२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा



अ+ अ-

भद्रपुर । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् ।

माई नदी कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ, अब पनि डुबान भयो भने आफ्नो जमिन नै बाँकी नरहने ६५ वर्षीय गोपाल टुटो बताउनुहुन्छ । “सयौँ वर्षदेखि यहीँ बसोबास गर्दै आएका छौँ, कटानले गर्दा माई नदी किनारमै बास हुनपुगेको छ, उत्तरतिर कालो बादल मडारिएको देख्नेबित्तिकै हाम्रो बस्तीमा त्रासको स्थिति सिर्जना हुन्छ”, उहाँले भन्नुभयो ।

सुखाबथानबाट टप्पुसम्मको करिब एक हजार आठ सय मिटर तटबन्ध निर्माण गर्न सकेमा सन्थाल बस्तीलाई सुरक्षित राख्न सकिने झापा गाउँपालिका–२ का वडाध्यक्ष हिमालकुमार चम्लागाईँ बताउनुहुन्छ । “यो क्षेत्रमा तटबन्ध निर्माण गर्न गाउँपालिका, जनताको तटबन्ध कार्यक्रम, गृह मन्त्रालय दैवी प्रकोप व्यवस्थापनलगायत निकायमा पहल गरे पनि सुनुवाइ भएको छैन”, वडाध्यक्ष चम्लागाईँ भन्नुहुन्छ ।

गत साता माई नदीको बढीले तीन घर विस्थापित भए भने पूरै सन्थाल बस्ती डुबानमा परेको थियो । बाढीबाट थप क्षति हुन नदिन सुरक्षा निकायको सहयोगमा व्यवस्थापन गरिएको थियो । सुखाबथान सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष रञ्जन टुटोका अनुसार गत साताको जस्तै वा थोरै बढी नदीमा बाढी आउने हो भने सन्थाल बस्तीका ५१ परिवारका दुई सय ७५ जना वस्थापित हुनेछन् ।

सन्थाल बस्तीभन्दा तल र माथि तटबन्ध भए पनि बीचमा तटबन्ध नहुँदा बाढीबाट बस्ती प्रभावित हुने उच्च जोखिम रहेको वडाध्यक्ष चाम्लागाईँ बताउनुहुन्छ । पालिकासँग पर्याप्त बजेट नहुँदा तटबन्ध निर्माण गर्न नसकेको उहाँले बताउनुभयो । रासस