२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको छः अध्यक्ष दाहाल



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिदैँ अध्यक्ष दाहालले यस्तो भन्नुभएको हो ।

उहाँले विधेयकलाई सदनले अनुमोदन गरेको भन्दै यो सहमतीसँगै शान्ति प्रक्रियाले पूर्णता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले विधेयक पारित भएपछि परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो प्राप्त गर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाको आरम्भकर्ता माओवादी भएको उल्लेख गर्दै नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना भएको बताउनु भयो ।

अध्यक्ष दाहालले आफूले सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत पार्टी नै विभाजन भएको भएपति देशमा शान्ति स्थापन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक आज सदनले अनुमोदन गरेको छ । यो सहमतीसँगै शान्ति प्रक्रियाले पूर्णता पाउनेछ भन्ने विश्वास व्यक्त गर्न सकिन्छ र हजारौँ सहिदहरुको सपना पूरा हुने विश्वास पनि पैदा भएको छ ।

शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको छ । र अब हामीलाई परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो हामीले प्राप्त गरेका छौँ । २०६१ माघमा सेनाको सहयोगमा ज्ञानेन्द्रले मुलधारका दलहरुलाई समेत प्रतिवन्ध लगाएपछि मात्र ७ दलिय गठबन्धन माओवादी पार्टीसँग सहकार्य गर्न तयार हुने वातावरण बनेको ऐतिहासिक तथ्य हामी सबैलाई थाहा छ ।

यसअर्थमा माओवादी पार्टी नै नेपालको शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता हो भन्न दुविधा मान्नुपर्ने कहीँ ठाउँ छ भन्ने मलाई लाग्दैन । विश्वका कतिपय युद्धहरु कि त हारमा कित सम्पूर्ण रुपमा जितमा । विश्वकै अनुपम शान्ति प्रक्रियाको रुपमा रहेको छ । सेना समायोजन र हतियार व्यवस्थापनको कुरा जोखिमपूर्ण थियो ।

मैले सेना समायोजन गरे वापत्, मैले हतियार व्यवस्थापनको नेतृत्व गरेवापत् मेरो पार्टी विभाजित भयो । त्यसले निकै ठुलो जटिलता पार्टीले बेहोर्नुपर्यो । देश बच्यो । शान्ति स्थापित भयो । मलाई गर्व छ । शान्ति सम्झौताको जगमा आज नेपाल लैङ्गिक तथा सामाजिक समावेशिकरणको संवैधानिक व्यवस्थाका हिसाबले विश्वको सबभन्दा प्रगतिशिल व्यवस्थाको रुपमा स्थापित भएको छ ।’

अध्यक्ष दाहालले माओवादी जनयुद्धलाई कतिपय नेताहरुले हिंसात्मक द्वन्द्व भन्ने गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले जनयुद्ध शब्दलाई संविधान सभाले समेत स्वीकार गरेको भन्दै यसबाट पछाडी नफर्किन आग्रह गर्नुभयो । उहाँले संविधान संशोधनको नाममा सिमित वर्ग, सिमित क्षेत्र, भुगोल या समूहको स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न लागिएको आशंका भएको बताउनु भयो ।

उहाँले सुशासनको गति रोकिनेमा प्रश्न उब्जिएको बताउनु भयो । त्यस्तै बहुदलिय प्रतिष्पर्धाको ठाउँमा दुई दलिय बनाउने कोशिस हुनेमा पनि प्रश्न उब्जिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘अहिले पनि नेताहरु बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जालाजस्तो गर्नुहुन्छ । जबकी संविधान सभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ । यदि जनयुद्ध विशुद्ध ध्वसांत्मक मात्रै हुन्थ्यो । गैर वैचारिक र गैर राजनीतिक हुन्थ्यो भने संसारमै मोडेल शान्ति प्रक्रिया भनेर आज हामीले जे भनिराखेका छौँ, गर्व गरिराखेका छौँ । त्यो सम्भव हुने थिएन । त्यसैले अहिलेको आवश्यकता हामी पछाडी फर्किने होइन ।

संविधान संशोधनको नाममा या राजनीतिक स्थिरताका नाममा फेरि केही सिमित वर्ग, केही सिमित क्षेत्र, भुगोल या समूहको स्वार्थमा शासन प्रणाली सञ्चालन गर्ने होइन । अहिलेको आवश्यकता यि उपलब्धिहरुलाई रक्षा गर्दै नेपाली समाजका सबै विभेद अन्त्य गर्दै अघि बढ्ने हो । तर कताकता पछिल्ला कतिपय राजनीतिक घटनाक्रमले यसमा शंका उत्पन्न हुने स्थिति बनेको छ । सुशासनको गति रोकिने त होइन भन्ने प्रश्न खडा भएको छ । बहुदलिय प्रतिष्पर्धाको ठाउँमा कहीँ दुई दलिय बनाउने कोशिस हुने त होइन भन्ने प्रश्न खडा भएको छ ।’

अध्यक्ष दाहालले शान्ति प्रक्रियाको सुरुवात्मा आफ्नो साझेदारको रुपमा रहेको भन्दै नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईराला र तत्कालिन सात दलको समेत स्मरण गर्नुभयो । उहाँले अझै पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै कार्यान्वयन गर्न पनि सबै दलहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।