५ पुष २०८२, शनिबार
,
Latest
साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेतीको बाढीले निग्माको बिचल्ली



अ+ अ-
लेखनाथ । सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै हुनुहुन्थ्यो । उहाँको एकमात्र साहारा ३१ वर्षीय श्रीमान् प्रेम शेर्पा दुई वर्षदेखि बेखबर हुनुुहुन्छ ।
“छोरी पेटमै हुँदा रोजगारीका लागि साउदी अरब जानुभएको हो । तर गएकै समयदेखि फोन सम्पर्क छैन, सुनेकी छु विदेशमा अर्की श्रीमती लिएर बस्नुभएको छ”, निग्माले भन्नुभयो, “मजदुरी गरेर छोरी पाल्दै आएकी थिएँ, भएको एउटा बास पनि सेती बाढीले बगाइदियो, भाग्यले ज्यान जोगायाँै, अब छोरीबाहेक मेरो कोही रहेन ।”
सेती नदीमा गत असार २२ गते आएको बाढीले पोखरा–१४ स्थित गस्ती टोलका निग्मासहित ३९  परिवारको घर बगाइदिएको छ । ती परिवारको २५ दिनदेखि त्रिपालमुनिको बास छ । तीमध्ये केही परिवार आफन्तकहाँ बस्दै आएका छन् ।
“पतिले त छाड्नुभयो, बस्दै गरेको बास पनि बगायो कस्तो दु:ख आइलाग्यो”, शेर्पाले भन्नुभयो, “मजदुरी गरेर पेट पाल्दै आएकी थिएँ, त्यो पनि अहिले छैन, बास पनि छैन, डेढ वर्षकी छोरी लिएर त्रिपालमुनि बस्नुपरेको छ, वर्षा हुँदा सुत्ने र खाना पकाउने ठाउँमा पोखरी बन्छ”, शेर्पाले भन्नुभयो, “राति बादल मडारिँदा बाढीले बगाउने हो कि भन्ने डर लागिरहन्छ, यस्तो दु:ख मैले कहिलेसम्म भोग्नुपर्ने हो ? ।”
प्रेमसँग प्रेम विवाह गर्नुभएकी निग्माले भन्नुभयो, “विवाह गर्दा सुखसँग बाँच्ने सपना देखेकी थिएँ । तर विवाह गरेको दुई तीन वर्षमै वर्षमै यस्तो दु:ख भोग्नुपर्‍यो ।” धादिङबाट पोखरा आएर बस्नुभएकी निग्माको प्रेमसँग पोखरामा भेट भएपछि दुवैबीच प्रेम विवाह भएको थियो । निग्माका वृद्ध बुवा राम श्रेष्ठ पनि सोही टोलमा ३० वर्षदेखि बस्दै आउनुभएको छ ।
“बिहान बेलुकाको खाना विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगबाट चल्दै आएको छ, त्रिपाल पनि संस्थाले नै उपलब्ध गराएको हो, त्रिपाल राखेर बस्दै गरेको जग्गा पनि सरकारको कृषि कार्यालयअन्तर्गतको रहेको र त्यो कार्यालयले त्यहाँबाट हट्न भनेको छ, अब कहाँ गएर बस्ने हो, थाहाँ छैन”, शेर्पाले भन्नुभयो । जग्गा पाइहाले पनि घर बनाउन सक्ने उहाँको अवस्था छैन ।
शेर्पा मात्र हैन यहाँका ३८ परिवारको दु:ख उस्तै छ । गस्ती टोलकै २९ वर्षीया यमकुमारी मगरको पीडा पनि कम्ता छैन । सेती नदीको बाढी घरमै आउन थालेपछि लत्ताकपडा र भाँडाकुँडा लिएर भाग्दै सुरक्षित ठाउँमा आएको पाँच जनाको परिवार पनि त्रिपालमुनि बस्दै आएको छ । मजदुरी गरेर खाने यो परिवारलाई बिहानबेलुकाको छाक टार्नै मुस्किल छ ।
“पति मजदुरी गर्नुहुन्छ । मैले तीन बालबच्चाको स्याहारसुसार गरेर बस्दै आएकी थिए ।  तर ३० वर्षदेखि बस्दै आएको घर बाढीले बगाइदिएपछि बिचल्ली भएको छ, पतिले मजदुरी गर्न जान पाउनुभएको छैन, सधँै सङ्घसंस्थाको सहयोग पाइँदैन”, मगरले भन्नुभयो, “बाससम्मको व्यवस्था भयो भने मजदुरी गरेर खान्थ्यौँ ।”
बाढीबाट विस्थापितमध्ये सुस्मा श्रेष्ठ तामाङकै घरमा शरण लिएर बस्दै आउनुभएको छ । सुस्मा ६ महिना र दुई वर्षका दुई छोरा लिएर तामाङको घरमा शरण लिएर बस्नुभएको छ । विस्थापित ३९ परिवारलाई त्रिपालको व्यवस्था ‘असल छिमेकी’ संस्थाले गराएको हो । उक्त टोलका अधिकांश परिवार बालुवा बोक्ने काम गर्दै आएका थिए । रासस