२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलामा गुञ्जदै झुला गीत



अ+ अ-

महोत्तरी । मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो । अहिले मिथिला क्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् ।

साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने झुलाउत्सवमा सीता र राम एवं राधा र कृष्णका प्रतिमा झकिझकाउ झुला (डोली वा झोलुङ्गा, कोक्रो) मा राखेर झुलाइन्छ । झुला पर्वमा गाइने झुला, मलार र कजरी लयका गीत भक्तिरसले भरिएका हुन्छन् । कुनैमा राधाकृष्णको र कुनैमा रामसीताका प्रसङ्ग हुन्छन् । सबै गीतमा झुलाकै वर्णन हुन्छ ।

‘झुला झुले जनकदुलारी, 
झुले सुकुमारी ना….!’ यी पङ्तिमा सीताजी झुला झुलेको वर्णन छ । 
यसैगरी यस पर्वमा कैयन गीत र भजन गाइन्छन् । 
‘झुला झुले अवधविहारी लाल, 
सँगमे सुकुमारी झुले ना….! (श्रीराम झुला झुल्दैछन् , साथमा जानकी पनि झुल्दैछन् ) ।  

रामसीता, राधाकृष्णका प्रसङ्ग जोडिएका हुँदा यो पर्व भगवान विष्णु र देवी लक्ष्मीसँग सम्बन्धित रहेको मैथिली लोकसंस्कृतिका ज्ञाता बताउँछन् । राम कृष्ण दुबै विष्णुका र सीता, राधा लक्ष्मी स्वरुपा (अवतार) मानिने हिन्दू जनविश्वास छ । यसैले झुला पर्व विष्णुलक्ष्मी आराधना र सेवासँग सम्बन्धित रहेको मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर–५ पतैलीका बासिन्दा अवकासप्राप्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

झुला पर्वमा गाइने गीतमा अवध (अयोध्या), जनकपुरधाम र वृन्दावनका प्रसङ्ग पाइन्छन् । कृष्ण र वृन्दावन वर्णनका यी पङ्क्ति पर्वविशेषमा खुबै सुनिन्छन् ।

‘झुला लागल वृन्दावन ना….!, 
आयल सावन सयविसु सुहावन
झुला लागल वृन्दावन ना….
झुला झुले कृष्णमुरारी, 
झुला लागे कदमके डाली,
झुले कृष्णमुरारी ना….!’

(वृन्दावनमा झुला लागेको छ । अत्यन्त रमणीय (सुशोभित) साउन महिनामा वृन्दावनमा झुला लागेको हो । झुलामा कृष्णमुरारी झुल्दैछन् । कदम (कदम्ब, राम्रो पूmलको वृक्ष) का हाँगामा झुला (पिङ) लागेको छ । जसमा कृष्णमुरारी झुल्दैछन् ) ।

राम सीताको होस् वा राधा कृष्णको होस्, झुला पर्वको वर्णनमा उपवन (वन, बगैंचा) का आँप, कदम्ब वा यस्तै सुवासयुक्त वृक्षका हाँगामा झुला (पिङ्) भुण्ड्याइएको र त्यसमा आफ्ना प्रियतमा साथ राम, कृष्ण झुलेका गीतमा भाव समेटिएका छन् । साउनको बर्खाले जताततै हरियाली हुने बेला धान रोपाइँ सकेर बगैँचाका आँप, कदम्बलगायतका वृक्षका हाँगामा लच्कदै पिङ खेलिने मिथिला संस्कृतिसँग जोडिएको पक्ष रहेको प्रसिद्ध साहित्यकार डा। राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । झुला गीतमा साउनको वर्णन भने बाक्लै पाइन्छ ।

‘सावनमे उपवन खिले, 
झुला झुले नन्दकिशोर 
आमक डाइरमे  लागल
हिरोला झहरय नभ घनघोर  

(साउनमा वनभरि पूmल खिल्छन्, उपवन हराभरा हुन्छ । यसैबेला श्रीकृष्ण झुला झुल्छन् । आँपको हाँगामा मच्चिदा त्यहीबेला आकाशबाट जल वर्षा हुन्छ) आँपको हाँगा समातेर मच्चिदा पातमा जम्मा भएका बर्सात्को पानी झरेको प्रसङ्ग यहाँ कोट्याइएको छ ।)

