• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

चौतर्फी दबाबपछि अमेरिकी राष्ट्रपति दौडबाट पछि हटे बाइडेन, कमला ह्यारिसलाई समर्थन



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन दोस्रो कार्यकालका लागि चुनावी दौडबाट अचानक पछि हटेका छन् ।

बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने घोषणा गरेका हुने । उनले राष्ट्रपति चुनावको उम्मेदवारमा आफ्नै पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् ।

बाइडेनले अमेरिकी नागरिकलाई सम्बोधन गर्दै एक्समार्फत जारी गरेको विज्ञप्तिमा आगामी नोभेम्बरमा हुने निर्वाचनको दौडबाट आफू पछि हटेको उल्लेख गरेका छन् । ‘राष्ट्रपतिका रूपमा तपाईंहरूको सेवा गर्न पाउनु मेरा लागि सबैभन्दा ठूलो सम्मान हो । मेरो पुनर्निर्वाचित हुने चाहना हुँदाहुँदै पनि म चुनावी प्रतिस्पर्धाबाट पछि हटेर बाँकी कार्यकालको जिम्मेवारी केन्द्रित हुनु पार्टी र देशको हितमा हुने मलाई विश्वास छ,’ बाइडेनले भनेका छन् ।

साथै उनले आफ्नो साढे तीन वर्षको कार्यकालमा मुलुकले उल्लेख्य प्रगति गरेको दाबीसमेत गरेका छन् । त्यस्तै बाइडेनले कोभिड महामारी र त्यसका कारण सिर्जित आर्थिक संकटबाट मुलुकलाई बाहिर ल्याएको र लोकतन्त्रको रक्षा गरेको समेत उल्लेख गरेका छन् । उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिसलाई पूर्ण रूपमा समर्थनसहित सहयोग गर्ने उल्लेख गरेका छन् ।

‘२०२० मा उपराष्ट्रपतिको उम्मेदवारमा कमला ह्यारिसलाई पार्टीका तर्फबाट छनोट गर्ने मेरो जीवनकै उत्कृष्ट निर्णय थियो, आज फेरि म उनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा पूर्ण सहयोग र समर्थनसहित अनुमोदन गर्छु ।’ डेमोक्रेटिक पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनले ह्यारिसको उम्मेदवारी अनुमोदन गर्नेछ ।

८१ वर्षीय बाइडेन हाल कोभिड संक्रमणको उपचार गराइरहेका छन् । बाइडेनको उमेर र स्वास्थ्यलाई लिएर स्वयं उनकै पार्टीभित्र पनि प्रश्न उठ्दै आएको थियो । उनले आफ्नो निर्णयबारे जानकारी दिन आउने साता राष्ट्रका नाममा सम्बोधन गर्नेसमेत जनाएका छन् ।

राष्ट्रपतिका अर्का उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्पसँगका दुई वटा चुनावी बहसमा फितलो प्रस्तुति दिएको भन्दै डेमोक्रेटिक पार्टीभित्रै चर्को आलोचना भएको थियो । ती चुनावी बहसपछि पार्टीभित्र राष्ट्रपतिको उम्मेदवारमा विकल्प खोज्नुपर्ने माग सुरु भएको थियो ।

अमेरिकामा बहालवाला राष्ट्रपतिले दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नउत्रिएको यो दोस्रो पटक हो । यसअघि सन् १९६८ मा लिन्डन जोनसनले पनि दोस्रो कार्यकालका लागि चुनावमा भाग लिएका थिएनन् ।

पूर्वराष्ट्रपति ट्रम्पले त बाइडेनप्रति तिखो आलोचना गर्दै आएका छन् । बाइडेनको चुनावी दौडबाट पछि हट्ने निर्णय सार्वजनिक भएलगत्तै ट्रम्पले अमेरिकी सञ्चार संस्था सीएनएनलाई प्रतिक्रिया दिँदै बाइडेनलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिएका छन् ।

गत साता पेन्सलभेनिया राज्यमा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनको कानमा चोट लागेको थियो । विभिन्न सर्वेक्षणले राष्ट्रपतिको दौडमा ट्रम्पलाई बाइडेनको तुलनामा निकै अगाडि देखाएका थिए । पेन्सलभेनिया घटनापछि सर्वेक्षणहरूले ट्रम्पलाई थप बलियो देखाएका छन् ।