पार्टीको मूल नेतृत्वले गम्भिरताका साथ लिनेछ भन्ने विश्वास रहदा रहदै पनि महाअभियानको तर्फबाट नेतृत्वलाई निरन्तर झक्झक्याउने काम हुदै आएको छ ।

नेपाली कांग्रेस बाहेक पनि अन्य राजनीतिक दलका जिम्मेवार नेता तथा कार्यकर्ताले यो अभियानमा प्रत्यक्ष वा परोक्ष समर्थन जनाउदै आएका छन् । कम्युनिष्ट मित्रहरुलाई धर्मका पक्षमा सार्वजनिक रुपमा बोल्न अप्ठ्यारो भएता पनि राष्ट्रिय एकताको सवालमा यो सबैभन्दा महत्वपूर्ण पक्ष हो र यसलाई वुद्धिमानीपूर्वका सच्याउनु पर्दछ भन्नेमा उनिहरु सहमत छन् । थोरै वुद्धिजीविहरु वाध्यताले पनि होला धर्म निरपेक्षताको पक्षमा उभिएता पनि बहुसंख्यक वुद्धिजीविहरु नेपाललाई धर्मनिरपेक्ष बनाउन हुदैन भन्ने पक्षमा प्रष्ट छन् । आम नागरिक यो गल्ति जतिसक्दो सच्याउनु पर्दछ भन्नेमा प्रष्ट छन् । विश्वभरका सनातनी, वुद्ध, प्रकृति पुजकहरु नेपाल हिन्दु राष्ट्र बन्नु पर्दछ भन्ने पक्षमा छन् । महाअभियानको तर्फबाट गरिएका विभिन्न सभा, सम्मेलन, भेला, अन्र्तक्रिया, बहस आदिमा सबैको एकै स्वर हुने गर्दछ नेपाललाई धर्म निरपेक्ष बनाएर अक्षम्य भूल भएको छ त्यसलाई जति छिटो सुधार्न सकियो त्यती क्षति कम गर्न सकिन्छ भन्नेमा एकमत छन् ।

हामी सचेत छौ

कुनै धर्म तथा सम्प्रदायलाई श्रेयष्कर देखाउने, कसैलाई होच्याउने तथा कमजोर बनाउने मनसाय यसमा कहि कतै अभिव्यक्त भएको छैन । वैदिक सनातन परम्परा भनेको नै सम्पूर्ण चराचर जगतलाई समान दृष्टिबाट हेर्न सक्नु हो । जीवन र जगतको कल्याणका हेतु, नेपाली माटोको मौलिकताको संरक्षणको कर्तव्य बोध गरी सचेत नेपाली नागरिकले अगाडि बढाएको अभियान भएकाले यसले नेपाल र नेपालीको कल्याणलाई उच्च महत्व दिएको छ ।

धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्दा सबै धर्म, सम्प्रदाय, परम्परा र सभ्यताको पूर्णत संरक्षण र संवद्र्धन गर्न अझ सहज अवस्था सिर्जना हुनेछ । अल्पसंख्यक धर्म, सम्प्रदाय र परम्पराका नेपाली दाजुभाई दिदीबहिनीहरुले आज भन्दा बढी सुरक्षित र आत्मसम्मानका साथ नेपाली भएर यो देशलाई फलाउने फुलाउने अवसर उपयोग गर्न पाउने वातावरण बन्नेछ ।

यो कसैलाई कमजोर बनाउन सुरु गरिएको अभियान होइन सबैलाई बलियो बनाउन र त्यसमा पनि देशलाई बलियो बनाउन गरिएको प्रयास हो । धर्म निरपेक्षताले हामीलाई भित्रभित्रै भयंकर साम्प्रदायिक, असहिष्णु, अनुदार र विद्रोही बनाउदै लगेकाले यसको नकारात्मक असर धान्न सक्ने क्षमता मुलुकसंग छैन । त्यसैले मुलुकलाई दुर्घटनाबाट बचाउनका लागि पनि संविधान संसोधन अपरिहार्य छ ।

हाम्रो जिम्मेवारी

सबैभन्दा माथी देश हुन्छ । देश रहेमा मात्र हामी रहने हो । हाम्रा पूर्खाको बलिदानबाट निर्माण भयको यो मुलुकको पहरेदारी गर्ने जिम्मेवारी हाम्रो हो । हामीले हाम्रा सन्ततिलाई शान्त, सुसंस्कृत, सभ्य र समृद्ध नेपाल हस्तान्तरण गर्नु पर्दछ । जुन देशले आफ्नो ईतिहास, आफ्नो परम्परा, सभ्यता, संस्कृति र धर्मलाई विर्सन्छ त्यो देशमा शान्ति, स्थिरता र सम्पन्नता आउदैन भन्ने तथ्य जगजाहेर नै छ ।