साउनको पनि पछिल्लो शुक्लपक्ष मिथिलामा मुख्य बाली धान रोपेर सकिएपछिको समय हुन्छ । यतिखेर किसान मन्दमन्द पानी परिरहोस् भन्ने कामना गर्छन् । यसैबेला धानको रोपो हरियो फेरिएर लहलहाएको दृश्यले किसान आफ्नो मेहनतप्रति मख्ख पर्छन् । प्रकृतिले जताततै सुन्दरता बिखेरेको यो बेला रमाउन नै मैथिल (मिथिलाका बासिन्दा) आफ्ना इष्टदेवदेवी राम, कृष्ण एवं सीता, राधासँग खेलेको अनुभूति सँगाल्न झुला पर्वमा रमाउने गरेका जलेश्वरकै बखरीटोलका बासिन्दा तथा मिथिला लोकसंस्कृतिका ज्ञाता ८५ वर्षीय महेश्वर राय बताउनुहुन्छ ।

मिथिलाको यो लोकसंस्कृतिसँग जोडिएको खास पर्व बनेको छ । घरघरमै यो पर्व मनाइन्न । आफ्ना बस्ती नजिकका मठमन्दिरमा सामूहिक रुपमा भगवानलाई झुला झुलाउँदै मैथिल यो अवधिभरि गीत, भजनकीर्तन र नृत्यमा रमाउँछन् ।

पर्वमा नेपाल र भारतका मठमन्दिरमा सराबरी ओहोरदोहोर देखिन्छ । नेपालका भारतीय सीमा क्षेत्रका मठमा भारतीय र भारतकै सीमाक्षेत्र नजिकका बस्तीस्थित मठमन्दिरमा नेपाली भरिभराउ हुन्छन् । सीमाक्षेत्रका दुबैतर्फका भाषा, संस्कृति र समान रहनसहनसँगै बिहाबारीको बाक्लो सम्बन्धले अन्य मुलुकमा छु भन्ने कसैको सोचमै देखिदैन । अहिले पर्वका बेला मुलुककै मठहरुको नायक मानिने मटिहानीस्थित लक्ष्मीनारायण मठमा भारतका कैयौं मठमन्दिरका देवीदेवताका प्रतिमा झुला झुलाउनै ल्याइएका छन् ।

झुला उत्सवका लागि छुट्टै घर निर्मित गरिएको हुन्छ, जसलाई झुलाघर भनिन्छ । अहिले प्रत्येक साँझ सीता र राम, लक्ष्मी र नारायण एवं राधा र कृष्णका प्रतिमा मन्दिरबाट झुलाघरमा ल्याई विशेष रुपले सजाइएका कोक्रामा राखेर श्रद्धालुले भक्तिगीत गाउँदै हल्लाउने (झुलाउने) गर्छन् । साउन शुक्लपक्षका पछिल्ला १३  दिन मनाइने यो उत्सवका लागि वरपरका कैयन मठमन्दिरका प्रतिमा अहिले मटिहानी ल्याइएका छन् । प्रत्येक साँझ आयोजन हुने यो उत्सवमा सर्वसाधारण सरिक हुँदै आएका छन् ।

“हाम्रा परम्पराका अधिकांश पर्व आफ्नै घरमा मीठोमसिनो खाएर मनाइने छन् , तर झुला मठमन्दिरमै जम्मा भएर मनाइन्छ , यो हाम्रो विशेष पर्व हो” मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “हामीले पर्वका लागि बर्सेनि झुलाघर रङ्गरोगन, सरसजावट र अभ्यागत (पाहुना, अतिथि) बसोबासको प्रबन्ध गर्दै आएका छौंँ ।” पर्व अवधिभरि झुलाघरमा भगवान र भगवतीलाई झुलाइएपछि दैनिक आरती र भोग लगाइएको विशेष प्रसाद सबैलाई बाँड्ने गरिएको छ ।

