९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

सपना राेका मगरकाे संघर्षकाे कथा (भिडियो सहित)

सपना राेका मगरकाे संघर्षकाे कथा (भिडियो सहित)
अ अ+ अ-

सपना रोका मगर

बेलायती संचार माध्यम बिबिसीको प्रभावशाली “सय महिला–२०२०” सूचीमा परेकी सपना रोका मगर अहिले चर्चामा छिन् । बिबिसीले प्रत्येक वर्ष विश्वभरबाट उत्कृष्ट, उदाहरणीय काम गर्ने एक सय महिलाको नाम प्रकाशन गर्ने गर्दछ । यस वर्ष नेपालकी सपना रोका मगर यो सूचीमा परेकी छिन् । बिबिसीले सन् २०१३ देखि यस्तो सूची प्रकाशन गर्ने गर्दछ । समाजसेवी सपनाले बेबारिसे शवहरुको व्यवस्थापनको काम गर्दछिन् । म्याग्दीकी सपनाले विनयजंग बस्नेतसँग मिलेर ३०० भन्दा बढी शव व्यवस्थापन गरिसकेकी छिन् ।

सडकमा अलपत्र अवस्थामा परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर दाहसंस्कार गराउने काममा उनी खटिएकी हुन्छिन् । उनी विनयजंगलाई कर्मबुबा पनि भन्छिन् । बिबिसीसँग उनले यो काम आफूले आत्मशान्तिका लागि गरेको बताएकी छिन् । यिनै सपनासँग काठमाडौंमा न्यूजपोलार डट कमकै कार्यालय, अनामनगरमा प्रधान सम्पादक सुशील अर्यालले उनको संघर्षका बारेमा कुराकानी गरेका छन् ।  

को हुन् सपना रोका मगर ?

सपनालाई धेरैले बेबारिसे भनेर चिन्ने गर्नुहुन्छ । बेबारिसे लाश जलाउने भनेर चिन्नु हुन्छ । यहाँसम्म आइपुग्दा धेरै बाधा अड्चनहरु, हाँसो खुशी र रमाइलो, उतारचढाव व्यहोरेर यहाँ आइपुगेको छ । कतिपय मान्छेहरुले हिजोको समयमा जिन्दगी विगारेको सपना, हिजो दुःख दिएको सपना, अगाडि बढ्न कोसिस गरिरहेको सपना भनेर चिन्नुहुन्छ । त्यसरी नै चिन्नहुन्छ मलाई ।

विगत कसैको राम्रो हुन्छ कसैको नराम्रो हुन्छ , कसैको सम्झनायोग्य विगत हुन्छ । कसैको त्यो विगतलाई अलिकति एक पार्ट मात्र संझिन पनि नखोज्ने हुन्छ । कतिपय विगत बिर्सिदा राम्रो हुन्छ, तर त्यो विगतलाई बिर्सन कोसिस गर्दा पनि त्यसलाई बिर्सन सकिँदैन किनभने विगत एउटा सत्य हो सत्य पाठ हो । त्यो सत्य पाठलाई अहिले पढिसकेर अर्को नयाँ शुरु गर्दैछौं नि ।

चुलबुले स्वभावकी थिएँ पुल्पुलिएर धोका पाएँ

हिजोको बेलामा सामान्य परिवारमा जन्मे हुर्केको हो । घरकी कान्छी छोरी, ममी बाबाले एकदमै धेरै माया गर्ने, दाजु दिदीले एकदमै धेरै माया गर्थे । त्यही कारणले चिनी धेरै खायो भने पनि नमिठो हुन्छ भन्छन् । धेरै माया पाएका मान्छे पनि पुल्पिदा रहेछन् । राम्रो पढ्दापढ्दै एसएलसी सकिएपछि म प्लस टु पढ्न बजार गएँ । बजारी दुनियाका कारण मैले गाउँलाई बिर्सिएँ । म को हो, मैले गाउँलाई के गर्नु पर्छ भन्ने कुरा बिर्सिएँ । सबैसँग हाँसेर बोलिदिने, म जे हो प्रष्ट बोल्ने, मनमा पाप नराख्ने स्वभाव थियो ।

