९ श्रावण २०८३, शनिबार
,
Latest
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक



अ+ अ-

म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् ।

घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्याङ्क तथा विवरण राख्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार तीन सय ७४ वटा सवारी साधनमार्फत चार लाख २७ हजार दुई सय ७१ जना पर्यटक भित्रिएका जानकारी दिनुभयो ।

तीन लाख १८ हजार आठ सय १४ जना आन्तरिक, ९९ हजार दुई ७६ जना सार्क राष्ट्रका र नौ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा ६२ हजार तीन सय ४० वटा सवारी साधनमार्फत तीन लाख ७९ हजार सात सय ६७ जना पर्यटक मुस्ताङ आएका थिए । जसमध्ये आन्तरिक पर्यटक तीन लाख तीन हजार आठ सय जना र विदेशी ७५ हजार नौ सय ६७ जना रहेका थिए ।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तव्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

मुस्ताङ भित्र्ने विदेशी पर्यटकको ठूलो सङ्ख्या भारतीयको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थल छन् ।

सार्कमुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने उहाँले बताउनुभयो । रासस