यो पर्वमा देवीदेवतालाई विशेष डोली आकारको सिंहासनमा राखेर झुलाउने मुख्य विधि हो । खासमा बालरुप कृष्ण र रामको सम्झनामा यो पर्व परम्परा चलेको मिथिला लोकसंस्कृति तथा परम्पराका जानकार बताउँछन् । माता कौशल्या र यशोदाले राम र कृष्णलाई बालख छँदा झोलुङ्गोमा राखेर हल्लाउनु भएको प्रतीकका रुपमा यो पर्व परम्परा चलेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ । भगवानका बालरुप आनन्ददायक मानिने हुँदा श्रद्धालुले यो चलन बसालेका झाको भनाइ छ ।

झुलामा प्रतिमा राखेर झुलाइने क्रममा गीत, कथा र लीलासन्दर्भका गाथा सुनाइन्छन् । प्रतिमा झुलाउने क्रममा भक्तिमा डुबेका श्रद्धालु कीर्तन गाउँदै नाच्छन् । पर्वभरि झुलाघरमा उत्सवमा सहभागी हुनेको भीड लाग्छ । यो पर्व मटिहानीका अतिरिक्त जनकपुरस्थित मठमन्दिरमा आयोजन हुँदै आएका छन् । झुला उत्सवमा मिथिलाको  लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ ।

मिथिलामा झुला उत्सव जानकी मन्दिरका आदिसन्त सुरकिशोर दासले सुरु गराएको मानिन्छ । यो १७८७ सालतिर सुरु भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा। राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । सन्त सुरकिशोर दास र वैदेही (जानकी, सीता)बीच सिधा सम्पर्क हुन्थ्यो भन्ने जनविश्वास छ । सन्त सुरकिशोरलाई वैदेहीले साउन शुक्लपक्षमा यो पर्व मनाउन भनेपछि जनकपुरमा झुला सुरु भएको बताइन्छ । यो चलन रामजन्मभूमि अयोध्या र कृष्णको बाललीला स्थान मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको डा। विमलको भनाइ छ ।

मिथिलामा धानको रोपाइँ सकिनासाथ सर्वसाधारण झुला उत्सवमा रमाउने गर्छन् । यसैबेला मैथिल किशोरकिशोरी र युवायुवती बगैंचाबगैंचा डुल्दै आँप र कदम्ब (कदम) का हाँगामा मच्चिएर झुलाको आनन्द लिन्छन् । यसरी बगैंचामा वृक्षका हाँगामा मच्चिएर झुल्दै युवायुवती आआफ्ना प्रेमीप्रेमिकाको सम्झना गर्छन् ।

‘छल मनोरथ आओत मास सावन यो, 
हमर बालम किछु नई जानथी तेजी गेला विदेश यो 
साओन हे सखी सर्व सोहाओन फुलय बेलीचमेली यो, 
ताही सौरभ भ्रम लुबधल करय मधुर रस केली यो  
(मनमा थियो, साउन महिना आउनेछ । तर छलछाम केही नजान्ने मेरा प्रेमी अहिले मलाई) 

छाडेर विदेश गएका छन् । साउनको बेला हे सखी बेलीचमेली पूmल फुलेर सुशोभित देखिन्छ । यी पूmलको सुगन्ध युक्त बास्नाले भमरा लोभिएर पूmलको मिठासयुक्त रसमा लठ्ठिदा छन् ०साउन शुक्लपक्षमा विदेसिएका प्रेमीको सम्झना गर्दै मैथिल युवतीले यसरी बिरह पोख्छन् । मिथिलाको १३ दिने झुला उत्सव साउन पूर्णिमाको मध्यरातमा भगवानलाई झुलाइने कोक्राको डोरी छिनाएर समापन गरिने चलन छ ।

मिथिला लोकसंस्कृतिको केन्द्र रहँदै आएको जनकपुरधाममा सीताजीको विवाहमा राजा जनकले दिएका दाइजोका सामानको थुप्रो लागेर पहाडजस्तै बनेको जनश्रुति छ । जसलाई अहिले मणिपर्वत भनिन्छ । साउन शुक्लपक्षको त्रितीयाका दिन यसै मणिपर्वतको पूजा गरेर झुला उत्सव सुरु गर्ने मैथिल परम्परा छ । भगवत सेवा र सामिप्यता यस पर्वका खास आकर्षण रहेका मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्र दास वैष्णव बताउनुहुन्छ ।रासस