२४ मंसिर २०८२, बुधबार
,
Latest
टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँ: ईश्वर पोखरेल ईश्वर पोखरेलको प्रश्नः पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ? म्यानमारका स्क्यामिङ केन्द्रमा फसेका ४७ नेपाली आज नेपाल फर्काइए ‘पेन डाउन’ गरेका भन्सार एजेन्ट काममा फर्किन तयार बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु रामेछापका जुनार किसानको सक्रियता बढ्यो पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै लुम्बिनीविरुद्ध टस जितेर काठमाण्डु ब्याटिङमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले



अ+ अ-

जलेश्वर ।  आर्थिक अनियमितताको आरोपमा निलम्बनमा पर्नुभएका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आजदेखि पुन: कार्यभार सम्हाल्नुभएको छ ।

उहाँसहित उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन,  तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आजैदेखि कार्यभार सम्हालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेको थियो । असार २६ गते विशेष अदालतले १२ जनामध्ये माथि उल्लेखितलाई सफाइ दिएपछि उनीहरुले आजदेखि जलेश्वर नगरपालिकामा आ–आफ्नो कार्यभार सम्हाल्नुभएको छ । सोही मुद्दामा विशेष अदालतले आंशिक कसुर ठहर गरेका जलेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दिपेशकुमार साहलाई कैद तथा जरिवाना तोकेको छ भने उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई जरिवाना तोकेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाद्वारा वडा नं १ मा अवस्थित बरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा बाटो ढलान कार्यमा भ्रष्टाचार भएको उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान अगाडि बढाउँदा जलेश्वर नगरपालिकाका प्रमुख सोनार, उपप्रमुख खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इन्जिनियर पवनकुमार झा, अधिकृत छैटौँ धिरेन्द्र झा, इन्जिनियर राकेशकुमार चौधरी, सबइन्जिनियर दीपेशकुमार साह, त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी निलम्बन तथा कारबाहीमा परेका थिए । उनीहरुले हाट बजारमा भएको वास्तविक ढलान कार्यभन्दा बढी कार्य भएको भनी झूटा रुपमा तयार गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको बिल र अनुगमन प्रतिवेदन जाँच नै नगरी भूक्तानीका लागि पेस गरिएको टिप्पणी सदर गरी रु पाँच लाख ८४ हजार भुक्तानी गरिएको भन्दै अख्तियारले उनीहरुउपर मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गने जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेपछि अभिभावक ९जनप्रतिनिधि० विहीन रहेको नगरपालिकाको कामकाज प्रभावित भइरहेको अवस्थामा जलेश्वर नगरपालिकाले बाँकी अन्य कार्यपालिका सदस्यमध्येबाट बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुखमा वडा नं ९ का वडाअध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा नं ३ का वडाअध्यक्ष रतन चौधरीलाई चयन गरेर असार ७ गतेदेखि कामकाज गर्दै आएको थियो ।