• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै



भैरहवा । पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाहरुले व्रत बसेर यो पर्व मनाइरहेका छन् ।

श्री कृष्ण जन्माष्टमीको अघिल्लो दिन मनाइने यो पर्व विशेषत: कुशको पूजा गरी सुरु हुन्छ । महुवाको पातमा महुवाको फल, दही, तिन्नीको चामललगायत राखी महिलाहरु सामूहिक रुपमा धार्मिक स्थलमामा गई कुशको पूजा गर्ने गर्दछन् । त्यसपछि सन्तानलाई दही, तिन्नीको चामल, महुवाको पललगायतको टिका लगाई प्रसाद खान दिन्छन् ।

उनीहरुले दिउँसो सामूहिक रुपमै विभिन्न कथा श्रवण गर्ने र तिन्नीको चामलले पकाएको भात खाने गरेका छन् । व्रतमा प्राकृतिक फलफूल, पकवानहरु, दही, महुवा, साग र तिन्नीको भातलगायत सामग्री प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । यो व्रतमा महुवाकै दातुनले दाँत माझ्ने गरिन्छ । यसै तिथिमा भगवान् श्री कृष्णको दाजु बलरामको जन्मोत्सव मनाउने पराम्परा रहेकाले खेतमा उब्जिएको वा हलोले जोतेर उब्जाएको कुनै अन्न खानु हुँदैन भन्ने मान्यता छ । रासस