१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान

पुरानो घर सजाए, पर्यटकलाई लोभ्याए

पुरानो घर सजाए, पर्यटकलाई लोभ्याए
अ अ+ अ-

गण्डकी । फेवाताल सिरानको हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ निरबाने गाउँ । प्रकृतिको काखमा सजिएको निरबाने आफैमा चित्रमय लाग्छ । ताल, हिमाल, खोलानाला र वनपाखा त्यहाँका आकर्षण हुन् । त्यही गाउँको बीचमा छ ५३ वर्ष पुरानो एउटा ढुङ्गेनी घर । जहाँ ३८ वर्षीय लक्ष्मण पराजुली सपरिवार बस्नुहुन्छ ।

विसं २०६८ तिरको कुरा हो । वैदेशिक रोजगारीका लागि उहाँ दुबई पुग्नुभयो । नौ वर्ष उतै बिताउनुभयो । काम र कमाई ठिकै थियो । एक्कासि उहाँले दुबई त्यागेर घर फर्कने निधो गर्नुभयो । “बाह्र घण्टा कामको बोझ र तनाव सहन कठिन भएपछि गाउँमै केही गर्ने सोच लिएर स्वदेश फर्के”, उहाँले भन्नुभयो, “गाउँ आएपछि बुबाले बनाएको पुरानो घरलाई प्रबलीकरण गरेर क्याम्पिङ र ‘होमस्टे’ व्यवसाय सुरु गरेँ ।”

विसं २०७६ मा नेपाल फर्कनुभएका पराजुलीले सोही वर्षदेखि पर्यटन व्यवसायमा हात हाल्नुभयो । सुरुमा विदेशी पर्यटकलाई लक्षित गरी क्याम्पिङ सेवा सुरु गर्नुभयो । “खर्चिला र सौखिन पर्यटक बस लिएर क्याम्पिङका लागि हामीकहाँ आउँथे, कोभिड महामारीपछि त्यसमा कमी आयो अनि होमस्टेतिर लागेँ,” उहाँले सुनाउनुभयो । होमस्टे पनि उहाँले कोभिडकालमै सुरु गर्नुभयो ।

विसं २०७८ देखि सञ्चालनमा आएको घरबास ९होमस्टे० अहिले आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय बनेको छ । ‘ढुङ्गे घर लेक भ्यू क्याम्पिङ एन्ड होमस्टे’ सेवामार्फत उहाँले पाहुनालाई लोभ्याइरहनुभएको छ । विसं २०२८ मा उहाँका बुबा गोविन्द पराजुलीले बनाएको ढुङ्गा, माटो र काठको घर जीर्ण भइसकेको थियो । पराजुलीका बुबाआमा बेँसीमा रहेको नयाँ घरमा बस्न थाल्नुभएको थियो ।

उहाँ विदेशबाट फर्केपछि त्यही पुरानो घरको संरक्षण र साजसज्जातिर लाग्नुभयो । करिब रु आठ लाख खर्चेर घरलाई पुरानै स्वरुपमा मर्मतसुधार गरेको पराजुलीको भनाइ छ । घरमा उतिबेलै बनेका झ्यालढोका छन् । पाली र छानो ढुङ्गाकै छ । आँगनमा पनि ढुङ्गा ओछ्याइएको छ । रङ्गरोगन पनि पहाडे शैलीको छ । त्यहाँ पुग्दा विशुद्ध गाउँले परिवेश भेटिन्छ । बढीजसो घरबास ९होमस्टे० को आतिथ्यता रुचाउने पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

पाहुनालाई घरको भान्छामा जे पाक्छ त्यही खुवाउने गरिएको पराजुलीले बताउनुभयो । रैथाने जातको चामल, मकै, बारीमै उब्जेको तरकारी, यामअनुसार निउरो, तामा, च्याउलगायत परिकार बनाउने गरिएको उहाँको भनाइ छ । माछामासुमा पनि स्थानीय जात प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । होमस्टेमा सादा खानासहित एक रात बिताएको प्रतिव्यक्ति रु एक हजार एक सय र मासुखानासहित रु एक हजार तीन सय तोकिएको छ ।

उक्त प्याकेजमा बिहानको खाजा पनि समावेश छ । अतिरिक्त सेवा लिएमा भने छुट्टै पैसा तिर्नुपर्छ । पारिवारिक वातावरण हुने भएकाले होमस्टेमा पर्यटक लोभिने गर्छन् । “पर्यटकीय याममा त व्यवसायमा भ्याइनभ्याइ हुन्छ, वनभोजका लागि यहाँ आउने पनि उत्तिकै हुन्छन्”, पराजुलीले भन्नुभयो, “वनभोजका लागि आवश्यक पर्ने सबै बन्दोबस्त हामीले नै उपलब्ध गराउँछौँ, कतिपयलाई ठाउँ मात्र भाडामा दिने गरेका छौँ ।” फेवाताल, माछापूछ«े, अन्नपूर्णलगायत हिमशृङ्खला नजिकबाट अवलोकन गर्न पाइने हुँदा उक्त स्थललाई पर्यटकले रुचाउने गरेका हुन् ।