हिजो र आज मेरो स्वभाव उही छ । हिजो पनि म सत्यको पक्षमा बोल्ने, कतिपय अवस्थामा म आफैं गलत भएको थिएँ । राम्रो गर्न खोज्दा गलत भएको थिएँ । अहिले अलिकति केही राम्रो गर्न सिक्दैछु, खोज्दैछु । अहिले धेरै साथीहरुसँग मेरो भेट हुन्छ । यस्तो कुराहरु भन्दा कतिपयले कति साथीहरुलाई मात्र दोष दिएको भन्छन् । त्यो आफ्नो मनको कुरा हो । मेरा राम्रो कलेज पढ्ने समूहमा अहिले एकदमै टप लेभलमा पुगेका एकदमै पढ्ने साथीहरु पनि थिए होलान् तर मेरो मन यतैतिर गयो, बढी होहल्लामा रमाउने बढी साथीहरुसँग घुमफिर तिर गयो । त्यही बेला सामाजिक संजालमार्फत मैले बुबाआमालाई एकदमै सताउने गर्न थालें ।

बुबाआमालाई सताएँ, झुठ बोलें

मलाई यो चाहियो, यता उता जानु परो भनेर एकदमै सताउन थालें । मैले बुबाममीको विश्वास विस्तारै गुमाउन थालेको थिएँ, धेरै झुठ बोलें । तर चाहिने कुरामै झुठ बोलेको थिएँ । मैले थाहा पाउने हुँदा देखि नै अरुकै लागि नै गरिरहेको हुन्थे । मेरो अगाडि कसैले सानो दुःख देखायो भने पनि ममीबाबालाई झुक्याएर हुन्छ कि घुक्र्याएर हुन्छ म त्यो साथीको दुःख टार्दिनु पर्ने । त्यो कतिपयले मेरो सोझोपनको फाइदा पनि उठाए । त्यसमा चाहिँ सम्झेर धेरै धन्यवाद दिन्छु । विगतमा उनीहरुले त्यसरी गरेको उचालेर, पछारे, लडाए, त्यही भएर म अहिले यति बलियो भएर अगाडि आउन सकेको छु ।

सम्बन्धमा धोका पाएपछि सडकमा पुगें

त्यही राम्रो पढ्ने बेला, साथीसँग भुल्ने बेलामा मेरो एउटा समाजिक सञ्जालमा मेरो कुनै एउटा केटा साथीसँग भेट हुन्छ, कुराकानी हुन्छ । २, ३ महिना हुन्छ । सामान्य हाइहेल्लो के छ कसो छ भन्ने हुन्थ्यो । मेरा साथीहरू धेरै नै थिए, मेरो स्वभाव साथीहरू धेरै बनाउने थियो । मेरो घरमा धेरै साथीहरु भेट्न आइरहन्थे, म पनि अरु साथीको घरमा गइरहन्थे ।
म एकपटक तिनै फेसबुकबाट भेटेका साथीलाई भेट्न गएँ । कस्तो परिबन्द परेको थियो भने म तिनै साथीसँगको सम्बन्धमा बाँधिनु पर्यो । विवाहजस्तै सम्बन्ध थियो, त्यसैमा जोडिन बाध्य भएँ । मान्छेले, समाजले बाहिरबाट हेर्दा एउटा विवाहको रुप दिएको देखिन्छ, तर विवाह एकदमै पवित्र हुन्छ । तर विवाहलाई एउटा बच्चाबच्चीको खेलको जस्तै रुपमा लिएको थियो । पछि बुझ्ने बेलामा कसैलाई सपार्न कसैलाई प्रयोग गरिएको मैले बुझें । त्यही सम्बन्धमा एकअर्काको कदर भएन, इज्जत भएन भने त्यो सम्बन्ध राम्रो हुँदैन । परिवार सुन्दर हुनका लागि परिवारका सदस्यबीच राम्रो सम्बन्ध हुनु पर्दछ । एक अर्काको कदर हुनु पर्दछ । त्यो कदर नभइसकेपछि म त्यो सम्बन्धबाट छुटेर म सडकमा आइपुगेको हुँ । 

अगाडि जाउँ घरपरिवारमा फर्किउँ, ममीबाबासँग जाउँ त कसरी ? मैले पहिले नै उहाँहरुको धेरै विश्वास गुमाइ सकेको थिएँ । मैले त धेरै दुःख दिइसकेको थिएँ । अब त्यही सम्बन्धमा जोडिइराख्न, टिकिराख्न सकिनँ, अब जाने कहाँ गर्ने के ? यही दोधारमा परें । अब अगाडि के भन्ने ? प्रश्नचिह्न खडा भए । त्यही भएर म नितान्त सडकमा पुगें, २,३ महिना पूरै सडकमा मेरो बास भयो ।

