२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्रागन फ्रुट बिक्रीबाट वार्षिक रु १६ लाख आम्दानी



अ+ अ-
तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष रु १६ लाख आम्दानी गर्नुभएको छ । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उहाँले रु १६ लाख आम्दानी गर्नुभएको हो ।
ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताउनुभयो । ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
“मासिक रु २० हजार बुझाउने सम्झौता अनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक रुपमा खेती गर्दै आएको छु”, गौलीले भन्नुभयो । अघिल्लो वर्ष रु १६ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यस वर्ष फल राम्रो लागेकाले रु २० लाख बराबरको बिक्री हुने अपेक्षा गरेको छु ।”
“वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्नलायक हुन्छ”, उहाँले भन्नुभयो, “असारदेखि मङ्सिर छ महिनासम्म फल टिप्न सकिन्छ ।” यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ ।
अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताउनुभयो । बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । “ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन् । उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ”, उहाँले भन्नुभयो ।
गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन् । उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम रु पाँचसयदेखि रु सात सयसम्म बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो ।
अवलोकनको रुपमा विकास हुँदै 
पछिल्लो समय गौलीको फार्म अवलोकन केन्द्रका रुपमा विकास हुँदै गएको छ । विद्यालय र कलेजका विद्यार्थी, शिक्षक तथा स्थानीय अवलोकन गर्न यहाँ आउने गरेका छन् ।
ड्रागन फ्रुटका बारेमा जानकारी लिन सरकारी कार्यालयका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसमेत फार्ममा आउने गरेका किसान गौलीले  बताउनुभयो । “फार्ममा ड्रागन फ्रुट पाकेको समयमा मानिसलाई भित्र पस्न दिने गरे पनि अन्य समयमा रोक लगाउने गरिएको छ”, उहाँले भन्नुभयो ।