११ मंसिर २०८१, मंगलवार
,
Latest
यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल कालीगण्डकी नदी किनारमा शव भेटियो दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार पन्तले गरे रास्वपाकी रोजिनालाई समर्थन उपाधि दावेदारका रुपमा ‘कर्णाली याक्स’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेटिएनन् ५७ यात्रु, सिमलतालमा आफन्तको बिलौना



अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर चार दिनअघि (शुक्रबार) त्रिशूली नदीमा हराइरहेकामध्ये अहिलेसम्म पाँच वटा शव मात्र फेला परेका छन् । शनिबार दुई र हिजो (आइतबार) तीन शप फेला परेका हुन् । बाँकी ५७ जनाको अवस्था अझै अज्ञात छ ।

घटनास्थलभन्दा ५० किलोमिटर तल गैंडाकोटदेखि गोलाघाट क्षेत्रमा ती शव फेला परेका हुन् । गण्डक नहरमा दुई र सुस्तामा एक शव फेला परेका छन् । तर ती शवको पहिचान भएको छैन ।

चितवन प्रशासनले आइतबार नयाँ विवरण सार्वजनिक गर्दै काठमाडौंदेखि गौर जाँदै गरेको बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ जना यात्रु रहेको जनाएको छ । जसमा तीन यात्रु पौडिएर बाँच्न सफल भए पनि दुई बस र बाँकी ५७ यात्रु भने चार दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । सनाखत भएका पाँच शव आफन्तले बुझिसकेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हराईका दुई बससँगै यात्रुको खोजी जारी रहेको बताए । आज पनि बिहानैदेखि खोजी गरिने उनको भनाइ छ । घटनास्थल आसपास खोजी कार्यमा संलग्न सशस्त्र प्रहरीको गोताखोर टोली र सेनाको टोलीले बसको एक थान पर्दा र बच्चाको ट्राउजर मात्र फेला पारेको छ । बस घटनास्थल नजिकै रहेको संकेत मिलेको भन्दै प्रजिअ यादवले सोमबार गोताखोर पानीभित्रै गएर खोजी गर्ने बताए । हराइरहेका यात्रुका आफन्त धमाधम सिमलताल क्षेत्रमा आएर बिलौना गरिरहेका छन् । उनीहरूले घटनास्थलमा भएको उद्धार सुस्त र प्रविधियुक्त नभएको भन्दै आफन्त भेटिनेमा आशंका व्यक्त गरिरहेका छन् ।

अहिलेसम्म फेला परेकामध्ये अधिकांश शव बालुवाले शरीरको भाग पुरेको अवस्थामा छन् । नदीको बहाव कम हुँदै जाँदा शव फेला पर्न थालेका हुन् । प्रहरीका १५ वटा टोली खोजीका लागि गोलाघाटसम्म खटिएका छन् । सेनाका तीन टोली र सशस्त्रको एउटा मोटरबोट, सातवटा र्‍याफ्टिङ बोटसहित १५ टोली खटेका छन् ।

हराएका यात्रुका आफन्तले विदेशबाट गोताखोर मगाएर भए पनि खोजी गर्न माग गरिरहेका छन् ।