अहिले सडकमा बस्नेहरुलाई जसरी चार सय पाँच सयलाई खाना दिइन्छ नि म पनि त्यो लाइनमा कुनै समयमा म पनि हुन्थें । कसैले खाना दिन्छ कि भन्ने हुन्थ्यो । भोक मेटाउँला, छ सात दिनको भोको पेट हुन्थ्यो । कतिपय समयमा जमिनलाई बिछ्यौना बनाएर र खुला आकाशलाई ओढ्ने बनाएर सुत्न एकदमै गाह्रो हुन्छ नि । त्यो पनि केटी मान्छे । सडकमा बसिरहेको छ । मान्छेको सोेचमा अनेक कुरा हुन्छ ।  कसैले के सोच्छ कसैले के सोच्छ  । त्यसमाथि पनि सडकमा आउने सबै मान्छे राम्रो पक्कै पनि हुन्न । सडकमा आउने ९५ प्रतिशत मान्छेहरु त लागूऔषधि सेवन गर्ने, दुव्र्यसनमा फसेका मान्छेहरु हुन्छन् ।

सडकमा जीवन जोगाउन कठिन रहेछ

एकदमै गाह्रो भयो त्यो बेलामा आफ्नो जीवनलाई जोगाउन । सोच फरक हुन्छ । कतै मलाई केही हुन्छ कि भनेर प्रायः म प्रहरी चौकीको बाहिरको प्रतीक्षालयमा बसिरहेको हुन्थे । प्रहरी मेरो साथी भन्ने एउटा भनाइ नै छ । यदि कथंकदाचित केही भइहाले, कसैले मप्रति कुविचार राख्न खोजे प्रहरीहरु हुनुहुन्छ मेरो साथमा । म चिच्याएर गुहार्न सक्छु भन्ने सानो विश्वास मेरो मनमा थियो । त्यही कारण हरेक समय त्यहीँ बसिरहन्थे, दिउँसो अन्तै हुन्थे । साँझ भएपछि प्रहरीचौकीको बाहिर आएर यतिकै बाहिर बसिरहन्थे । गाह्रो हुन्थ्यो । मेरो २,३ महिनाको त्यो विगतको सम्बन्धका कारण मेरो जीवन एक डेढ वर्ष नै मेरो जीवन अस्तव्यस्त भयो ।

मर्न कहाँ सजिलो छ र ?

सडकको जीवन बाँचिरहँदा धेरै सोच्ने, टोलाइराख्ने, म डिप्रेसनमा गएजस्तो भएको थिएँ । सोचिमात्र राख्थें । मैले ममीबाबालाई दिन आखिर के सकें, अब किन बाँच्ने भनेर मर्ने कोशिश गरेर रसी बोकेर खोलामा वरिपरि दौडिएको थिएँ । मर्छु भनेर । तर जीवनदेखि आत्मविश्वास गुमाएर, जिन्दगी हारेर मरेको भए दुइचार जना मान्छेले जलाउँथे होला, एकाधले फुलपाती चढाउँथे होला, रुन्थे होला, धेरै सताएको थियो मरी भन्थे होला अथवा कुनै शवगृहभित्र कुहिएको हुन्थे होला । तर हिम्मत नहार्नु नै सबैभन्दा ठूलो कुरा हो भन्ने मलाई लाग्यो । म मरिहालेको भए अहिले म बोल्न सक्ने, तपाईंसँग कुरा गर्न सक्ने अवस्थामा हुँदैन थिएँ ।

घर फर्किएँ, बुबाआमा अति खुशी हुनुभयो

यहीबीच मेरा बुबाआमा फेरि सम्पर्कमा आउनुभयो । मेरा बुवाआमा भगवान भन्दा माथिको भगवानको रुपमा हुनुहुन्छ । परिवारको मैले आडभरोसा नपाएको भए म केही गर्न सक्दैनथें होला । मेरो को थियो र ? पूरै दुनियाँ विपरीत भएपनि हामी तिम्रो साथमा छौं भनेर अति हौसला दिनुभयो बुबाआमाले । म २,४ महिनाको त्यो समयमा यति कमजोर भएकाी थिएँ कि साँझ सुतेको छोरी बिहान उठ्छे कि उठ्दिन, त्यतिसम्म कमजोर भएको थिएँ । त्यो कुरा ममीबाबाको मनमा थियो । आफ्नो शरीर धान्नै नसक्ने । कति बेला छ सात दिनसम्म केही खान नपाइ भोक भोकै बसेकाले पूरै शरीर गलेको थियो । कति दिन मन्दिरमा पूजा गर्ने मानिसले छोडेको खानेकुरा खान्थें । अहिले पो सामाजिक अभियन्ताहरुले धेरै जनालाइ खाना बाँड्नु भइरहेको छ त्यो बेलामा त न कोरोना थियो न लकडाउन थियो । जे सकिन्छ आफूले खोजेर खानुपर्थ्यो, धेरै कठिन हुन्थ्यो ।