पोखरा महानगरपालिका–२३ मा अवस्थित निरबाने फेवा किनारको हल्लनचोकबाट २५ मिनेटको मोटर यात्रामा पुग्न सकिन्छ । पदयात्रा गर्न रुचाउनेहरु पनि फेवाताललाई देब्रे पारेर खपौदी, पामे हुँदै निरबाने पुग्न सक्छन् । पर्यटकले सहरको कोलाहल छलेर छिनभरमै प्रकृतिको आनन्द लिन सक्छन् । पराजुलीले होमस्टेको क्षमता विस्तार गर्ने योजना बनाउनुभएको छ । अहिले दैनिक २० जना पाहुना राख्ने क्षमता रहेको उहाँले बताउनुभयो ।

“सुरुमा परीक्षण गरी हेरौँ भनेर होमस्टे सुरु गरेको थिएँ, बर्सेनि व्यवसाय झन्भन्दा झन् राम्रो भएपछि यसलाई विस्तार गर्ने सोचमा छु”, उहाँले भन्नुभयो, “आफू जन्मेको घरमा सपरिवार बसेर व्यवसायमा रमाइरहेको छु, जुन लगावले यसमा जोडिए, त्यसमा सन्तुष्ट छु ।” व्यवसायमा परिवारका सबै सदस्य खट्छन् । उहाँका अनुसार अहिलेसम्म बाहिरी कर्मचारी राख्नुपरेको छैन ।

युवाहरुको विदेश पलायन तीव्र बनिरहेका बेला छोरा गाउँ फर्केर घरको चहलपहल बढाएकामा बुबा गोविन्द पनि मख्ख हुनुहुन्छ । बूढेसकालमा सपरिवारसँगै हुन पाउनु पनि खुसीको कुरा रहेको उहाँले बताउनुभयो । “रु २५ ज्यालामा कर्मी लगाएर बनाएको घर हो, यही घरलाई अहिले छोराले जोगाएर राखेको छ, सबैले मन पर पराएका छन्”, उहाँले विगत सम्झनुभयो, “बिरमकुनाबाट रु दसमा ढुङ्गा बोकाएर छानो छाएको हो ।”

नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएका बेला पराजुली विदेशबाट आफ्नै थातथलो फर्केर जीवनमा आशा जगाइरहनुभएको छ । उहाँ गाउँका अरू युवाका लागि प्रेरणा बनिरहनुभएको छ । पछिल्लो समय पर्यटन क्षेत्रमा होमस्टे सेवा लोकप्रिय छ । सामुदायिक मात्र नभएर व्यक्तिगत लगानीमा पनि होमस्टे सेवा सञ्चालन हुन थालेका छन् । घरबासमार्फ ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सरकारी निकायले पनि तत्परता देखाएका छन् । ‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास’ कार्यक्रमअन्तर्गत यस वर्ष गण्डकी प्रदेशका ३३ सामुदायिक होमस्टेले सरकारी अनुदान पाएका छन् ।

गण्डकी प्रदेश सरकारले तीस घरबासलाई रु १२ लाख र तीनवटालाई रु १० लाखका दरले अनुदान दिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखा प्रमुख डम्मर जिसीका अनुसार अनुदानका लागि ८९ सामुदायिक घरबासले प्रस्ताव पेस गरेका थिए । पहिलो चरणमा प्रस्ताव परेका ६५ मध्ये १७, दोस्रो चरणमा २१ प्रस्तावमध्ये १३ र तस्रो चरणमा तीन प्रस्ताव आएकामा तीनवटै छनोटमा परेको उहाँले जानकारी दिनुभयो । प्रतिस्पर्धाका आधारमा एक प्रदेश निर्वाचन क्षेत्रमा एउटा मात्र घरबास छनोट गरिएको हो ।

स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सृजना र मौलिक संस्कृतिको जगेर्नामा केन्द्रित भएका घरबासले अनुदानमा प्राथमिकता पाएको पर्यटन शाखा प्रमुख जिसीले बताउनुभयो । अनुदान रकमबाट ग्रामीण पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, कोसेली घर, पुस्तकालय, सांस्कृतिक सङ्ग्रहालय, उद्यान, पदमार्गलगायत पूर्वाधारमा खर्च गर्न पाउने मापदण्ड तोकिएको थियो । गाउँले परिवेश, पारिवारिक वातावरण, खानामा स्थानीय परिकार, मौलिक संस्कृति, रहनसहन र पर्यटकीय गन्तव्यस्थलको घुमफिर आदि घरबासका आकर्षण हुन् । रासस