• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   ६४ इन्स्पेक्टर र २३६ असइ भर्ना गर्न आवेदन माग ★   संसदीय समितिमा प्रस्तावित राजदूतहरुका बहुलट्ठी कार्ययोजना ★   लगानी बोर्डमा सुशील नियुक्त, धराहरा असोज ३ गतेदेखि खुल्ने ★   पहिराेले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध ★   नेकपा एमालेको सचिवालय बैठक आज बस्दै ★   क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या ★   सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती ★   कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी ★   आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने ★   संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने

युवा सचेत नहुँदासम्म देश बन्दैन – प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा सचेत नहुँदासम्म देश नबन्ने बताउनुभएको छ ।

शनिबार काठमाडौं यूथ कन्क्लेभ २०२४ मा सहभागीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म चिताए जसरी देश अघि बढाउन नसकिने बनाउनुभयो । ‘किन भने युवा नै देशका सम्पूर्ण शक्ति हुन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्नेमा ओलीले जोड दिनुभयो । त्यसका लागि युवालाई रोजगारीमा जोड्नु पर्ने भएकाले सरकारले स्टाटपको कार्यक्रम सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो । स्टाटपको लागि लोन दिन सरकारले यस वर्ष एक अर्ब रुपैँया छुट्याएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले राम्रो योजना बनाएर स्टाटपमा सहभागी हुन युवालाई आग्रह गर्नुभयो ।

यस वर्ष १० हजार बढी स्टाटप सुरु गर्ने योजना सरकारले बनाएको ओलीले बताउनुभयो । कृषि र सान उद्योगबाट व्यावसायिक काम सुरु गर्न ओलीले आग्रह गर्नुभयो । ‘मेरो ध्यान युवा उत्थान, युवा विकास, युवा शक्तिकरणमा रहेको छ, त्यसबाट मात्रै देश अगाडि बढाउन सकिन्छ, यी सबै प्रयास त्यसका लागि हुन्’, ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूहरू राजनीतिमा धेरै दुःख गरेर राजनीतिमा आएको बताउँदै अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । आफू कुनै कूल घरानाको मान्छे भएर वा कसैले डोर्‍याएर राजनीतिमा आएको मान्छे नभएको ओलीले युवाहरूलाई स्पष्ट पार्नुभयो । आफ्नै संघर्षबाट आफू राजनीतिमा आएको ओलीले बताउनुभयो ।

आफ्नो राजनीति यात्राले हरेक नेपालीमा आत्मविश्वास र आत्मबल बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । आफूहरू जेल, नेल र चुटाइ खाएर, भूमिगत जीवन बिताएर अहिलेको अवस्थामा आएको ओलीले सुनाउनुभयो । ‘म १८ वर्षको उमेरमा जेल परेको थिएँ, म अन्यायपूर्ण तरिकाले थुनिएको थिएँ लोकतन्त्रको निमित्त लड्दा’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिले समाजमा आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति बढेको बताउनुभयो । यसबाट जघन्य अपराधीक घटना बढ्दै गएका गएका ओलीको भनाइ छ । मानिसले सामाजिक मूल्य, मान्यता, थिति, विधि मिच्नु नहुनेमा ओलीले जोड दिनुभयो । बलात्कार मानव जातीकै निम्ति कलङ्क भएकोले त्यसलाई रोक्नु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

ओलीले लैङ्गिक अधिकार र सामाजिक समानता हुनुपर्ने बताउनुभयो । ‘सबैले अधिकार प्राप्त गर्नुपर्दछ, सबैका अधिकार हुनुपर्दछ, तर समलिङ्गीका बिचमा विवाह गर्ने जस्तो कुरा म बुझ्दिन, के भनेको हो त्यो भन्ने कुरा, कतिपय कुरा मैले बुझेका कुरा हुन सक्दछन्, संसारमा मैले सबै बुझेकै हुन्छु भन्ने छैन, सबैको अधिकारको पक्षमा के गर्नुपर्छ र समयानुकूल के गर्नुपर्छ त्यस सम्बन्धमा व्यवहारिक रूपमा कसरी सम्बोधन गर्न सकिन्छ, त्यस सम्बन्धमा सरकारले निर्णय गर्छ र न्याय दिन्छ ’, उहाँले भन्नुभयो ।

देश बाहिर रहेका युवाहरूको अलिकति अनुकूल परिस्थिति हुने हो भने देश नै फर्कन्थे भन्ने मनस्थिति रहेको ओलीले बताउनुभयो । नेपाल जस्तो राम्रो देश अन्त पाउन गाह्रो रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘विदेशमा बस्ने नेपालीहरू पनि नेपाल फर्कन चाहन्छन्, त्यसका लागि सरकारले अनुकूल वातावरण बनाउनु पर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले त्यसैको लागि सरकारले काम गरिरहेको बताउँदै सरकारको भर पर्न आग्रह गर्नुभयो । ‘अहिलेको सरकारसँग आस पनि गर्नु, भर पनि पर्नु, भर पर्नुपर्छ अहिलेको सरकार प्रति, किनभने केही काम गर्नका लागि बनेको छ, म यो उमेरमा घस्रिन पर्ने केही आवश्यकता थिएन, तर देशमा केही परिवर्तन ल्याएरै छाड्ने भनेर लागेको छु’, उहाँले भन्नुभयो ।

देश र जनताको लागि निर्बाध रूपमा सत्य कुरा बोल्नु नै वाकस्वतन्त्रता भएको ओलीले बताउनुभयो । वाकस्वतन्त्रताको नाममा हेर्न र सुन्न नसकिने कुरा व्यक्त गरेर राष्ट्रले केही प्राप्त नगर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कसैको चरित्र हत्या गर्ने गरी जथाभाबी बोलेर समाजलाई सही दिशामा लैजान नसकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफ्नै अगुवाइमा देशमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षा मन्त्री तथा मुख्य सचिव बनाएको बताउँदै ओलीले महिला प्रधानमन्त्री पनि बनाउने इच्छा भएको बताउनुभयो । तर त्यसको लागि समय लाग्ने ओलीले बताउनुभयो । अहिले पनि अहिले पनि हरेक डेलिगेसनमा एक जना महिला अनिवार्य सहभागी गराउनु पर्ने नियम आफूले बनाएको उहाँले स्मरण गराउनुभयो ।

महिलाको मनोबल उठाउन र आत्मविश्वास बढाउन आफूले योगदान गरेको ओलीले बताउनुभयो । आजको भोलि नै महिला प्रधानमन्त्री बनाउन नसकिए पनि नेपालमा महिला प्रधानमन्त्री बन्ने उहाँले दाबी गर्नुभयो । ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, उहाँले भन्नुभयो ।