दुःखमा परेकाको सेवा गर्न छाडिनँ

त्यस्तो समयमा पनि सधैं अरुकै लागि सोच्ने के । कसैले के दियो भने पनि मैले त केही समय धान्न सक्छु, विचरा त्यो बच्चाहरुले धान्न सक्दैन भनेर बच्चाहरुलाई मैले खाँदै गरेका कुराहरु । एकदमै लुगलुग काम्ने जाडो हुन्थ्यो त्यतिबेला । त्यतिबेला बच्चाहरुलाई आफूले लगाएको ज्याकेट खोलेर दिएँ । आफूले लगाएको जुत्ता, चप्पल दिएँ । म त कसैगरी हिँड्न सक्छु, विचरा बृद्ध आमाहरु हिँड्न सक्दैनथे । यही क्रम चलिरहेको थियो ।

विनयजंग बस्नेत र सलिनासँगको मित्रता

मेरो कुरा वेवारिसे अवस्थाका बारेमा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतसँग मेरो चिनजान थियो छोरी सलिना मार्फत । मैले एसएलसी दिइसकेपछि मैले जापान जाने प्रयास गरेकी थिएँ, त्यतिबेला पनि मेरो उहाँसँग कुरा भएको थियो । विनयजंगकी छोरी सलिना बस्नेत (जो अहिले अस्ट्रेलिया हुनुहुन्थ्यो) दिदीसँग मेरो कुराकानी हुन्थ्यो । निरन्तर कुरा भइरहन्थ्यो ।

पशुपतिमा बेबारिसे व्यक्तिकाे शव जनाउँदै विनयजंग बस्नेतसँग सपना राेका मगर (तस्वीरः सपना राेकाकाे फेसबुकबाट)

दिदी र विनय सरसँग मेरो ३,४ वर्षदेखि नै लगातार कुराकानी हुन्थ्यो । बीचमा उहाँले मेरै राम्रोका लागि मलाई गाली गर्ने, मेसेज गर्ने गर्नु हुन्थ्यो । म चाहिँ म आफ्नै रमाइलो संसारमा हराउन थालेको थिएँ । बानी नै परेको थियो । कसैले मलाई राम्रो भने पनि नराम्रो भनेको जस्तो लाग्थ्यो, फोन काटिदिने गर्थें । पछि अब आफ्नो पढाइलाई पनि निरन्तरता दिने, कति दिन यसरी बस्ने, कति दिन यसरी गुम्सीएर बस्ने, कति दिन आफ्नो विश्वास गुमाएर बस्नु, कति दिन आफू कमजोर हुनु ? भनेर म उठ्न सिकें, उठ्न खोज्दा म काठमाडौं आएँ । मेरो उहाँसँग कुराकानी भइराख्थ्यो । म यस्तै वेवारिसेकै लागि काम गरिरहेको छु ।

परिवारको सहयोगबाट एकदमै खुशी छु

घरपरिवारबाट म एकदमै धेरै खुशी छु । हिजोको समयमा सडकमा बस्ने बेलामा मलाई एउटा आत्मविश्वास दिन, हौसला दिनका लागि देखावटी मुस्काउनु हुन्थ्यो । देखावटी हाँस्नु हुन्थ्यो । आजभोलिका दिनहरुमा मेरो बुबाआमा वास्तविक रुपमै हाँस्नुहुन्छ । कति जनालाई सुनाए होलान् तेरी छोरी विग्रिइ, नाम फाली, नाकै काटी, इज्जत फाली कति जनाले भन्नु भयो होला । अहिले मेरो बारेमा जेजति खबरहरु आएका छन् त्यसपछि मेरो बारेका धारणा फेरिएका छन् । विगतमा जतिले मेरा कुराहरु काट्थे, उनीहरु घरमै आएर मेरो ममीलाई बधाई दिनु भएको छ । त्यो भन्दा ठूलो कुरा मैले जीवनमा पाएको सफलता के नै हुन सक्छ र ? अबको केही हप्ता, दुई चार दिनपछि जुन ठाउँमा म बेवारिसे बनेको थिएँ, खानाको प्रतीक्षा गरेर बसेको थिएँ बुटबल, त्यहींका युवा साथीहरुले मलाई सम्मान गर्दै हुनुहुन्छ । जुन ठाउँमा म बेवारिसे बनेको थिएँ, आज सुते भोलि उठ्ने हो कि होइन, आज खान पाए भोलि पाउने कि नपाउने भन्ने अवस्थामा अहिले त्यही ठाउँमा मलाई सम्मान हुँदैछ । मैले जीवनमा पाएको योभन्दा ठूलो उपलब्धि यो भन्दा के होला र ?

