१४ मंसिर २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको चीन भ्रमणः बिआरआइमा नयाँ फ्रेमवर्क, झापा र डडेल्धुरालाई एक एक उपहार एनपीएलको तयारी पूरा : क्यान , उद्घाटन खेल जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्ने स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यी बिच भेटवार्ता मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने कर्णाली याक्सबाट खेल्न शिखर धवन नेपाल आइपुगे रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ जनकपुर बोल्ट्सको डेकोर पार्टनरमा नेपोभिट टायल्स ‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्‍याउनेलाई कारबाही’ काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा पाँच टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दर्भ विश्व हात्ती दिवस : झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि



अ+ अ-

बनियानी, (झापा) । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार २०७५ सालमा १०–१२सङ्ख्यामा हात्ती रहेकामा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ ।

“भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “आहाराकै लागि हात्तीको बसोबास बढेको छ ।” गत वर्ष सुक्ष्म रूपमा अध्ययन गर्दा हात्तीको सङ्ख्या वृद्धि भएको पाइएको उहाँको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।

जिल्लामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको उहाँको भनाइ छ । “यसअघि कहिलै नपुग्ने ठाउँमा हात्ती पुगिरहेको छ”, उहाँले भन्नुभयो, “महिनैपिच्छे फल्नेगरी मकैखेती हुन थालेको छ, यसले गर्दा हात्तीको उपद्रव बढेको छ ।”

हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ । हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईले बताउनुभयो ।

मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि विशेष गुरुयोजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “हात्ती नियन्त्रणका लागि गुरुयोजना छैन, तीनै तहको सरकारले यस विषयमा विशेष ध्यान दिन जरुरी छ ।”

हात्ती समस्या कम गर्नका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उहाँले बताउनुभयो । हात्ती समस्या कम गर्नका लागि प्रदेशभरिको योजना निर्माण भइरहेको सुनाउँदै उहाँले भन्नुभयो, “हात्ती प्रभावित क्षेत्रको पहिचान गरी स्थानीयवासीको सामूहिक बिमा, बाली बिमा, भौतिक संरचनाको बिमा गर्न सकिए मानिस ढुक्क भएर बाँच्ने वातावरण हुने थियो ।”

हात्तीले छावा जन्माउने–हुर्काउने कार्य गरिरहेको पनि जिल्लामा परम्परागत हात्तीको सङ्ख्या वृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले बताउनुभयो । गत वर्ष तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सञ्चालन गर्नुभएको हात्ती प्रभावित क्षेत्रमा गर्नुभएको पदयात्राका क्रममा स्थानीयवासीले हात्तीले बच्चा जन्माएको, छावासहित हिँडिरहेको बताएको उहाँले सुनाउनुभयो ।

हात्तीलाई जङ्गलभित्रै राख्ने प्रयास

हात्तीलाई वनजङ¬्गलभित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन् । जिल्लाका विभिन्न वन परिसरमा गत वर्षमात्रै जङ्गलमा आठवटा हात्ती आहाल निर्माण गरिएको छ । वनक्षेत्रमा हात्तीले मन पराउने नौ हजार नौ सय ६९ वटा बाँस र छ हजार हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । वनमा केराका बिरुवासमेत रोपिएको छ ।

जिल्लामा आर्थिक वर्ष २०६७-६८ देखि आव २०८०र८१ सम्म ६७ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छभने २१ हात्तीको मरेका छन् । मृत्यु भएका मानिसमध्ये सातजना गैरनेपाली छन् । सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई रु नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका परम्परागत हात्तीमध्ये १० को नामकरण गरिएको छ । जिल्लामा रहेका हात्तीको सुनौलो दाँते जग, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रङ्गे गज नामकरण गरिएको छ । रासस