• ११ भाद्र २०८१, मंगलवार
  •      Tue Aug 27 2024
  •   Unicode
Logo
Latest
★   नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि: गृह मन्त्रालयबाट भ्याकेट निवेदन दर्ता ★   कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ १६ गते बस्ने ★   साफ यु–२० च्याम्पियनसिपको उपाधि उचाल्न नेपाल र बङ्गलादेश दुबै तयार ★   ओमानका विदेश मन्त्री स्वदेश प्रस्थान ★   ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशलः नेपाली दूतावास ★   कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन  ★   माओवादी पार्टी काँग्रेस र एमाले भन्दा फरक हो भन्ने पुष्टि गरेका छौँ: वर्षमान पुन ★   प्रमुख प्रतिपक्ष दलका नेताले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभयो: काँग्रेस सांसद खतिवडा ★   एकीकृत समाजवादीको पधाधिकारी चुन्न मतदान जारी ★   प्रचण्डले एक हिसावले राजनीतिबाट सन्यास लिनुभयो: प्रमुख सचेतक बर्तौला

तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द



तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो ।

असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो ।

“संस्थाका चार र बाहिरबाट नौजना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्”, व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “सम्भव भएसम्म पुरिएका पाइप खोजी पुन: प्रयोग गर्ने र क्षति भएका पाइपमा नयाँ जडान गर्ने काम भइरहेको छ ।”

डाँडा माथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जिआई र एचडिपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको जानकारी दिनुभयो । नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उहाँले बताउनुभयो ।

लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसमलगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । सानाठूला गरी चार आयोजनाबाट पानी सङ्कलन गरी व्यास–१ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो ।

खिरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । “छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानका पानी प्रयोग गर्दा प्रतिसेकेन्ड १५ लिटर सङ्कलन हुँदै आएको थियो । अहिले पानी सङ्कलनमा समस्या भएपछि वितरण बन्द भएको हो”, उहाँले भन्नुभयो ।

यसअघि बिहान र बेलुका दुई/दुई घण्टा पानी वितरण हुँदै आएकामा पानीको स्रोत घटेकाले समय पनि घटाइएको अध्यक्ष दरैले बताउनुभयो । “खिरखाँदी मुहानको पानी नियमित सङ्कलन नहुँदासम्म आपूर्तिमा सहज हुने देखिएको छैन”, उहाँले भन्नुभयो । रासस

उक्त मुहानको पानी पूर्ण रुपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएकाले फारो गरेर पानी प्रयोग गर्न खानेपानी उपभोक्ता समितिले सबैलाई अनुरोध गरेको छ ।