मुलुकको प्रमुख राजनीतिक शक्ति भएकाले नेपाली कांग्रेसले यो अभिभारा ग्रहण गर्नु पर्दछ । विगतको गल्ति सच्याउदा कमजोर भईदैन, अन्य राजनीतिक दललाई पनि विश्वासमा लिएर नेपाली कांग्रेसले यसको नेतृत्व लिनु आवश्यक छ । किनकी एकातिर विगतमा पनि नेपालका मुख्य परिवर्तनको नेतृत्व नेपाली कांग्रेसबाट मात्र सम्भव भएको छ भने अर्कोतर्फ देशमा कम्युनिष्टहरुको ठुलो संख्या छ । कम्युनिष्टहरु धर्मका बारेमा खुलेर बोल्न सक्दैनन् तर पनि राष्ट्रिय शक्ति भएका कारण उनिहरु पनि देशका प्रति उत्तिकै जिम्मेवार छन् र देशको भलो चिताउछन् । त्यसैले नेपाललाई हिन्दु राष्ट्र बनाउने सन्दर्भमा नेपाली कांग्रेसले नेतृत्व लिदा खुसी भएर कम्युनिष्टहरुले पनि यो मुद्धामा समर्थन जनाउनेछन् । राष्ट्रप्रेमले ओतप्रोत वद्धिजीविहरु धर्म निरपेक्षताको विरुद्धमा छदैछन् । तर, केही बाह्य प्रभावमा रहेका र बाह्य शक्तिहरु प्रति उत्तरदायी हुनु पर्ने वाध्यतामा रहेका वुद्धिजीविहरु काठमाडौंमा क्रियाशिल भएको तथ्य जगजाहेर नै छ ।

त्यस्ता छद्मभेषी शक्तिलाई परास्त गर्न राष्ट्रवादी वुद्धिजीविहरु थप क्रियाशिल हुनु आवश्यक छ । मेरो वुझाईमा दक्षिण छिमेक नेपाल हिन्दु राष्ट्र होस् भन्ने चाहन्छ भने उत्तर छिमेक पनि धर्मको नाममा नेपालमा बढदै गएको बाह््य प्रभावबाट सशंकित बन्न पुगेको छ । उत्तर छिमेकमा वुद्ध धर्मको प्रभाव बढदो छ त्यसको मूल वैदिक सनातनी सभ्यता नै हो र वुद्ध धर्मको जरो नेपालमा नै छ, भने दक्षिण छिमेक आफैमा पनि हिन्दु राष्ट्र हुनका लागि प्रयत्नरत छ । यस्तो अवस्थामा संविधान संशोधनका लागि दवाव सिर्जना गर्ने तर्फ हाम्रो ध्यान जानु पर्दछ ।

अन्त्यमा

राजनीतिमा लेन देन हुन्छ तर धर्म, संस्कृति र सभ्यतामा लेन देन हुदैन । त्यसमा पनि वैदिक सनातन परम्पराको कुनै जरो नै फेला नपर्ने हुदा यो मानव सभ्यता जति नै पुरानो छ । त्यसैले यसमा सम्झौता हुने प्रश्न नै उठदैन । देशमा ९४ प्रतिशत सनातनी छन्, अल्पसंख्यक समुदाय पनि नेपाल धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र बनेमा आफु सुरक्षित हुने तथ्यमा आश्वस्त छन् ।

यो देव भूमि हो, तपो भूमि हो, ऋषिमुनिको भूमि हो भन्नेमा कुनै सन्देह छैन । दक्षिण र उत्तर छिमेक नेपालमा शान्ति, स्थिरता र समुन्नती चाहन्छ त्यसको लागि अहिले धर्मको नाममा देखा परेका अस्थिरताले कालान्तरमा समस्या ल्याउने हुदा नेपालले आफ्नो मौलिक पक्षलाई छाडन हुदैन भन्ने पक्षमा छन् । नेपाललाई विश्वमा एकमात्र हिन्दु राष्ट्र बन्ने अवसर उपलब्ध छ, त्यसले हामीलाई एक विशिष्ट पहिचान दिनेछ ।

हाम्रो विविधतायुक्त भूगोल, भाषा र सम्प्रदायमा सबैलाई राष्ट्रिय एकताको मालामा जोड्ने आधार सनातनी परम्परा नै हो । बाह््य शक्तिले धर्मका माध्यमबाट घुमाउरो गरी हाम्रो मौलिकतामा, एकतामा, पहिचानमा र विशिष्टताको मर्ममा नै प्रहार गरेका छन् त्यसलाई हामीले समयमा बुझ्न सकेनौ पनि निकै ठूलो अनिष्ट निम्तनेछ । त्यसैले हामी सबै एकजुट भएर नेपाललाई पुनः धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दू) राष्ट्र कायम गर्नका लागि क्रियाशिल होऔं । जय नेपाल ।

शंकर भण्डारी प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ ।