तेहरान। इरान र संयुक्त राज्य अमेरिकाबिचको युद्ध अन्त्य गर्ने मध्यस्थता प्रक्रियाको एक भागको रूपमा कतारको प्रतिनिधिमण्डल आइतबार तेहरान आइपुगेको इरानी मिडिया र एक कूटनीतिज्ञले पुष्टि गरेका छन् ।
इरानको समाचार एजेन्सी आइएसएनएले कतारका विदेशमन्त्रीका सल्लाहकारलाई कुटनीतिक वार्ताको पहल गर्न इरान पठाइएको जनाएको छ । इरानको अर्को समाचार एजेन्सी तस्निमले यो भ्रमणको उद्देश्य ‘कूटनीतिक प्रक्रियाका पछिल्ला घटनाक्रमलाई हेर्ने’ रहेको बताएको छ ।
कतारी वार्ताकार आज बिहान तेहरानतर्फ उडेका एक कूटनीतिज्ञले एएफपीसँग बताउनुभयो । नाम नबताउने सर्तमा ती कूटनीतिज्ञले भने, “प्रतिनिधिमण्डलले सम्झौतालाई अन्तिम रूप दिन सहयोग पुर्याउन इरान भ्रमण गरेको हो ।”
महिनौँदेखि जारी मध्यपूर्व युद्ध अन्त्यका लागि मध्यस्थताको नेतृत्व गर्दै आएको पाकिस्तान र संयुक्तराज्य अमेरिकाले आइतबार द्वन्द्व अन्त्यका लागि सहमतिमा हस्ताक्षर हुने सङ्केत गरेका छन्, यद्यपि, तेहरानले त्यो समयलाई लिएर शङ्का व्यक्त गरेको छ र इरानी मिडियाले फ्रेमवर्कमा अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन् । रासस/एएफपी











