काठमाडौं । दोलखा भीमेश्वरको सिलामा पसिना आएको छ ।
सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रुपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ ।
शनिबार दिउँसो १:४७ देखि सिलाको बायाँ भागबाट निरन्तर पसिना बगिरहेको भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठले जानकारी दिए ।
पसिना आएको खबर पछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ । मानिसहरु मन्दिरभित्र पसेर घण्ट बजाइरहेका छन् ।
सिलामा पसिना आउँदा अनिष्टको सूचकका रुपमा लिने जनविश्वास छ ।
सिलाको पसिनालाई सेतो कपासले पुछ्ने चलन छ । पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्र प्रमुख र सर्वसाधारणलाई पठाईने गरिन्छ । कपास राख्दा रोगब्याधी नलाग्ने, चिताएको कुरा पुग्ने विश्वास गरिन्छ ।