काठमाडौं । कारोबारको दोस्रो दिन सोमबार शेयर बजार ५६ दशमलव ७२ अंकले उकालो लागेको छ । सोमबारको कारोबारमा नेप्से परिसूचक २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार २ हजार २२ दशमलव ७३ विन्दुदेखि खुलेको बजार निरन्तर बढेर बन्द भएको हो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव शून्य ४ अंक बढेर ३८८ दशमलव १६ विन्दुमा पुगेको छ ।
यो दिन कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ । आइतबार रू. ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार बराबरको ९० लाख ५० हजार १६ कित्ता शेयर कारोबार भएको थियो । सोमबार भने रू. ७ अर्ब २० करोड ४१ लाख ३६ हजार बराबरको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर कारोबार भएको छ । उक्त रकम र कित्ताको शेयर कारोबार २०२ ओटा कम्पनीको ५७ हजार ८७ पटकको व्यापारमा भएको हो ।
सोमबारको बजारमा जलविद्युत् बाहेकका सबै समूहका लगानीकर्ताहरुले कमाएका छन् । यो दिन कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक १ दशमलव २१ प्रतिशत घटेको हो । उच्च दोहोरो अंकले बढेको सोमबारको बजारमा ४२ कम्पनीको शेयरमूल्य घटेको छ । यस दिन लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य सर्वाधिक ५ दशमलव ७८ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. २२८ मा झरेको हो । त्यस्तै यो दिन युनिलिभर नेपालको शेयरमूल्य पनि ४ दशमलव ९५ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजारले घटेर अन्तिम मूल्य रू. १९ हजार २०० कायम भएको हो ।
सोमबार प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले र १४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यो दिन व्यापारिक र जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । व्यापारिक समूहको परिसूचक सोमबार ८ दशमलव ३२ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ८ दशमलव १९ प्रतिशतले उकालो लागेको हो ।
त्यस्तै बैंकिङको १ दशमलव ४९ प्रतिशत, होटलको १ दशमलव ८२ प्रतिशत, विकास बैंकको २ दशमलव ६१ प्रतिशत, वित्तको शून्य दशमलव ३८ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ९३ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव २ प्रतिशत, अन्यको ३ दशमलव ७८ प्रतिशत, लघुवित्तको ४ दशमलव ४३ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ३५ प्रतिशत परिसूचक बढेको छ ।
आइतबार देखिनै सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको स्थान ओगटेको नेपाल लाइफ इन्स्योरेन्सले सोमबार पनि सो स्थान कायम गरेको छ । यस दिन नेपाल लाइफको रू. ७४ करोड ३९ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि ९ दशमलव ९८ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. २०३ ले मूल्य वृद्धि भएको उक्त कम्पनीको सोमवार अन्तिम मूल्य रू. २ हजार २३८ पुगेको छ । सोमबार उक्त कम्पनीको न्यूनतम रू. २ हजार ९९ देखि अधिकतम रू. २ हजार २३८ को मूल्यमा शेयर खरीदविक्री भएको छ ।