लागूऔषध दुव्र्यसनीलाई माया ममता जरुरी

अब विशेषतः घरपरिवार समस्यामा परेका मान्छेहरु यस्तै कुरामा फस्ने गर्दछन् । मलाई पनि कति जनाले भन्नुहुन्छ, लागूऔषध प्रयोग गरेर सडकमा पुगेको होला । तर मैले कहिल्यै लागूऔषधमा फसेको थिइँन । तैपनि दुव्र्यसनीमा जो हुनुहुन्छ कसरी सकिन्छ मोटिभेट गर्न सकिन्छ भनेर सुधार्ने प्रयास गरिरहन्थें । जतिपनि लागूऔषधमा फसेकाहरुलाई सुधार्न धेरै सुधार केन्द्रहरु छन् । सुधार केन्द्र भएर मात्र त्यो उपचारले मात्र हुँदैन, एउटा माया, स्नेह एकअर्काको परिवारको हौसला भयो भने मात्र सुध्रिन सक्छन् । उपचारका नाममा बिहानदेखि बेलुकासम्म यसो उसो थेरापी गर्न लगाइन्छ । त्यतिले मात्र पुग्दैन । एकअर्कामा काउन्सिलिङ, सम्झाउन सक्ने जनचेतनाको आवश्यकता पर्दछ । आजभोलि धेरै युवा साथीहरु एकदमै पढेलेखेका हुन्छन् । स्पष्ट वक्ता हुन्छन्, बोल्न सक्ने हुन्छन् । खाइसकेर छोडी सकेका मानिसले बढी काउन्सिलिङ दिएपछि बढी प्रभावकारी हुन सक्छ भन्ने लाग्छ ।

हिजोको दिनमा केही पनि गर्न सक्दिन कि, समाजलाई केही दिन सकिनँ भनेर हिजो म आफैं सडकमा बसेको मान्छे । सडक छाप खातेको उपनाम पाएकी थिएँ । त्यस्तो उपनाम पाउन कसैलाई रहर हुँदैन । सबैलाई राम्रो लाउन, मिठो खान मन लाग्छ । नयाँ नयाँ ठाउँमा घुम्न जान मन लाग्छ । उनीहरुको पनि त्यही आत्मा त हो नि ।

हिम्मत हार्नु हुँदैन, आत्मविश्वासका साथ काम गर्नुपर्छ

जति पनि जिन्दगीदेखि हारे पनि मैले केही गर्न सक्दिन कि के भन्न चाहन्छु भने जित्ने भन्ने ठूलो कुरा होइन । जतिकै धेरै पुरस्कार हासिल गरेका मान्छेहरु पनि कसैले उनीहरुको त्यो भ्यालु थाहा हुँदैन । कोही मानिस हारेर पनि प्रत्येकको मनमुटुमा बस्न सफल हुन्छ भने जित्नुभन्दा त ठूलो हिम्मत नहार्नु नै रहेछ नि त । जितेको मान्छे, उसलाई केही मतलब नै हुँदैन, हारेको मान्छेको सबै मन, भ्यालु छ भनेको कुरा बुझ्दा त त्यही ठूलो कुरो हो । यतिका ठूलो संसार छ, आफ्नै आकाशमा हेरिन्छ । कति धेरै ताराहरु देखिन्छ । माथिबाट हेर्दा कति धेरै देशहरु छन् त्यो भित्र नेपाल छ । नेपालभित्र शहर, शहरभित्रको गाउँ, गाउँभित्रको टोल, टोलभित्रको घर, घरभित्रको कोठा, कोठाभित्रको तपाइँ । तपाइँको समस्या पक्कै पनि ठूलो हुँदैन । समस्या हुन्छ, समाधान नहुनेका लागि हुन्छ । समस्या आयो भनेर कहिले पनि हरेस नखानु, किनकी सुख धेरै खुशी भयो भनेर नमात्तिनु । किनकी हिजो धेरै खुशी पाएर, धेरै माया पाएर म मात्तिएर बिग्रिएको थिएँ । हरेस खाएँ भनेर आत्मविश्वास नगुमाउनु । म यही भन्छु सबैलाई ।