• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

ओलीले प्रधानमन्त्री रहने भए अध्यक्ष छाड्नैपर्छः देवेन्द्र पौडेल



काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे । पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाई थियो ।

“ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,” पौडेलले भने । पौडेलले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए । “पार्टी फुटाउनु हूँदैन, एक बनाउनैपर्छ,” उनले भने ।

पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाई छ । उनले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए । ‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भुमिका खेल्नुपर्छ,’ पौडेलले भने । पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिए । ओलीले समस्या समाधानको जिम्मा लिनुपर्ने समेत बताए । 

नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उनले अब समस्या समाधान गर्ने  जिम्मा ओलीले लिनुपर्ने बताए । सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उनको भनाई थियो । त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताए ।

दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनको भनाई छ । प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको उनले बताए । छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उनको तर्क छ । पौडेलले भने, ‘ओली र दाहालबीच मिल्नुको विकल्प छैन ।’

फरक प्रसंगमा पौडेलले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु गलत भएको बताएका छन् । “लोकतन्त्र हाम्रो जीवनपद्धति हो, पौडेललाई नियन्त्रणमा लिन दुखद कुरा हो,” उनले बताए । वरिष्ठ नेतालाई सम्मान गर्नुपर्ने भन्दै उनले तनहुँको घटनामा पार्टीको संलग्नता नरहेको दावी गरे । “पार्टीको संलग्नता छैन, जिल्ला प्रशासनको काम हो । कार्यक्रममा रोक लगाउनु हुँदैनथ्यो । निषेधाज्ञा जारी गर्नु गलत हो ।” उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले माफी नमागेसम्म आन्दोलन नरोकिने बताए । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोमा ओली र बादल दुवैले माफी माग्नुपर्ने भन्दै देशव्यापी आन्दोलन हुने बताए । नेता खड्काले भने, ‘प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले माफी नमागेसम्म आन्दोलन जारी रहन्छ ।’ १४ वर्ष जेल बसेर राजनीतिक अन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ नेतालाई सामान्य विषयमा नियन्त्रणमा लिनु लोकतन्त्रमाथिको हमला भएको खड्काको तर्क छ । “यो सरकार उन्माद र तानाशाही प्रवृत्तिमा चलेको छ । निरंकुशतामा चलेको सरकारलाई सहेर बस्दैनौँ,” खड्काले भने ।

सडक र सदनबाट आन्दोलनको आँधीबेहेरी ल्याएर सरकारलाई बढार्ने चेतावनी खड्काले दिएका छन् । कांग्रेस एक भएर लोकतान्त्रिक मूल्य र मान्यता जोगाउनका लागि अघि बढ्ने बताउँदै उनले राणा र राजा फाल्ने कांग्रेसलाई कम्युनिष्ट फाल्न कुनै समस्या नहुने पनि बताए ।

त्यसैगरी, खड्काले पछिल्ला दिनमा राजावादीहरु सलबलाएर लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरे । सरकारको कमजोरीका कारण राजसंस्थाको एजेण्डा उठेको भन्दै यसको जिम्मेवारी पनि ओली सरकारले लिनुपर्ने खड्काको भनाई छ ।