३१ श्रावण २०८३, आईतवार
,
Latest
जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन



अ+ अ-

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् ।

गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरु अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् । सहकारीमार्फत महिलालाई आयआर्जनसँग जोड्न जैमिनी नगरपालिकाले रु १० लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले रु छ लाख, कृषि ज्ञान केन्द्रले रु दुई लाख ५७ हजार र गण्डकी प्रदेश सरकारले रु एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि उत्साहित भइ उत्पादनमा लागेका महिलालाई अहिले बजारको चिन्ताले पिरोलेको छ ।

सहकारीकै भवनमा उद्योग सञ्चालन गरेका महिलाले बाँको, सिस्नो प्रशोधन गर्दै आएका छन् । रुद्रताल सामाजिक महिला सहकारीका कोषाध्यक्ष तारादेवी पुनका अनुसार पाँच सय ५० जना महिला आबद्ध भइ सहकारीमार्फत उत्पादनमा जुटेका थिए ।

सुरुमा उत्पादनले राम्रो बजार पाएको थियो । अहिले बजार नपाउँदा कुहिने समस्या भएको पुनले बताउनुभयो । सिस्नोको पाउडर एक वर्षसम्म नबिग्रिए पनि आलु चिप्स एक महिनामै खान नमिल्ने हुँदा घाटा भएको उहाँको भनाइ छ ।

नगरपालिका तथा अन्य निकायले बजारको व्यवस्थापन गरी दिए गाउँका सयौँ महिला स्वरोजगार बन्ने उहाँ बताउनुहुन्छ । मेला महोत्सव लाग्दा महिलाहरुले सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक तथा अन्य स्थानीय उत्पादन ‘स्टल’मै राखेर बिक्री गरिएको थियो ।

“गाउँमै केही गरौँ भनेर दिदीबहिनी मिलेर घरेलु उद्योग सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थाल्यौँ, सुरु–सुरुमा राम्रो पनि भयो, तर अहिले हाम्रो उत्पादनले बजार पाउन सकेको छैन”, पुनले भन्नुभयो, “बजार पाएन भने बिग्रिने र म्याद सकिने हुन्छ, अहिले हामीहरुले उत्पादन गर्नै छोडेका छौँ ।”

महिलाहरुले रु २० लाख लगानीमा उद्योग सुरु गरेका थिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारीकरणमा सहजीकरण गरिरहेको बताउनुभयो । अहिले बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा बजारीकरणमा समस्या भएको र नगरपालिकाले यसै वर्षदेखि कृषि एम्बुलेन्स खरिद गरी उत्पादित वस्तु बजारमा पुर्‍याउन सहयोग गर्ने उपप्रमुख शर्माले बताउनुभयो । रासस